सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा पहिलो पटक एसइइको परीक्षा केन्द्र

बाँकेको दुर्गम र सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा पहिलो पटक एसइइको परीक्षा केन्द्र राखिएको छ ।

एसइइको परीक्षा केन्द्र राखिएपछि सो क्षेत्रका विद्यार्थी, अभिभावक र शिक्षक खुसी भएका छन् । सडक, यातायात र विद्युत् पुगेपछि पहिलो पटक बाँकेको पूर्वी क्षेत्रमा पर्ने सो गाउँपालिकामा पनि एसइइको परीक्षा केन्द्र राखिएको हो ।

नरैनापुर गाउँपालिका–६, गङ्गापुरस्थित जय किसान माध्यमिक विद्यालयलाई यस पटक एसइइ परीक्षा केन्द्र तोकिएपछि सो क्षेत्रका विद्यार्थीले नेपालगन्ज र राप्तीसोनारीमा गएर परीक्षा दिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

सो परीक्षा केन्द्रबाट राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दुई÷दुईवटा विद्यालयका विद्यार्थीले एसइइ परीक्षा दिनेछन् । पहिलो पटक गाउँपालिकामा परीक्षा केन्द्र राख्न सफल भएपछि ठूलो युद्ध जितेजस्तो अनुभूति भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।

उनले यस पटक आफ्नै गाउँठाउँमा परीक्षा दिन पाउने सुनेर विद्यार्थी, अभिभावकका साथै शिक्षकसमेत खुसी भएको बताए । ‘गाउँपालिकामा परीक्षा केन्द्र आउनु जय किसान माविका लागि मात्र नभई सिङ्गो गाउँपालिकाका लागि गौरवको विषय हो,’ अध्यक्ष शाहले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १८:१०