धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६, मुसेपानीका ४२ वर्षीया रञ्चुला साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए ।
झारफुककै क्रममा साउदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो । स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउदलाई सरिया तताएर कुटपिट गरेका थिए ।
प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ,’ उनले भने, ‘दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’
बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । ‘धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ,’ उनले भने, ‘बिरामीले थला परेकी साउद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।’
रासस । महेन्द्रनगर ।