बैशाख ९ गतेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसइई परीक्षा संचालन भएको थिएन ।
आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो । कोरोना महामारी सुरु भएपछि पहिलोपटक भौतिक उपस्थितिमा नै भोलिबाट एसइई संचालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको बताए । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षाका लागि देशभर दुई हजार सातवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् ।
एसइईमा नेपालीले जापानमा संचालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् । बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।
यस वर्षको एसइई परीक्षा संचालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ ।
बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेश अनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ । प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ ।
शर्माले भने, ‘यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ । बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ । त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौं ।’
रासस । काठमाडौं ।