सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि उपकरणमा खरिदमा तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले झुट्टा बिल भरपाई बनाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

उनीहरूविरुद्ध ४३ लाख ३७ हजार ५०० रूपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र दुई वर्षसम्म कैदको मागसहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार आधुनिक कृषि किसान संसार र संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले झुट्टा बिल भरपाई बनाएको पाइएकाले बिगो अनुसारको जरिवाना र दुई वर्षसम्म कैदको सजाय मागदाबी गरिएको छ ।

अख्तियारले संस्थाका प्रबन्ध निर्देशक तिवारीबाट बिगो र हानी पुर्याएको बिगो रकम प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख ज्ञवाली र कृषि प्रसार अधिकृत नेपालीबाट असुलउपर गर्न भनेको छ ।

आव २०७५/०७६ मा किसानलाई कृषि यन्त्र आपूर्ति गर्न कृषि किसान संसार प्रालि भरतपुरसँग भारतीय कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । कम्पनीले रकम पनि सोहीअनुसार लिएको थियो तर मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चिनियाँ कम्पनीको वितरण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

कम्पनी र कर्मचारीको मिलेमतोमा सात वटा मिनी टिलरको ६ लाख २२ हजार ५०० बराबरको झुटो बिल भरपाई बनाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले सम्झौताविपरीत तथा कम गुणस्तरको केकेआइसी ३०० डी मोडेलका १७ वटा र केकेआइसी २०० पी मोडेलका १२ वटा मिनी टिलर खरिद गरी आरोपितहरूले प्रदेश सरकारलाई ३७ लाख १५ हजार हानी पुर्याएको निष्कर्ष निकालेको छ ।

यसमा संलग्न कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ अनुसार कारबाहीको माग अख्तियारले गरेको छ भने उपदफा ४ अनुसार संस्था र संस्थाको प्रबन्ध निर्देशकलाई सजाय माग गरिएको छ । सो ऐनको दफा ८ मा गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले काम गर्नेलाई सजायको व्यवस्था छ ।

दफा ८ को उपदफा १ मा कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी पुर्याउने काम गरेमा कसुरको मात्राअनुसार तीन महिनादेखि तीन वर्षसम्मको कैद र बिगो खुलेमा बिगो अनुसारको जरिवानासहित बिगो असुलउपर गरिने व्यवस्था छ ।

बिगो नखुलेको अवस्थामा तीन महिनादेखि तीन वर्षसम्म कैद र १० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ । उपदफा ४ मा राष्ट्रसेवक बाहेकका अरु कुनै व्यक्तिले गैरकानुनी लाभ पुर्याउने बदनियतले नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष गरेको शपथ, कबुलियत, सम्झौता, ठेक्का, लाइसेन्स, परमिट, प्रतिज्ञापत्र वा डिलरसिपको शर्त पालना नगरे कसुरको मात्राअनुसार २ वर्षसम्म कैद वा बिगो अनुसारको जरिवाना गरी बिगोसमेत जफत गरिने उल्लेख छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १७:३०