नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।
जनक माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले एक्लै कोठामा लगेर अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
शिक्षक घिमिरेले गरेको दुर्व्यवहारबारे विद्यालयका प्रधानाध्यापक सहित समितिमा नै कुरा राख्दा पनि शिक्षकले गलत नगरेको भनेर कारबाहीको सट्टा जोगाउन खोजेको आरोप विद्यार्थीहरूको छ । कक्षा १२ मा पढ्ने छात्राले आफूलाई शिक्षकले दुर्व्यवहार गर्दा पनि प्रशासनले शिक्षककै पक्षमा बोलेको बताइन् ।
यस सम्बन्धमा विद्यालय प्रशासन तथा आरोपित शिक्षकको प्रतिक्रिया उपलब्ध हुन सकेको छैन । विद्यालय आडैमा घर भएका स्थानीय माधव आचार्यका अनुसार आक्रोशित विद्यार्थीहरूले विद्यालय तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकल जलाएका छन् ।
उनीहरूले अहिले कलेज परिसरमा नाराबाजी समेत गरिरहेका छन् । आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत हानेको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सत्यपाटी । चितवन ।