सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनमा भागबण्डा : बझाङमा एकीकृत समाजवादीलाई दुई पालिका, नौं वडा

सत्ता साझेदार पाँच दलको मंगलबार बेलुका केन्द्रमा बसेको बैठकले एमालेबाट स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका ठाउँमा अन्य दलले उम्मेदवार नउठाउने सहमति गर्यो । सो सहमतिपछि एकीकृत समाजवादी पार्टीका नेताहरु खुसी भएका छन् ।

सो पार्टीले एमाले छाडेर आफ्नो पार्टीमा आएका जिल्ला भरीका जनप्रतिनिधिहरुको विवरण संकलन गरिरहेको छ । एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव गणेश बोहरा नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारिरहेका छन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य समेत गरि करिब ४४ जना भन्दा बढी जनप्रतिनिधि आफ्नो पार्टीमा खुलेको जिल्ला कमिटी उपसचिव बोहराले दाबी गरेका छन् । उनले भने, ‘खुल्ने क्रम जारी छ । अहिलेसम्म सबै पालिकाको अन्तिम विवरण जिल्लामा आइसकेको छैन ।’

तर, एमालेले जितेका १ नगरपालिका ७ वटा गाउँपालिका गरी ८ स्थानीय तहका प्रमुख/अध्यक्षमध्ये २ जना मात्रै एकीकृत समाजवादीमा खुलेका छन् । बझाङका १२ वटै पालिकाका एकीकृत समाजवादीका नेताहरुसँग सम्पर्क गरेर पाएको जानकारी अनुसार केदारस्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाअध्यक्ष एमालेबाट समाजवादीतिर खुलेका छन् ।

अन्य पालिकाका जनप्रतिनिधीहरु एकीकृत समाजवादीमा खुलेका छैनन् । केदारस्युँ गाउँपालिकाका ४ केदारस्यु गाउँपालिकाका ४ र थलारा गाउँपालिकाबाट १ जना वडाध्यक्ष समाजवादीमा खुलेका छन् । यस हिसाबले मंगलबार भएको केन्द्रको सहमति पालना भए बझाङमा २ स्थानीय तह एकीकृत समाजवादीको भागमा पर्ने पक्का भएको छ ।

अन्य स्थानको हकमा संगठन र अहिलेको अवस्थालाई हेरेर गठबन्धनले बाँडफाँट गर्ने भएका छन् । जिल्लामा सोहि सहमती पालना गरेर अगाढी बढ्न दलहरु लागिपरे पनि केदारस्युँ गाउँपालिकामा एकीकृत समाजवादीको उम्मेदवार उठाएर छविसपाथिभेरा गाउँपालिकामा आफ्नो पार्टीको उम्मेदवार उठाउनुपर्ने नेकपा माओवादी केन्द्रले अडान लिएको छ ।

केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधीहरुले पार्टी विभाजनको बेला एकीकृत समाजवादीमा पार्टीमा सनाखत गरेको भए पनि छविसपाथिभेरा गाउँपालिकाका जनप्रतिनिधीहरुले सनाखत नगरेको र पछिल्लो समयमा समाजवादीमा देखिएकाले उक्त पालिका आफुले पाउनुपर्ने माओवादी केन्द्रले धारणा राखेको हो । एकीकृत समाजवादीले एक नगरपालिकासहित चार पालिका आफूले पाउनुपर्ने प्रस्ताव गठबन्धनमा राखेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १८:२९