बाँकेको नरैनापुरमा निर्माण हुन लागेको १५ शैय्याको अस्पताल निर्माणमा नेपाल विद्युत प्राधिकरण अवरोध बनेको छ । अस्पताल निर्माणका लागि हनुमान कन्स्ट्रक्सन र गाउँपालिकाबीच २०७८ चैत्र १० गते निर्माण सम्झौता भएको थियो ।
निर्माण सम्झौतापछि २०७८ चैत १४ गते अस्पतालको शिलान्यास भएदेखि विद्युत प्राधिकरणका कारण निर्माणमा अवरोध देखिएको हो । अस्पताल निर्माणस्थलसम्म विद्युत लाइन नगरिदिँदा निर्माणमा समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ ।
विद्युत् लाइन विस्तारका लागि गाउँपालिकाले पटक–पटक विद्युत प्राधिकरणसँग अनुरोध गरे पनि प्राधिकरणले चासो नदेखाएपछि अस्पताल निर्माणमा समस्या भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
‘हामीले धेरै पटक विद्युत् पोल विस्तार गर्न आग्रह गर्दा पनि विद्युत् प्राधिकरणले चासो नदेखाउँदा निर्माणमा समस्या भएको छ,’ अध्यक्ष शाहले भने, ‘विद्युत विस्तार नहुँदा अस्पताल निर्माणको काम समयमै सक्न गाह्रो हुने देखिन्छ ।’
अध्यक्ष शाहले अस्पताल निर्माणमा विद्युत प्राधिकरण बाधक बनेको पनि बताए । २०८० असोज १० गते निर्माण सम्पन्न भइसक्नु पर्ने अस्पतालको काम शिलान्यास भएदेखि विद्युत अभावकै कारण निर्माणको काम रोकिएको गाउँपालिकाले जनाएको छ ।
नरैनापुर गाउँपालिका–४, जयरामपूर्वामा निर्माण हुन लागेको अस्पताल निर्माण रोकिएको विषयमा आफूलाई जानकारी नभएको नेकपा एमाले नरैनापुरका नेता रामकुमार दिक्षितले बताए । उनले भने, ‘विकासका काममा कोही बाधक बन्न पाइँदैन ।’
उनले नरैनापुरको विकासमा कोही बाधक बनेमा त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको जनाउँदै विद्युतकै कारण अस्पताल निर्माण रोकिनु गम्भीर विषय भएको उनले बताए । ‘विद्युत अभावमा अस्पतालको काम रोकिए प्राधिकरणमा हामी आन्दोलन गर्छौ ।’
विद्युत विस्तारमा भइरहेको ढिलाईबारे जानकारी लिनका लागि लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख सुरज गौतमलाई ९८५८०७२२९९ नम्बरमा सम्पर्क गर्न खोज्दा उनको मोवाइल ‘रिसिभ’ भएन ।
सत्यपाटी । बाँके ।