गलत विवरणका आधारमा नेपाली नागरिकता लिने एक भारतीय परिवारलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जोगाएको छ । भारतको केवलपुर, रुपैडिया बहराईच घर भएका ब्रजभूषण सिंहको परिवारलाई बाँकेका प्रजिअ सूर्यबहादुर खत्रीले जोगाएका हुन् ।
उनीहरू भारतीय नागरिक भएको प्रष्ट प्रमाण हुँदा पनि कारबाही गरिएको छैन । बज्रभुषण, उनको श्रीमती रञ्जना र छोरी मनिषाले नेपाली नागरिकता लिएका हुन् । उनीहरूले नेपालगन्ज नगरपालिका–२ बाट नागरिकता लिएका हुन् ।
उनीहरू भारतमै बस्ने भएपनि नेपाली नागरिकतासमेत राख्दै आएका छन् । भारतीय आधार कार्डमा बज्रभूषणको जन्म मिति २०२२ साल रहेकोमा नेपाली नागरिकतामा २०४० साल राखेका छन् ।
उनले २०६३ सालमा चलखेलका आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा त्यसविरुद्ध प्रमाणसहित उजुरी परेपछि प्रजिअ कार्यालय र प्रहरीले जोगाएको हो । छोरी मनिषाले भने २०७६ साल १५ वैशाखमा नागरिकता लिएकी थिइन् ।
जबकी, उसको बुबाको उमेर १३ वर्षमात्र भएको देखिन्छ । मनिषाले हालै भारतीय नागरिक मनोज सिंहसँग बिहे गरेको र विवाहलगत्तै फरार भएपछि सम्पत्तिका लागि डिभोर्स प्रक्रिया अघि बढेपछि यो विवाद बाहिर आएको हो ।
केटीको बुबाको नेपालमा करिब ५० लाख ऋण भएको र त्यो ऋण तिर्न यसरी बिहेको नाटक गरी सम्पत्ति मागिएको भन्दै मनोजले उजुरी गरेका हुन् । उनी जलसेनाका क्याप्टेन हुन् ।
केटीलाई बेपत्ता बनाई मुद्दा हालेको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थियो । उजुरीका आधारमा प्रहरीले केटीका बुबा बज्रभूषणलाई पक्राउ गरी केही दिन थुनामा राखेको थियो ।
तर, मेयर धवलशमशेर राणा नै लागेर उनलाई छुटाएका थिए । त्यही बीचमा उनले एक करोडको जग्गा बिक्री गरेका थिए । त्यो पैसा प्रजिअ कार्यालयदेखि प्रहरीसम्म पुगेको स्रोत बताउँछ ।
उनलाई छुटाउन नेपालगन्ज १० का वडाध्यक्ष विन्दुभूषण बस्नेत पनि सक्रिय भएको स्रोतले बताएको छ । दोहोरो नागरिकता जस्तो गम्भीर विषयको प्रहरीले विस्तृत अनुसन्धान नगरी छाडेको विषयमा प्रहरीका माथिल्ला निकायमा समेत उजुरी परेको स्रोत बताउँछ ।
यो मुद्दालाई ट्वीस्ट गर्न डिएसपी मधुसुदन न्यौपाने र प्रजिअ कार्यालयका अधिकृत रामकुमार सोनकारसमेत सक्रिय रुपमा लागेका थिए । सो परिवारको सगरमाथा सप्लायर्स नामक कम्पनी रहेको र त्यसमार्फत अवैध कारोबारसमेत हुने गरेको विषय खुलेपछि तर्सिएर सिंहले जग्गा बेचेर सेटिङ मिलाएको बताइएको छ ।
दृष्टिन्यूजबाट
सत्यपाटी । बाँके ।