सूचनाको शक्ति - The Power Of Information

        

एनएमबी बैंकको एफपीओ निष्कासनमा ढिलाइ

काठमाडौं । एनएमबी बैंकको थप सेयर निष्कासन (एफपीओ) मा ढिलाइ भएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन एनएमबीले गत जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो ।
निवेदन दिएको १० महिना बितिसक्दा पनि बैंकले बोर्डबाट एफपीओ निष्कासको स्वीकृति पाएको छैन । बोर्डबाट स्वीकृति पाउनसाथ एफपीओ निष्कासन हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसीले बताए । प्रक्रियागत कारणले ढिलाइ हुन गएको बताउदै उनले चाँडै एफपीओ निष्कासन हुने जानकारी दिए ।
एफपीओ प्रिमियम मूल्य टुङो लाग्न बाँकी रहेको केसीले जानकारी दिए । बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ छ । बजार घटेपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउँदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतवार ०९:३४