अहिलेको विश्वमा चलचित्रको अलग्ग स्थान छ । यो केवल समय बिताउने र मनोरञ्जनको विषय मात्र नभएर यसले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा समेत असर पार्ने दृष्टान्तहरू विश्वको इतिहासमा धेरै पाइन्छन् । यसै बिच अहिले भारतमा बनेको हिन्दी फिल्म दि काश्मीर फाइल्सले भारतमा र विशेष गरी हिन्दुहरूमा तलहका मचाइरहेको देखिन्छ । होला, काश्मीरका मुस्लिमहरूले ३२ वर्ष अगाडि हिन्दु पण्डितहरूलाई काश्मिर छोड्न बाध्य पार्यो होला । तर सत्यको अर्को पाटो यो पनि हो कि दुई हजार वर्ष पहिलेदेखि काश्मीर बौद्धहरूको केन्द्र थियो र हिन्दुहरू त्यहाँ १३ सय वर्ष जति अगाडि मात्र पुगेको पाइन्छ ।
अनि लगभग ५०० वर्षमा नै त्यस्तो अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास भैसकेको काश्मीरमा बौद्धहरूलाई हिन्दुहरूले कसरी निस्तेज पारे, कसरी उनीहरूलाई त्यहाँबाट बिलिन बनाइ भन्ने कुरा इतिहासमा पाइँदैन । यो लेखले त्यस फिल्मको समीक्षा, त्यसमा भएको सत्यता, त्यसको कमाइ, त्यसले मुस्लिमहरूविरुद्ध फैलाएको घृणा, त्यसको राजनीतिक उद्देश्य, राजनीतिक पार्टीले यसलाई साथ सहयोग दिनुको कारणबारे केही नभनीकन काश्मीरका बौद्धहरूको बारेमा अलग्ग ‘फाइल्स’ तयार पार्ने कोशिस गरिन्छ ।
संक्षेपमा भन्नुपर्दा काश्मीरमा बुद्धधर्म ईशापूर्वको तेश्रो शताब्दीमा शुरु भएको थियो, जुन ईशाको आठौं शताब्दीमा वैष्णव र शैव धर्मको आगमन र उनीहरूको षडयन्त्रमा निस्तेज भई दशौं शताब्दीसम्म पुग्दा बिलाएको जस्तै भयो । अहिले लेखिएको इतिहासमा त्यहाँका बौद्धहरूको उल्लेख शायदैले मात्र गर्ने गर्छ । यसले गर्दा त्यहाँ इतिहास मात्र हैन त्यहाँका विश्वमै कहलिएका बौद्ध विद्वानहरूको योगदान पनि मेटियो ।
कसरी मेटियो होला हजारौं वर्ष पुरानो सभ्यता ? त्यहाँ भएका ती लाखौं बौद्धहरू कहाँ गए ? हजारौं भिक्षुहरू र सयौं विहार वा गुम्बाहरू कहाँ गए ? तिनीहरूलाई पनि त्यहाँको हिन्दु सरकारले वा हिन्दु आतंकवादीहरूले देश निकाला गरे कि, लहरै उभ्याएर गोली ठोकी मारे कि ? आकाशले निल्यो कि ? जमिनमा गाडिए कि ? औपचारिक इतिहाससँग यसको कुनै जवाफ नै छैन अहिले । भारतका मुलधार मानिएका इतिहासकारहरू कश्मीरमा बुद्धधर्म पतन भएको इतिहास सम्झन चाहँदैनन् । सबै इतिहासकारहरू काश्मीरमा पहिले हिन्दु पण्डितहरू थिए र उनीहरूलाई मुस्लिमहरूले धपायो मात्र भन्छन् ।
तर बौद्धहरूलाई कसले धपायो भनेर कसैले भन्दैनन् । काश्मीर पहिले नाग तथा यक्ष जातका आदिबासीहरूको आदिभूमि थियो । यहाँ प्रथम राजाको रुपमा राजा सुरेन्द्रको नाम आउँछ । यिनी बौद्ध थिए र यिनले त्यहाँ बिहारहरू बनाउन लगाए भनेर धार्मिक वंशावलीहरूमा उल्लेख पाइन्छ । तर यिनको इतिहासको तिथिमिति भने यकिन छैन । निलमत पुराण तथा कल्हनको राजतरंगिणी दुइटा यस्ता प्राचीन ग्रन्थहरू हुन् जसले काश्मीरको धर्म र इतिहासका बारेमा केही कुरा खोल्न सक्छन् । पुराणले यहाँको हिन्दुधर्मको बारेमा ब्याख्या गर्छ भने राजतरंगिणीले यहाँका राजाहरूका बारेमा वर्णन गर्छ ।
चीनियाँ स्रोतका अनुसार बुद्ध धर्म कश्मीरमा भगवान बुद्धको महापरिनिर्वाणको ५० वर्षपछि नैै फैलिन थालेको मानिन्छ । धेरै मानिस जिसस क्राइस्ट आफै बुद्धधर्मका अध्येता थिए र उनले काश्मीरमा आएर बुद्धधर्म सिकेको भन्ने विश्वास गर्छन् । अझ कोही कोही त जिससको मृत्यु नै काश्मीरमा भएको पनि भन्छन् (अहिले श्रीनगरमा एउटा रोजाबाल भन्ने ठाउँ छ जसलाई युजआसाफको चिहान भनिन्छ र उनी नै जिसस थिए कि भन्ने विश्वास समेत गरिन्छ) । त्यस अर्थमा आज भन्दा २००० वर्ष पहिले काश्मीरमा बुद्धधर्म रहेको देखियो ।
कश्मीरको बुद्धधर्मको कुरा निकाल्दा सम्राट अशोकको योगदानको उल्लेख गर्नै पर्नेहुन्छ । भगवान बुद्धको परिनिर्वाण पछि बुद्धधर्म विस्तारै निस्तेज हुँदै गएको र वैदिकहरूले पुनः समाजमा दमनकारी भूमिका खेल्न थालेको अवस्थामा भारतवर्षको राजनीतिक इतिहासमा सम्राट अशोकको उदय भएको छ । मौर्य सम्राट अशोकले ईशापूर्व २६८ देखि २३२ सम्म लगभग पूरा भारतवर्षमा शासन गरे । कुनै एक चरणपछि उनले युद्ध र राज्य–विस्तारबाट विरक्तिएर बुद्ध धर्म अँगाले र आफ्नो सारा जीवन नै बुद्ध धर्मको प्रचारप्रसारमा अर्पण गरे ।
अशोकले विभिन्न देशमा बुद्धधर्म प्रचारका लागि धर्मदूतहरू पठाए । ती मध्ये उनले मज्झन्तिका अथवा मध्यन्तिका नामक वाराणसीका बौद्ध भिक्षुलाई काश्मीर तथा गन्धार क्षेत्रमा धर्म प्रचारमा पठाए । उनले त्यहाँका १४ आदिवासी समुहलाई बुद्ध धर्ममा ल्याए र पछि उनीहरू नै काश्मीरको बुद्धधर्मको संरक्षक भए । अशोकले काश्मीर गएर त्यहाँ श्रीनगरी नामक शहर बसालेको भनिन्छ । यस प्रसंगलाई अशोकावदान तथा अवदान कल्पलता जस्ता ग्रन्थहरूले पनि उल्लेख गरेको छ ।
यस प्रकार अशोकले काश्मीरमा बुद्धधर्मको शुरुवात गरे भन्ने कुरा अहिले सबैले स्वीकारेको देखिन्छ । यस बेलादेखि काश्मीर क्षेत्र बुद्ध धर्मको केन्द्रको रुपमा प्रख्यात भयो । गन्धारका राजा मिनान्दर (मिलिन्द) तथा भिक्षु नागसेनको बिचको सम्बादबाट प्रख्यात ग्रन्थ मिलिन्द प्रश्नको सिर्जना भएको थियो । उक्त सम्बाद भएको स्थल काश्मीरबाट १२ योजन टाढा भनिएबाट त्यसबेला उक्त क्षेत्र बुद्धधर्मको अध्ययन केन्द्र भइसकेको कुरा प्रतित हुन्छ । यो कुरा ईशा पूर्व दोश्रो शताब्दीको भयो ।
सम्राट कनिष्कको योगदानको कुरा नगरीकन काश्मीरको बुद्धधर्मको वर्णन गर्न सकिँदैन । अशोकको युगपछि भारतमा राज्य विस्तार गर्ने र बुद्धधर्मलाई अभिभावकत्व प्रदान गर्ने शासकहरूमा कनिष्कको नाम आउँछ । कनिष्क कुषाण वंशका एक सम्राट थिए । उनले ईशाको ७८ देखि १०५ सम्म राज्य गरे र उनको राज्य ताजकिस्तानदेखि पाटलिपुत्र वा वर्तमान पटनासम्म फैलिएको थियो । त्यसबेला काश्मीर उनको अधिनमा थियो । उनले यो स्थानलाई मन पराएर यहाँ बारामुला भन्नेस्थान नजिकै कनिष्कपुर नामक शहर बसाए, जहाँ उनले एक विशाल स्तुप पनि बनाए ।
बुद्धको मूर्ति बनाउने प्रचलन यस समयमा धेरै विकसित भयो । उनले बुद्धको प्रतिमा अंकित सिक्का पनि निकालेका थिए । उनले काश्मीर उपत्यकालाई विहार, चैत्यहरू र अन्य बौद्ध सम्पदाहरूले ढाकिदिए । ग्रन्थहरूमा उल्लेख भए अनुसार कनिष्कको समयमा अर्थात् ईशाको पहिलो शताब्दीमा काश्मीरमा पाँचसय बौद्ध विद्वानहरू बस्थे र बौद्ध दर्शनको अध्ययन अध्यापन गर्थे । यसबेला कश्मीर महायान बुद्धधर्मको केन्द्रको रुपमा चीनदेखि दक्षिण भारतसम्म प्रख्यात भयो । यसै बेलादेखि काश्मीरबाट बुद्धधर्म फैलिँदै गान्धार, काबुल, ब्याक्त्रिया तथा तिब्बत अनि चीनसम्म पुग्यो ।
बुद्धधर्ममा कनिष्कको सबैभन्दा ठुलो योगदान यो थियो कि उनले चतुर्थ संयायनाको आयोजना गरे (बुद्धधर्मको इतिहासमा चतुर्थ संगायना दुइ ठाउँमा भएको मानिन्छ, एउटा श्रीलंकामा थेरवाद अन्तर्गतको संगायना भयो भने काश्मिरमा सर्वास्तिवाद अन्तर्गतको) र त्यसको लागि उनले काश्मीरलाई चुने । यसबेलामा बसुमित्रको नेतृत्वमा ५०० भिक्षुहरू काश्मीरमा एकत्रित भए र विषेश गरी महायान अन्तर्गतको अभिधम्मको बारेमा छलफल गरे । यसले त्यस बेला काश्मीर कति ठुलो बौद्ध केन्द्र थियो भन्ने अन्दाज लगाउन सकिन्छ । यसप्रकार हेर्दा कनिष्कको समयमा काश्मीरमा बुद्धधर्मको स्वर्णयुग भएको मान्न सकिन्छ ।
काश्मीरमा शिक्षा दीक्षा पाएका बौद्ध भिक्षुहरू धेरै टाढा टाढासम्म गएर बुद्ध धर्मको प्रचार गर्नमा लागे । चौथो शताब्दीका बौद्ध विद्वान संघभूति (ईश्वी ३१८–३८४) लाई काश्मीरबाट चीन गएर धर्मप्रचार गर्ने पहिलो भिक्षु मानिन्छ । उनले त्यहाँ सर्वास्तिवादको विनयपिटकलाई चीनियाँ भाषामा अनुवाद गरे । कुमारजीव (ईश्वी ३४४–४१३)पनि काश्मीरमा जन्मेका वा हुर्केका थिए । भिक्षु बनिसकेपछि उनले चीनमा गएर सयौं बौद्ध ग्रन्थहरूको चीनियाँ भाषामा अनुवाद गरे । त्यस्तै काश्मीरका अन्य उल्लेखनीय बौद्ध विद्वानहरूमा बुद्धजीव एक अर्का भिक्षु थिए जसले ईश्वी ४२३ मा चीन गएर बौद्धग्रन्थहरूको अनुवाद गरे ।
धर्ममित्र (ईश्वी ३५६–४४२) अर्का काश्मिरी बौद्ध भिक्षु हुन् जसले ईश्वी ४२४मा चीनमा गएर बौद्धग्रन्थहरूको अनुवाद गरे । उनीहरूले बुद्धधर्मको अध्ययन गरेर विश्वका बौद्धहरूका लागि समेत नीधि छोडेर गए । यस्तो गर्ने वातावरण काश्मीरको बौद्ध परम्परा र त्यहाँका अध्ययन केन्द्रहरूले नै दिए । इशाको छैठौं शताब्दीसम्म कश्मीरमा बुद्धधर्मको राम्रो प्रचारप्रसार थियो । सन् १८६९ मा प्रकाशित हेनरी हार्डी कोलको काश्मीरका प्राचिन स्मारहरूका चित्रहरू नामक पुस्तकमा बरमुल्ला स्थित जयन्द्र विहारको उल्लेख छ जुन सन् ५००मा एक प्रवेरसेना नामक व्यक्तिले बनाउन लगाएकोे कुरा उल्लेख गरिएको छ ।
गुप्त वंशको नराम्रो प्रभाव काश्मीरमा परेन । छैठौं शताब्दीमा अलकोन हुनहरूको आक्रमणले काश्मीरको बुद्धधर्मलाई प्रभावित गर्यो । यसको अन्ततिरका राजा मिहिरकुल (ईश्वी ५१५–५४०)ले भारतवर्षको उत्तरतिर शासन गरे । यिनको राजधानी अहिलेको उत्तर पाकिस्तन सकलमा पर्छ । ग्रन्थहरूका अनुसार यिनले एक जना बौद्ध भिक्षुबाट प्रभावित भएर बुद्धधर्म सिक्न चाहे । तर उनीकहाँ प्रभावशाली गुरु नपठाइदिएको रिसमा यिनले जीवन भरी बुद्धधर्मको नाश गरे । उनले बौद्ध स्मारकहरू नष्ट गरे, गुम्बाहरू भत्काए र भिक्षुहरूलाई मारे । काश्मीर गान्धार क्षेत्रमा बुद्धधर्मको विनाश गर्ने कार्यको शुरु यिनैले गरेको मानिन्छ ।
कश्मीरको बुद्धधर्मको इतिहासको अध्ययन गर्न सातौं शताब्दीका चीनियाँ यात्री हुयेनसाङ (ईश्वी ६०२–६६४)को यात्रा वृतान्त सहयोगी हुन्छ । मध्यपूर्वका विभिन्न देश वा शहरहरूको भ्रमण गर्दै उनी काश्मीर पुगेका थिए । उनले कश्मीरमा सन् ६३१ देखि ६३३सम्म बसेर बौद्ध दर्शनको अध्ययन गरेर यस नगरलाई बौद्ध धर्म फस्टाएको केन्द्रको रुपमा वर्णन गरेको छ र यसलाई बुद्धले आफ्नो जीवन बिताएको हालको बिहार प्रदेशमा जतिकै ठुलो बुद्ध धर्मको प्रचारप्रसार भएको ठाउँ भनी तारिफ पनि गरेको छ । उनले त्यहाँका जनता बुद्धधर्मका अनुयायी भएको पाए । उनले त्यहाँ सयौं विहारहरू र पाँचहजार भिक्षुहरू तथा सम्राट अशोकले बनाएका चारवटा स्तुपहरू देखेका थिए ।
उनले देखे कि त्यहाँ सम्राट कनिष्कले पनि विहारहरू बनाएका थिए । यसबेलाको सन् ७०० तिरको उपासकहरूको साथमा भएको भगवान बुद्धको मूर्ति क्यालिफोर्नियाको नोर्टन सिमोन म्युजियममा सुरक्षित छ । त्यस्तै किसिमले आठौं शताब्दीमा कोरियाली भिक्षु ह्येचोले पनि काश्मीरको बुद्धधर्मको बारेमा केही वर्णन गरेका छन् । सन् ७८१ मा बौद्ध भिक्षु ह्योचो चीनबाट यात्रा थालेर अरबियादेखि दक्षिणपूर्वी एशियासम्म पुगे । उनले काश्मीरको बारेमा पनि आफ्नो वर्णनमा लेखेका छन् । उनका अनुसार त्यहाँका राजा र भारदार तथा जनता त्रिरत्नमा धेरै श्रद्धा राख्थे । त्यहाँका ड्रागन राजाले हरेक दिन अर्हतहरूलाई भोजन दान दिन्थे । त्यहाँ भिक्षुहरू र विहारहरू थिए जो महायान तथा हिनयान दुबै अभ्यास गर्थे ।
धार्मिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण भएर पनि जम्मु तथा काश्मीरमा निकै थोरै पुरातात्विक उत्खनन्हरु भएका छन् । तीमध्ये चेनाव नदीको छेउमा जम्मुबाट करिब २८ किमी उत्तरपश्चिममा स्थित आम्रवनको पम्वारवन नामक स्थानमा भएको उत्खनन्लाई अत्याधिक सफल मानिएको छ । यहाँ प्राप्त बुद्धको अस्थि भनेर विश्वास गरिएको दाँत लगायतका वस्तुहरूको कारणले काश्मीर उपत्यकाको बुद्धधर्म तथा बौद्ध संस्कृतिको बारेमा विस्तृत अध्ययन गर्न पुरातत्वविद्हरुलाई उत्साहित गर्यो ।
भारतीय पुरातात्विक सर्भेक्षण अन्तर्गत श्रीनगर वृत्तमा डा बुद्धरश्मी मणीको नेतृत्वमा सन् १९९९ देखि २००१सम्म उत्खनन् गरिएको थियो । यसको आधारमा काश्मीर ईशापूर्व दोश्रो र पहिलो शताब्दीदेखि इस्वीको सातौं शताब्दीमा बुद्धधर्मको प्रमुख केन्द्र रहेको हुनसक्ने निष्कर्ष निकालेका थिए । अहिले काश्मीरमा निकै थोरै मात्र बौद्धहरू बस्छन्, कुनै प्रमुख जीवन्त बौद्ध स्मारक तथा समारोहहरू छैनन् । कतै कुनै भग्नावशेषहरू पर्यटकहरू पर्खेर बसेका मात्र छन् । बरु यहाँको छैठौं शताब्दीदेखिका पुरातात्विक बुद्ध मूर्तिहरू युरोप, अमेरिकाका तथा अष्ट्रेलियाका लगायत भारतकै संग्रहालयहरूमा सजिएका छन् ।
अधिकांश इतिहासकारहरूले जब काश्मीरको इतिहास लेख्छन्, उनीहरूले काश्मीरमा पहिले हिन्दु सभ्यता फैलिएको र पछि मुस्लिमहरूले अतिक्रमण गरेको भनेर मात्र भन्छ । हिन्दुहरूले अतिक्रमण गर्नुभन्दा पहिलेको काश्मीरको इतिहास लेखिएको पनि पाउन मुश्किल छ । सातौं र आठौं शताब्दीमा काश्मिरमा कर्कोटा वंशको (ईश्वी ६२५–८५५) अधिपत्य रह्यो । यसै वंशका ललितादित्य मुक्तापीडा(ईश्वी ७२४–७६०)ले यहाँ हिन्दुधर्मको प्रचारमा सहयोग गरे तर उनले बौद्ध तथा हिन्दु धार्मिक स्थलहरूको निर्माण गरेको पाइन्छ ।
काश्मीरमा बुद्धधर्मको राम्रै बोलबाला भइरहेको अवस्थामा वैदिक दार्शनिक आदि शंकराचार्य सन् ७८८देखि ८२०सम्म काश्मीरमा गए (नेपालमा आदि शंकराचार्य ४७८ ईशापूर्वमा सोही कामका लागि आएको लोकोक्ति छ) । उनी वैदिक ज्ञानको विकास गर्न अथवा तर्कशक्तिद्वारा बुद्धधर्मलाई खतम गर्न नै काश्मिर निस्केको भनिन्छ । उत्पलदेवको शिवस्तोत्रावली अनुसार भारतमा बुद्धधर्मको प्रभाव कम गर्न शंकराचार्यले भक्ति मार्गको शुरु गरे । उनले तर्कशक्तिद्वारा बौद्ध विद्वानहरूलाई हराउन देशयात्रा गरे । उनको त्यहाँ एक महिलासँग शास्त्रार्थ भएको किंवदन्ती छ तर उनको काश्मीर यात्राको आधिकारिकताका बारेमा धेरै विवादहरू पनि निस्किएका छन् ।
त्यसपछि उत्पल वंशले ९औं र १०औं शताब्दीमा काश्मीरमा शासन गरे । यिनीहरू वैष्णव थिए र शैवलाई अभिभावकत्व प्रदान गर्थे । यसकालको पद्मपाणी लोकेश्वर जर्मनीको लिन्डेन म्युजियममा र बुद्ध मूर्ति अंकित एउटा अस्थि–कलश न्युयोर्कको मेट्रोपोलिटन म्युजिएममा भएबाट यस समयसम्म काश्मीरमा बुद्धधर्म जीवन्त नै रहेको बुझिन्छ । दशौं शताब्दीमा भएको हिमपात र त्यसबेला भएको धनजनको क्षतिलाई काश्मिरमा ब्राम्हणहरूले बौद्ध भिक्षुहरूको प्रभावमा नागको पुजाआजा बन्द गरेकोले नागदेवता रिसाएको भनी प्रचार गरे ।
यसैकालमा रचित निलमत पुराणमा बुद्धलाई विष्णुको अवतारको रुपमा चित्रण गरियो । त्यहाँका बौद्धहरूले हिन्दु पुरोहितहरूले सिकाएजस्तै बुद्धमूर्तिलाई देउताको पूजा गर्ने र उपासना गर्ने उपक्रम थाले भक्तिमार्ग शुरु भयो । सम्भवतः त्यसमा पनि हिन्दुको जस्तो तन्त्रयान इत्यादि मिसिन आयो, र विस्तारै बुद्धधर्म हिन्दुधर्मको हाँगा मात्र हो भन्ने धारणा समाजमा स्थापित हुन पुग्यो । यस प्रकार बिस्तारै काश्मीरमा हिन्दु धर्मको प्रभाव बढ्न थाल्यो र बुद्धधर्मको प्रभावकारिता कम हुन थाल्यो ।
देशमा राजनीतिक अस्थिरता चलिरह्योे र ११औं शताब्दीमा लोहार वंशको (ईश्वी १००३–१३२०)हातमा काश्मीरी सत्ता गयो । यसबेला यहाँ बुद्धधर्मले अवनति भोग्यो भने दोश्रो लोहार वंश (ईश्वी ११०१–१३३९)ले बुद्धधर्म पुनर्जागरण गर्ने कोशिस गर्यो । १२औं शताब्दी सम्म बरमुल्लामा जीतेन्द्र बुद्धनामक भिक्षु थिए । नीलमता पुराणले वैशाख पूर्णिमाका दिन काश्मीरको उपत्यकामा उत्सव मनाउने गरेको उल्लेख गरिएको बताइन्छ । यसदिन बौद्ध चैत्यहरू तथा स्तूपहरूलाई सिँगारिन्थ्यो र बुद्धका मूर्तिहरूलाई सजाइन्थ्यो । यो प्रचलन लगभग एघारौं शताब्दीसम्म जारी रह्यो । त्यस्तै काश्मीरका श्रमणहरू चीनमा गएर अनुवाद गर्ने काम दशौं र एघारौं शताब्दीसम्म जारी भएको ग्रन्थहरूले देखाउँछ ।
एघारौं शताब्दीमा पनि यहाँको परिहष्पुरमा दुई विशाल बुद्धमूर्तिहरूको स्थापना भएको थियो । यी मूर्तिहरू हिन्दु राजा हर्ष (ईश्वी १०८९–११०१)को कोपबाट बचे जो त्यहाँका बौद्ध मन्दिर तथा मूर्तिहरू भत्काउँदै हिँडेका थिए । त्यस्तै राजा जयसिंह (ईश्वी ११२८–११५५)ले पनि श्रीनगर नजिकैको अरिगोनको विहारमा आगो लगाइदिएका थिए । यसप्रकार हेर्दा काश्मीरमा मुस्लिम शासनको शुरुभन्दा २०० वर्ष अघि नै बौद्धस्मारकहरू हिन्दुहरूको प्रकोपमा परिसकेका थिए । रत्नगुप्त तथा रत्नरश्मि विहारहरू ११औं र १२औं शताब्दीका काश्मीरका प्रमुख बौद्ध अध्ययन केन्द्रहरू थिए जहाँ थुप्रै महायानी ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गरिन्थ्यो ।
तर यसपछि त्यहाँका आचार्यहरूले तान्त्रिक बुद्धधर्मलाई अँगाले । त्यसमा पनि क्षेमेन्द्रले बुद्धलाई विष्णुका अवतारका रुपमा मानेर ग्रन्थनै लेखे भनेर भनिन्छ । लोहार वंशको समयमा दमनकारी कर व्यवस्था, भ्रष्टाचार, आपसी सामन्तहरूको झगडाले गर्दा पनि बाहिरी आक्रमणलाई ढोका खुलेको थियो भनेर विश्लेषण गरिन्छ । भगवान बुद्धले नै भन्नुभएको थियो कि संसारका कुनै पनि कुरा नित्य छैन, अनित्य हुन् भनेर । यस्तै एशियामा नै बुद्धधर्म फैलाउन नेतृत्वदायी भूमिका खेलेको काश्मीरमा आश्चर्यजनक रुपमा बुद्धधर्म विलिन हुँदैगयो । भारतका अन्य ठाउँहरूमा जस्तै काश्मीरमा पनि बुद्धधर्मको पतन आठौं शताब्दीदेखि दशौं शताब्दी बिच बिस्तारै शुरु हुन्छ (तर यहाँ भने मुस्लिम आक्रमणले गर्दा होइन, पहिला हिन्दुहरूले अतिक्रमण गरे र मुस्लिमहरू धेरै पछि मात्र आए) ।
काश्मीरमा जसरी प्राचिनकालका बौद्ध विद्वान तथा सम्पदाको बारेमा खुलेर कुरा गर्न सजिलो छ, त्यसरी बुद्धधर्मको पतन अनि हिन्दुधर्मको उदयको बारेमा कुरा गर्न सजिलो छैन । हिन्दुहरूको बर्चश्व कामय भएपछि त्यहाँको राज्य व्यवस्थाले त्यहाँ बनेका त्यस्ता ठुल्ठुला बौद्ध अध्ययन केन्द्रहरूलाई के गर्यो, धर्मगुरुहरूलाई कस्तो व्यवहार गर्यो, बौद्धहरूलाई के गर्याे इत्यादिबारे इतिहास स्पष्ट बोल्दैन । तर विश्वकै उदाहरण लिएर पनि यति भन्न सकिन्छ कि हिन्दुहरूको प्रवेशसँगै सत्ता उनीहरूको हातमा गयो र सत्ताको आडमा त्यहाँ बौद्धहरूमाथि शोषण र अत्याचार शुरु भयो ।
त्यसपछि सत्ताबाट पाइने सत्कार र लाभको लागि मानिसहरू स्वस्फूर्तः बुद्धधर्म र हिन्दुधर्म एकै हो जस्तो बनाए, हिन्दु धर्ममा परिवर्तित भए वा सम्भवतः जबर्जस्ती त्यहाँका बौद्धहरूलाई हिन्दु धर्म अँगाल्न बाध्य पारियो । हिन्दुहरूको शासनकालमा यहाँका बौद्धहरूले कस्तो स्वतन्त्रता पाए, वा जबर्जस्ती हिन्दुकरण गरिए वा धपाइए भन्ने बारे इतिहस मौन छ । त्यस्तै किसिमबाट काश्मीरको हिन्दुकालको बारेमा जति कुरा पढ्न वा सुन्न पाइन्छ त्यो सबै हिन्दु पण्डितहरू वा ब्राम्हणहरूको मात्र आउँछ । हिन्दु समाजको आधार भनेकै वर्ण–व्यवस्था हो भने त्यहाँको हिन्दु समाजमा क्षेत्री, वैश्य र क्षुद्रले कस्तो स्थान पाएका थिए, तिनीहरूमाथि विभेद र शोषण हुन्थ्यो कि थिएन भन्नेबारेमा पनि पढ्न पाइँदैन ।
यसले त्यसबेला त्यहाँ उच्च जातका हिन्दुहरू मात्र सत्ताका लागि पुगेको तर पूर्ण हिन्दु समाजको निर्माण भने हुन नपाएको हो कि जस्तो देखिन्छ । यस्तो अवस्थामा हिन्दुहरू बिचबाट तल्लो जातका मानिसहरू मुस्लिम धर्म अँगाल्न पुगे भन्ने अनुमान पनि लगाउन सकिन्छ । यहाँ उल्लेखनीय कुरा के छ भने हजारौं वर्षका बौद्ध सभ्यतालाई निस्तेज तुल्याउने हिन्दुहरूको धर्म र सत्तामा पकड त्यहाँ धेरै लामो समयसम्म टिक्न सकेन । काश्मीरमा लगभग ५०० वर्ष मात्र हिन्दुहरूको राज चल्यो । त्यस पछि नै हिन्दुहरूको अस्तीत्वमा संकट शुरु भयो ।
हिन्दु साम्राज्यको रुपमा काश्मिरको इतिहास लामो रहन पाएन । ११औं शताब्दीमै त्यहाँ मुस्लिमहरूको नजर पर्यो । यसको अर्थ त्यहाँको हिन्दु सत्तालाई आफ्नो अधिपत्य जोगाउन मुश्किल हुन थालेको भन्ने लाग्छ । मुहम्मद गाज्नीले यहाँ सन् १०२५मा आक्रमण गरे । त्यो त सफल भएन तर त्यसपछि मुस्लिमहरूले काश्मीरलाई आफ्नो बनाउन लगातार कोशिस गरिरहे । यही क्रममा रिन्चन नामक बौद्ध पृुष्ठभूमिका तिब्बती मुलका व्यक्ति काश्मीरको शासक बन्न पुगे । उनले सन् १३२० देखि १३२३सम्म शासन गरे ।
उनले शैव धर्म अपनाउन खोज्दा पुरोहितले अस्वीकार गरेकोले उनले इस्लाम धर्म अपनाएको कथन छ । उनले सत्ता जोगाउन शाह मीर नामक मुस्लिमलाई प्रधान मन्त्री बनाए जो कालान्तरमा शासक (ईश्वी १३३९–१३४२) बन्न पुग्यो । यसप्रकार काश्मीरको सत्ता मुस्लिमहरूको हातमा पुगेको देखिन्छ । जुन धर्मावलम्बीमाथि सत्ताको आशिर्वाद हुन्छ त्यसैको समाज बलियो हुने सामन्य नियम काश्मीरमा पनि लागु भयो । मुस्लिम शासकहरूको निरन्तर आक्रमण र विजयले गर्दा १४औ शताब्दीसम्ममा इस्लाम काश्मीरको मुख्य धर्मको रुपमा विकसित भयो । मुस्लिम शासकहरूको त्यहाँका गैर मुस्लिम जनता प्रतिको व्यवहार मिश्रित थियो ।
कसैले राम्रो व्यवहार गरे भने कसैले अत्याचार नै गरे । ती मध्ये सुल्तान सिकन्दर (इश्वी १३८९–१४१३)ले भने गैर मुस्लिमहरूमाथि धेरै कर लगाउन तथा त्यहाँका हिन्दु मूर्तिहरू तथा बौद्ध स्तुपा आदि भत्काउनमा कुख्याती नै कमाए । १६औ शताब्दीसम्म आइपुग्दा काश्मीरमा मध्य एशिया र पर्सियाबाट बसाइ सराइ गरेर आएका मुस्लिमहरू धेरै हुन थालेपछि हिन्दु पण्डितहरूको प्रभाव कम हुँदै गयो र संस्कृतको ठाउँमा पर्सियन भाषाले औपचारिक स्थान पायो । १७औ देखि १९औ शताब्दीमा काश्मीरमा मुगल तथा दुर्रानी शासनमा यहाँका हिन्दुहरूको पनि विनाश शुरु भयो । दुर्रानी शासनले बौद्ध, हिन्दु अनि मुस्लिम सबैमाथि अत्याचार गरे ।
हिन्दुहरूमाथि अत्याचार नै गरिरहेका दुर्रानी तथा मुस्लिमहरूको काश्मीर माथि सन् १८१९मा पञ्जाबका शिख शासक रणजीत सिंहले विजय हासिल गरे । शिखहरूले पनि बौद्ध, हिन्दु अनि मुस्लिमहरू लगायत सबैमाथि अत्याचार नै गरेर कर उठाए । बहुसंख्यक भएर पनि मुस्लिमहरूलाई हिन्दु उच्च जातीले शोषण गरिरहको थियो । अब शिखहरूले मुस्लिम तथा हिन्दुहरूमाथि शोषण गरे । त्यसपछि केही समय काश्मिरमा डोगरा वा राजपूतहरूको पनि शासन रह्यो ।
काश्मीरका जनता खुशी देख्न नै नपाउने अवस्थामा पुगे । जो शासक आएपनि विलासी, सत्ताका लागि षडयन्त्र गर्ने र गरी जनतामाथि कर थोपर्ने मात्रै भए । त्यसबेला भारतमा अंग्रेज राज थियो । उनीहरूले पनि अंग्रेजहरूसँग लड्नुपर्यो । पछि सन् १९४७मा भारत स्वतन्त्र हुँदा काश्मीरको समस्या सुल्झन सकेन र यो भारत तथा पाकिस्तानको विवादको केन्द्र बनिरह्यो । काश्मीरका मुस्लिमहरू स्वतन्त्र हुन चाहे वा पाकिस्तानसँग मिल्न खोजे तर भारतका हिन्दु सरकारले यसलाई आफ्नो अभिन्न अंगको रुपमा लिए ।
यसबेलासम्म त्यहाँ बौद्धहरूको अस्तीत्व मेटिसकेको थियो र अल्पसंख्यक हिन्दुहरूले बहुसंख्यक मुस्लिमहरूमाथि सामाजिक र आर्थिक रुपमा शोषण नै गरिरहेको अवस्था थियो । अनि, काश्मीरमा हिन्दुहरू मात्र छैनन् तर काश्मीरी मुस्लिमहरूले हिन्दु पण्डितहरूलाई मात्र किन छानी छानी निकाला गरे भन्ने प्रश्न पनि बाँकी छ । सन् २०११को जनगणना अनुसार जम्मु काश्मीरमा मुस्लिम ६३.३ प्रतिशत र हिन्दु २८.४ प्रतिशत छन् भने शिख १.८ प्रतिशत, बौद्ध ०.९ प्रतिशत, क्रिश्चियन ०.२८ प्रतिशत, जैन ०.०२ प्रतिशत र अन्य ०.०१ पनि छन् ।
समग्रमा भन्दा काश्मीरको समस्या भनेको सत्तामा पुगेको समुदायले अन्यको समस्या नबुझ्नु, धर्मको आडमा विधर्मी जनतामाथि शोषण गर्नु र सत्तामा सबैको समानुपातिक प्रतिनिधित्व नहुनु नै हो । अन्तमा यसबिचको राजनीतिक अस्थिरतामा नगईकन दि काश्मीर फाइल्समा देखाइएको मुद्दा जाऔं । दुइहजार वर्षको काश्मीरको इतिहास भनेर बनाइएको चलचित्रमा बुद्ध धर्म र बौद्ध समाज कसरी कसले नामेट पार्यो भनेर उल्लेख पनि गरिएन । त्यसैले पनि सन् १९९०मा काश्मीरमा रहेका हिन्दु पण्डितहरूले हिंसा भोग्नुपर्यो भन्ने सोचाइमा आधारित यस फिल्मलाई बौद्ध दृष्टिकोणबाट हेर्न आवश्यक छ ।
माथि नै भनिएको छ कि हिन्दुहरूले बौद्ध सभ्यताको रुपमा विकसित भइसकेको काश्मीरमा बिस्तारै आधिपत्य जमाए, हिन्दु शासकहरूको आडमा यहाँको बुद्धधर्मलाई विलिन जस्तै गराए । अब दि काश्मीर फाइल्स हेर्दा त्यहाँका मुस्लिमहरूले हिन्दुहरूमाथि अत्याचार गरेको फिल्म बन्ने हो भने, त्योभन्दा हजार वर्ष अगाडि हिन्दुहरूले पनि त बौद्धहरूमाथि त्यस्तै ज्यादती गर्यो होला भनेर त्यस बेलाको इतिहास खोजेर पहिलो दि काश्मीर फाइल्स फिल्म बनाउन जरुरी छैन र ? हुन त जो जित्छ उसैले इतिहास लेखिन्छ भन्ने मान्यता स्थापित छ ।
तथापि बौद्धधर्मको प्रदेशमा प्रवेश गरी त्यहाँको धर्म र सत्तालाई आफ्नो हातमा पारेका हिन्दुहरूले नै पहिले आफुले काश्मिरमा गरेको अन्याय (तथा हालसालै गुजरात जस्ता हिन्दु बाहुल्य भएको क्षेत्रमा आफुले मुस्लिमहरू माथि गरेको अन्याय लगायत) लुकाएर अरुले आफुलाई गरेको त्यस्तै खालको अन्यायलाई बदनियतपूर्वक प्रचारप्रसार गरी राजनीतिक फाइदा लिने कार्यको निन्दा सबैतर्फबाट हुनुपर्छ । काश्मीरमा हिन्दुहरू धपाइनुको दोष मुस्लिमलाई दिएर इतिहास लेख्न सकिन्छ भने बौद्धहरू धपाइनुको दोष पनि हिन्दुलाई दिएर पनि लेख्न सकिन्छ ।
सत्ताको आडमा यो गर्न सजिलो छ, बौद्धहरूको सत्ता आएपछि त्यो पक्ष पनि खोतलिन्छ भनेर आशावादी हुने ठाउँ बाँकी छ । दि काश्मीर फाल्इस रिलिज हुने बितिकै एकातिर हिन्दु पार्टीहरूले यसले निकै राम्रोसँग इतिहासको एक कालो पाटो उदाँगो पार्यो भनेर समाजलाई उत्तेजित गराए भने अर्कोतिर गैर हिन्दुहरू तथा सामान्य हिन्दुहरू समेत यसले घृणा बढाउने र दुरी बढाउने काम मात्र गर्यो भनेर आलोचना गरे । साथै यसमा यथार्थ भनेर चित्रण गरेको घटनाक्रमले पनि सत्यका थुपै्र पाटाहरू लुकाएको समेत बताएका छन्, जुन स्मरणीय छ ।
भगवान बुद्ध नेपालमा जन्मेको भन्न त सजिलो छ तर नेपालमा बुद्धधर्म जोगाउन भने निकै गाह्रो अवस्था छ । यस्तो अवस्था काश्मीरको इतिहास र दि काश्मीर फाइल्स नेपाली बौद्धहरूका लागि दुइ किसिमबाट पाठ सिकाउने खालको छ । क) एकातिर नेपालमा हिन्दु अतिवादीहरू खुल्लमखुल्ला धम्की भाषा प्रयोग गरेर अन्य धर्मावलम्बीहरूमाथि हिन्दु राज्य थोपर्ने कुरा गर्दैछन् । बहुसंख्यकले अल्पसंख्यकलाई दमन गरेको इतिहास हो काश्मीरको इतिहास । यसमा नेपालका बौद्धहरू सजग हुन आवश्यक छ ।
ख) अर्कोतिर बौद्धहरू स्वयम् पनि ढलमलको अवस्थामा छ । आजभन्दा हजार वर्ष अगाडिको काश्मीरको अवस्था नेपालमा अहिले देखिन्छ । बौद्ध विद्वानहरूको केन्द्र काश्मीरमा हिन्दु पण्डितहरूले कथा कहानीमात्र सुनाएर बुद्धधर्मको नामनिशान मेटाए । अहिले यहाँ नेपाल पनि यही अवस्थामा छ, आफुलाई बौद्ध भन्नेहरू इतिहास र दर्शनको अध्ययन गर्नुभन्दा बुद्धलाई फगत हिन्दु देउताका मूर्तिको पंक्तिमा राखेर भक्तिमार्ग बाट पूजा गरिरहेका र बुद्ध धर्म र हिन्दु धर्म एउटै हो भन्न मन पराइरहेका छन् । यसबाट नेपालका बौद्धहरूको भविष्य उतै तिर गइरहेको देखिन्छ ।
नेपालमा बुद्धधर्मको अवस्था यही रहने हो भने यहाँ पनि काश्मीरको अवस्था आउन धेरै समय लाग्ने छैन । कुनै दिन यहाँ पनि बुद्धमूर्तिहरू नष्ट गरिनेछन्, वा मूर्तिहरू त भेटिनेछन् तर बौद्धहरू भेटिने छैनन् । अनि यहाँबाट यदि बौद्धहरूलाई बहुसंख्यक हिन्दुहरूले सत्ताको साथ लिएर देश निकाला गरिदियो भने त्यो परिच्छेदलाई कुनै फिल्म निर्माताले दि नेपाल फाइल्समा समेत समावेश गराउने छैन । तीतो यथार्थ हाम्रो सामु छ, इतिहास दोहरिन्छ भनिन्छ, त्यो कालो इतिहास नेपालमा नदोहरियोस् । (यो आलेख हामीले राजेनको अनुमतिले उनको ब्लगिङ साइटबाट लिएको हो ।)
आइएनएस–स्वतन्त्र समाचार
Design : Aarush Creation
राजेन मानन्धर ।