सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

बाँकेमा सत्ता साझेदार दलहरुलाई गठबन्धन गर्न समस्या

बाँके जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलहरुलाई गठबन्धन गर्न समस्या भएको छ । साझेदार दलहरुले नै विभिन्न पालिका नछोड्ने घोषणा गरेका कारण गठबन्धन गर्न सकस भएको दलका अगुवाहरुले बताएका छन् ।

जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चार वटा पालिकामा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको, काँग्रेसले कोहलपुर र नेपालगन्जमा दावी नछोडेको र माओवादीले पनि नेपालगन्ज र कोहलपुर मागेकाले गठबन्धनमा समस्या आएको हो ।

जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगन्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । काँग्रेस र माओवादीले पनि तीनै पालिकामा आफ्नो दावी गरेका छन् ।

जसपाले चारवटा पालिकामा दावी नछाडेपछि काँग्रेसले पनि गत निर्वाचनमा जितेको राप्तीसोनारी, डुडुवा र दोस्रो भएको कोहलपुर र नेपालगन्जमा कुनै पनि हालतमा दावी नछाड्ने काँगे्रस बाँकेका सचिव सुधान्सु कोइरालाले बताए ।

जसपाको निर्णयका कारण बाँकेमा आसन्न निर्वाचनका लागि गठबन्धन बन्ने नबन्ने विषयमा अन्यौल उत्पन्न भएको कोइरालाको भनाई छ । माओवादी केन्द्रले पनि नेपालगन्ज, कोहलपुर, खजुरा र बैजनाथमा आफ्नो दावी नछोड्ने अडान लिएको माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले बताए ।

जसपा, काँग्रेस र माओवादीको अडान कायमै रहेमा नेकपा एकीकृत समाजवादीका लागि कुनै पनि पालिका बाँकी नरहने गुनासो सो दलका नेता अशोक कोइरालाको छ । तर सत्ता साझेदार दलहरुवीच सहमति बन्ने र गठबन्धन बनाएर निर्वाचनमा जाने अवस्था आउनेमा आफु आशावादी रहेको माओवादी केन्द्रका संयोजक तुफानले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:२०