इमान्दार र पैसा नहुनेले कसरी निर्वाचन लड्नु ? निर्वाचन प्रणाली महंगो भयो । अब सकिन्न निर्वाचन लड्न, हामी त जति इमान्दार वा जीवनभर पार्टीका लागि योगदान गरे पनि निर्वाचन जित्ने आशा छैन । एकजना महिला फोनमा गफिदै थिइन्, उनले कुनै व्यक्तिसँग गरेको कुराकानीका हरेक शब्दमा निराशजनक भाव प्रकट भइरहेका थिए । एउटा रेष्टुरेष्टमा गफ गर्दै, थिए, दुई जना उनीहरुको कुरामा स्थानीय निर्वाचन र खर्चको विषयमा निकै लामो गफ चल्दै थियो । म पनि खाजाको पर्खाइमै बसेकाले नचाहेर पनि उनीहरुको कुरा सुन्न बाध्य थिए । त्यही समयमा उनको फोनको लामो घण्टी बज्यो ।
सायद कुनै पार्टीको महिला माननीय हुनुपर्छ । उनको पीडा भरिएका शब्द सुनेपछि । मन पोल्यो, कताकता के गलत हुँदैछ वा गलत अभ्यास भइरहेको जस्तो नरमाइलो महशुस भयो । उनीहरु त्यहाँ बस्दै गर्दा म निस्किए, तर मनमा उनका शब्दका तरंगहरु तरंगित भइरहेका छन् । अहिले पनि हाम्रो निर्वाचन प्रणालीमा गलत अभ्यास भइरहेको त छैन, हाम्रो समाज कता जाँदैछ ? साँच्चिकै अब गरिब र विपन्नहरुले निर्वाचन लड्ने नसक्ने हो त ? इमान्दार र असल नेतृत्व ओझेलमा पर्ने नै हो त ? पार्टीमा लामो समयदेखि त्याग गरेका कार्यकर्ताहरु के सोच्दै होलान् ? मनमा प्रश्न दौडिरहन्छ, तर उत्तर कहाँ छ ?
खर्च गर्ने हैसियत
स्थानीय तहको निर्वाचन नजिकै आइपुगेको अवस्था छ । समाचार बनाउने क्रममा मैले धेरै महिला जनप्रतिनिधिसँग कुरा गर्ने अवसर पाए । वडो सदस्यदेखि राजनीतिक दलका उच्च ओहदामा पुगेका महिलाहरु, जुन हिजो महिलालाई राजनीतिमा ल्याउनुपर्छ, अवसर दिनुपर्छ भन्दै महिला आन्दोलनमा सहभागी भएकाहरु । उनीहरुको प्रयास कै कारण अहिले राजनीतिमा महिलाहरु सहभागीता बढ्दै गएको छ । तर महिलाका लागि अहिले अर्को समस्या थपिएको छ, निर्वाचनमा उम्मेद्वार बन्न आर्थिक पक्ष बलियो अर्थात् लाखौं रकम खर्च गर्न सक्ने हैसियत हुनुपर्ने । उनीहरुलाई आर्थिक अवस्था सोधियो, जित्न गा¥हो छ नि, पैसा खर्च गर्न सक्छेस् ?
महिला कोटामै भए पनि पछिल्लो क्रममा राजनीतिमा महिला सहभागीता सन्तोषजनक छ । राजनीतिमा सक्षम भैसकेका उनीहरु पितृसत्तात्मक सोचका कारण उच्च पदमा दावी गर्न सकिरहेका छैनन् भने अर्कोतिर निर्वाचन लड्न खोज्दा हैसियत सोधिन्छ, खर्च गर्ने हैसियत कति छ ? महिला सबै कुरामा सक्षम छन् । आर्थिक पाटो बलियो हुन नसक्दा उनीहरु पैसा खर्च गर्नुपर्ने डरले पनि पछाडी हट्नुपर्ने अवस्था छ । महिलासँग पैसा नभएकै कारण राजनीतिक क्षेत्रमा पुरुष हावी भइरहेका छन् । त्यसैले निर्वाचन अत्याधिक खर्च गर्ने प्रणालीको विरोध गरौं ।
किन हुँदैछ निर्वाचन महंगो
सधैभरि सुनिरहने निर्वाचन महंगो भयो, अब लडन सकिन्न । पैसा हुनेले मात्र निर्वाचन जित्छ । नहुने जस्तोसुकै इमान्दार नेता भए पनि निर्वाचन जित्दैन । हिन्दीमा एउटा कहावत छ, ‘पेसा फ्याँको तमासा देखो,’ त्यस्तै मनग्य पैसा फालेर राजनीतिमा आउन थालेको हामीले हाम्रै समाजमा प्रत्यक्ष देखिरहेका छौं । अघिल्लो पटकका निर्वाचनहरुमा पनि कतिपय ठाउँमा सुनियो, फलानो व्यक्ति पैसाकै बलमा जितेको हो, पैसा भए सबै हुन्छ । कतिपयको मुखबाट यस्तै यस्तै शब्दहरु सुन्छौं ।
राजनीतिक दलले उम्मेदवार छनोटको मापदण्ड बनाएका छन् । सबैको मापदण्ड लगभग उस्तै छ । पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता तथा विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशिता छन् । तर भित्री कुरा फरक छ, जसले पार्टीलाई पैसा दिन सक्छ, जसले पाटीका नेतालाई रिझाउन सक्छ, त्यो नै राजनीतिमा अगाडी आउँछ भन्ने कुरा सबैलाई थाहा छ । सबैले अनुभव गरेको कुरा राजनीतिमा खासै योगदान नभएका व्यक्ति पनि पैसा र चाकडीको स्थान पाएका छन् ।
पैसाको बलमा निर्वाचन जितेर सांसद बनेकाहरु मन्त्री पदमा पुगेको पनि हामी देखेकै छौं । वास्तविकता छर्लङ छ । पछिल्लो समय निर्वाचन महंगो भएकै कारण भ्रष्टचार मौलाएको विज्ञहरुको आँकलन छ । यहि कुरालाई लक्षित गर्दै केहि दिनअअघि नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सार्वजनिक रुपमै भनेका छन्, ‘प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचन लड्दा मैरो जम्माजम्मी ६ करोड खर्च भएको थियो ।’ तर उनले निर्वाचन आयोगमा बुरझाएको खर्च विवरणमा २१ लाख ७५ हजार खर्च विरण बुझाएका थिए । यस्तो अभिव्यक्ति दिएपछि उनलाई निर्वाचन आयोगले उनलाइ स्पष्टिकरण सोधेको छ ।
उनले वास्तविकतामा रहेर नेपालको निर्वाचन प्रणाली अत्यन्त महंगो र खर्चिलो भएको स्वीकार गर्दै सार्वजनीक रुपमै अभिव्यक्ति दिएका हुन् । सार्वजनिक रुपमा बोल्न नहुने कुरा बोलेपनि उनले भनेझैं वास्तवमा करोडौ खर्च गरेर राजनीति जितेका पात्र उदाहरण हाम्रो समाजमा छन् । कोइराला मात्र होइन अन्य नेताहरुले पनि बेलाबेलामा यस्तो खालको आसय दिदै आएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हरेक उम्मेदवारले बढीमा २५ लाख खर्च गर्न पाउने मापदण्ड निर्वाचन आयोगले तोकेको थियो ।
बढ्दै राजनीतिक मोह
पछिल्लो समय राजनीति मोह बढ्दै गएको छ । एउटै पदमा उम्मेदवारी दावी गर्नेको संख्या धेरै छ । व्यापारी, ठेकेदारहरु पनि राजनीतिमा करोडौं खर्च गर्न तयार छन् । जसका कारण गरिब, इमान्दार नेता जसले जीवन नै राजनीतिमा लगाएको छ, उ आर्थिक अवस्था कमजोर भएकै कारण हरेक अवसरबाट बञ्चित हुन्छ । उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि दिनहुँ दर्जनौं महंगा गाडी र कार्यकर्ता पालेका हुन्छन् । भड्किला र तामझामपूर्ण भोजभतेर, तडकभडक निर्वाचनको दिनसम्म खुबै चल्ने गरेका छन् ।
यसरी निर्वाचन अहिलेसम्मकै महंगो बन्दैछ । जसले समाजमा झनै नकारात्मक असर पर्ने गर्छ । पार्टीकै लागि योगदान गर्ने तर पैसा नहुने व्यक्ति राजनीतिबाट बिस्थापित हुने सम्भावना देखाउँछ । पैसा हुनेको हुनको हालिमुहाली चल्छ, कुनै एउटा राजनीति नबुझेको वा जनताको मर्म नबुझ्ने मान्छे सत्तामा पुगेर अवैध कालो धन जम्मा गर्न तस्करीका लाइनहरु खोल्छ । करोडौं खर्च गरेको व्यक्ति निर्वाचन खर्च असुल्नतर्फ ध्यान दिन्छ, जसका कारण देशमा भ्रष्टाचार दिनप्रतिदिन बढ्ने सम्भावना उत्तिकै छ ।
निर्वाचन आयोगले पनि निर्वाचन खर्चिलो र महंगो भएको स्वीकार गरेको छ । कुशल नेतृत्व योग्य व्यक्ति, सिद्धान्त र विचारभन्दा पैसाको प्रयोग भएको भन्दै सम्पत्तिको निर्वाचनमा खर्चको सीमा तोकेको छ । अहिलेको निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने पनि आवश्यकता छ । यो महंगो निर्वाचन प्रणालीले अनेक समस्या ल्याएको छ । निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल र तीनका उम्मेदवार पनि गम्भीर देखिदैनन् । निर्वाचन आचारसंहिता लागू गराउनेतर्फ निर्वाचन आयोगको पनि ध्यान जानुपर्ने जरुरी छ । त्यसैले यस निर्वाच्न प्रणालीमा व्यापक परिवर्तन गर्नेतर्फ सबै सरोकारवाला लाग्नुपर्छ ।
कमिसन र पारदर्शिता
उम्मेदवारको विज्ञापन मिडियामार्फत गर्ने खर्च पनि ठूलो छ । धेरै पैसा खर्च गर्नेलाई नै दलले टिकट दिन्छन् । महंगो टिकट लिएका उम्मेदावार जसरी होस्, निर्वाचन जित्न अनेक जुक्ति निकाल्छन् र मनपरी खर्च गर्न डराउदैनन् । निर्वाचनमा हुने अधिकांश खर्च अपारदर्शी हुन्छन् । खर्चिलो निर्वाचनले आगामी दिनमा झनै राजनीतिक भ्रष्टाचार मौलाउने विश्लेषकहरुको चेतावनी छ । आफ्नो इमान्दारीतालाई खल्तीमा राखेर टिकट किन्नुपर्ने, निर्वाचन परिचालनका लागि कार्यकर्ता खरिद गर्नुपर्ने, भएन् भनेर मत नै किन्नुपर्ने अवस्था आउन सक्छ । तीनै व्यक्ति पदमा पुगेपछि पुनः इमान्दारीता बिर्सेर भ्रष्टचार गर्छन् ।
कमिशनको खेल सुरु हुन्छ, पारदर्शिता हराउँदै जान्छ । राजनीतिक दलले पैसा हुनेलाई महत्व दिँदा निर्वाचन खर्च बढेकै कारण बेथितिपूर्ण र अपारदर्शी ढंगबाट भ्रष्टाचारमा बढावा हुन्छ । त्यसैको जगमा निर्वाचन प्रणाली निकै खर्चिलो बन्दै गएको छ । निर्वाचन खर्चिले भएकोमा विरोध गर्नुपर्छ । आस्थाको राजनीतिभन्दा स्वार्थको राजनीति गर्नेहरुले अवसर पाइरहेका छन् । निर्वाचन लड्न पैसा खर्च गर्नेलाई भन्दा सक्षम र क्षमतावान राम्रो काम गरेको जनताको मन जित्ने व्यक्ति आउनुपर्छ, राजनीतिक धरातल भएका तर पैसा र केन्द्रीय नेतासँगको पहुँचका आधारमा टिकट किन्नेहरु होइन ।
सरकार, निर्वाचन आयोग, राजनीतिक दल लगायत सरोकारवाला पक्षले निर्वाचन खर्च घटाउनेतिर सोच्न ढिला गर्नुहुँदैन । यो निर्वाचन सकिएलगत्तै निर्वाचन खर्च घटाउने उपायहरुको खोजी र कार्यान्वयनमा जोड दिनुुपर्छ । निर्वाचन खर्च बढ्नुको पछाडि महंगी, भ्रष्टाचारसँगै ठेकेदार र धनाढ्यहरुको राजनीतिमा प्रवेश सैद्धान्तिक राजनीतिको अन्त्य हुँदैछ र राजनीतिमा अब इमान र आस्था भएका सक्षम र क्षमतावान व्यक्ति होइन, पैसाको हावी भएको छ । निर्वाचन प्रणाली महंगो भ्रष्ट बन्दै जाने हो भने कुनै व्यक्ति निर्वाचन जित्न सक्दैन । त्यसैले निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सर्वसाधारणले समेत निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आवश्यक छ ।
अन्नपूर्ण पोष्ट
तारा चापागाई ।