खाना पकाउन विद्युतीय पद्धति प्रयोग गरेमा परम्परागत र एलपी ग्यासभन्दा आधा सस्तो पर्ने एक अध्ययनले देखाएको छ ।
जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पाँच जनाको परिवारको एक छाक खाना इलेक्ट्रिक प्रेसर कुकरमा पकाउँदा जम्मा ६ रुपैयाँ २७ पैसा मात्र खर्च लाग्छ ।
नेपालमा विद्युत् उत्पादन पर्याप्त हुँदै जाँदा यसको खपत कसरी बढाउने भन्ने बहस चलिरहेका समयमा भन्सामा बिजुली खपत प्रवद्र्धन कसरी गर्ने भन्दै पीडा लगायतका विभिन्न सामाजिक संस्थाले छ महिना लगाएर देशका विभिन्न क्षेत्रमा पुगेर भान्साको अध्ययन गरेका थिए ।
स्थानीय जनतालाई इन्डक्सन, इन्फ्रारेड इलेक्ट्रिक प्रेसर कुकरजस्ता सामग्रीदेखि ऊर्जा मापनका साधन पनि दिइएको थियो । सोलुखुम्बु, तेमाल, बनेपा, कटहरी र ललितपुरको महाकाल गाउँपालिकामा यस्तो अध्ययन गरिएको थियो । स्थानीयको भान्सा अनुगमनका लागि भान्सा डायरी विधिमार्फत तथ्याङ्क सङ्कलन गरिएको थियो । पीडाले सँगै ल्याब परीक्षण विधि पनि अपनाएको थियो ।
अध्ययनअनुसार पाँच जनाको परिवारका लागि दाल, भात र मासु पकाउँदा दाउरामा १३ रुपैयाँ २९ पैसा, एलपी ग्यासमा १३ रुपैयाँ ७८ पैसा, इन्डक्सनमा ११ रुपैयाँ ७७ पैसा, इन्फ्रारेडमा १२ रुपैयाँ ६० पैसा ऊर्जा लागत लाग्ने देखिएको छ । यसरी अध्ययन गर्दा दाउरा तथा गुइँठाजस्ता परम्परागत र निःशुल्क ऊर्जा स्रोतलाई सङ्कलन गर्न लाग्ने समयको ज्यालाका आधारमा प्रतिकिलो ६ रुपैयाँ ३ पैसा तय गरिएको थियो भने बिजुलीको औसतमा १० रुपैयाँ प्रतियुनिट मानिएको थियो ।
तत्कालीन समयमा बजार मूल्यका आधारमा एलपी ग्यासलाई प्रतिसिलिन्डर एक हजार ४४० रुपियाँ मानिएको थियो । यद्यपि, अहिले यसको बजार मूल्य एक हजार ६०० रुपैयाँ पुगेको छ भने नेपाल आयल निगमको लागत दुई हजार ५३२ रुपैयाँ पर्छ । अनुदानरहित ग्यासको हिसाब गर्दा यो रकम दुई हजार ४०० रुपैयाँ २२ पैसा हुन आउँछ । यसअनुसार इलेक्ट्रिक प्रेसर कुकरभन्दा एलपी ग्यास चार गुणा महँगो पर्न आउँछ ।
एक हजार ६०० रुपैयाँकै अनुपातमा हिसाब गर्दा यो रकम एक हजार ५०० रुपैयाँ ३१ पैसा पर्न आउँछ । पीडाका कार्यकारी निर्देशक विराज गौतमका अनुसार खाना पकाउन अब उत्तम विकल्प इलेक्ट्रिक प्रेसर कुकर हो । ‘अब हरेक परिवारको भान्सा विद्युतीय बनाउनुपर्छ, आर्थिक लागत, पर्यावरण र जनस्वास्थ्यको रक्षाका लागि बिजुली भन्सा चाहिन्छ,’ उनले भने, ‘अब सरकार तथा सरोकारवाला निकायले हरेक भान्सामा इलेक्ट्रिक प्रेसर कुकर पुर्याउने कार्यक्रम ल्याउनुपर्छ ।’
भान्सा विद्युतीय बनाउँदा भान्साको काममा पुरुष सदस्यको समेत योगदान बढेको पाइएको छ । कहिल्यै भान्साका काम नगर्ने घरका पुरुषहरूले अध्ययन अवधिभर १० प्रतिशत भान्सा सम्हालेको पाइएको अध्ययनकर्ता अर्को संस्था विनरक इन्टरनेसनलका गोविन्द खनालले जानकारी दिए ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले स्वच्छ ऊर्जा खपत विस्तारमा व्यापक रूपमा काम गर्ने बेला आएको बताए । केन्द्रले स्वच्छ ऊर्जा खपत प्रवद्र्धनका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागिएको बताउनुभयो । नेपालमा विद्युतीय भान्सा प्रवद्र्धनका लागि सहयोग पुग्ने गरी पीडाले नेपाल ई कुक बुक पनि सार्वजनिक गरेको छ ।
सत्यपाटी । काठमाडौं ।