सूचनाको शक्ति - The Power Of Information

        

जलविद्युत् लगानीकर्ताबाट निश्चित अवधिसम्म कर नलिने मुख्यमन्त्रीको घोषणा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् लगानीकर्ताबाट निश्चित अवधिसम्म कर नलगाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था आइपानले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत’ विषयक कार्यक्रममा मुख्यमन्त्री शाहीले जलविद्युत् लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने बताए ।
मुख्यमन्त्री शाहीले प्राकृतिकरुपमा अन्य प्रदेशभन्दा धनी रहेको कर्णाली प्रदेशमा जलविद्युत क्षेत्रमा ढुक्कसंग लगानी गरी समृद्ध प्रदेश बनाउन निजी क्षेत्रको सहकार्यको खाँचो भएको प्रष्ट्याए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न सहज बनाउन प्रदेश सरकार लाग्नेमा आफू विश्वस्त रहेको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका निवर्तमान अध्यक्ष खडगबहादुर बिष्टले कर्णाली प्रदेशमा १० वर्षमा ४ हजार मेघावाट जलविद्युत उत्पादन गर्न सकिने बताउनु भएको छ । विद्युत उत्पादन गरेर मात्रै नहुने भन्दै विद्युत खपतका लागि ठूला उद्योगधन्दा सञ्चालन गर्नमा समेत सरकारले जोड दिन निवर्तमान अध्यक्ष विष्टले आग्रह गरे ।
कर्णाली नदीमा सुख्खा मौसममा २ सय क्युबिक प्रतिसेकेण्ड र भेरी नदीमा ८० क्युबिक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । जलविद्युत उत्पादन गर्न ठूलो लगानी लागे पनि विद्युतको क्षमता धेरै भएको प्रदेशका रुपमा कर्णाली प्रदेश भएको जसस्रोत विज्ञहरुले कथन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०९:५८