सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा रेल : चीनबाट आउने कुरामात्रै, भारततर्फको काम धमाधम


काठमाडौं । चीनबाट रेलमार्ग जोड्ने भन्दै हल्ला गरिएको लामै समय भयो । विशेषगरी प्रधानमन्त्री केपी ओली पहिलोपटक सिंहदरबारको यात्रा तय गर्दा उनले रेलको विषयमा चर्कै हल्ला गरे । मानौ चीनको रेल सञ्जाल नेपालभर विस्तार भइसक्यो ।
चीनबाट नेपाल जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार भएको छैन । डीपीआरको कामसमेत कहिलेदेखि शुरु हुन्छ थाहा पाउन सकिएको छैन । रसुवाको रसुवागढी हुँदै केरुङबाट रेल नेपालमा आउने चर्चा त छ तर काम भएको छैन ।
डीपीआर नै नभएको रेलमार्गको चर्चा गरेर कार्यकारी प्रमुखदेखि विभिन्न राजनीतिक दलका नेता भाषण गर्न व्यस्त भएको लामै समय भयो । तर, रेल सञ्चालनका लागि स्थापना भएको रेल विभागले सो रेलमार्गको बारेमा हालसम्म देखिने गरी कुनै पनि काम नभएको स्वीकार गर्दछ ।
केही चिनियाँ नागरिक विभागमा बसेर रेलमार्गको विषयमा कुराकानी गरिबसेका छन् । चीन तर्फको रेलमार्ग चर्चामा सीमित भएको बेला भारतबाट नेपालमा जोडिने रेलमार्गको बारेमा भने धमाधम काम भइरहेको छ । रेलको इन्जिन पाएको खण्डमा भारतबाट नेपाल जोडिने रेल भने आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।
भारतबाट नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बर्दिबास–जयनगर रेलमार्ग भारतको मधुवनी जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी र सिराहा जिल्लालाई समट्नेछ । नेपालतर्फ कूल ६५ दशमलव ७३ किमी रेलमार्ग पर्दछ भने भारततर्फ २ दशमलव ९९ किमी पर्दछ । सो रेलमार्गमा गुड्ने रेलको गति सय किलोमिटर प्रतिघण्टा रहने गरी तयारी गरिएको छ ।
रेल विभागले रेलको इन्जिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट मागे पनि हालसम्म बजेट उपलब्ध हुन सकेको छैन । सो रेलमार्गमा १७ वटा ठूला पुल र १२३ वटा साना पुल निर्माण भएका छन् । भारत सरकारको तर्फबाट रेल जोडिने बित्तिकै बर्दिबास–जयनगर रेल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सम्भवतः आगामी वैशाखदेखि नै सो रेलमार्गमा रेल चल्ने विभागका इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । यो मार्गमा चलाउन लागिएको रेल ब्रोडगेज रेल हो । ‘ब्रोडगेज रेलको चालक तथा मर्मत सम्भार गर्ने जनशक्ति नभएपछि विभागले चीन र भारतमा केही प्राविधिकलाई तालिमका लागि पठाइएको छ ।
यस्तै समझदारीअनुसार, विराटनगर– जोगवनी १८ दशमलव ६ किमी, भैरहवा–नौतनवा १५ दशमलव ३० किमी, नेपालगन्ज–नेपालगन्ज रोड १२ दशमलव ११ किमी, काँकडभिट्टा–जल्पाइगुडी ७० किमी रेलमार्ग निर्माण हुनेछन् ।

जोगनी विराटनगर रेलमार्ग सर्वोच्चमा रोकियो
जोगवनी–विराटनगर रेलमार्ग सर्वोच्चमा मुद्दा परेका कारण रोकिएको छ । सो रेलमार्ग भारततर्फ ५ दशमलव ४५ किमी र नेपालतर्फ १३ दशमलव १५ किमी पर्नेछ । रेलको गति भने १०० किमी प्रतिघण्टा नै रहनेछ । सो रेलमार्गमा तीन मुख्य र २९ वटा सहायक पुल पर्नेछन् । उक्त रेलमार्ग दुई चरणमा निर्माण गरिने छ ।
सन् २०२० सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विराटनगरको रेलमार्गमा पर्ने जग्गाको विषयमा विवाद परेपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेको छ । मुद्दाको किनारा लाग्ने बित्तिकै रेलमार्ग निर्माण शुरु गर्ने तयारीका साथ रेल विभाग लागिपरेको छ । जग्गा प्राप्ति तथा मुआब्जा वितरणको काम प्रभावकारी हुन नसक्दा समस्यामा पर्दै आएको हो ।
अदालतमा मुद्दा परेका कारण केही समय ढिलाइ भए पनि अब छिट्टै निर्माण शुरु हुने उपाध्यायले जानकारी दिए । त्यसैगरी नेपालगन्ज–नेपालगन्ज रोड १२ दशमलव ११ किमी लामो रेलमार्गको सर्वेक्षणको काम सम्पन्न भएको छ । सो रेलमार्ग केही समयभित्रै निर्माण शुरु हुनेछ ।

अघि बढेनन् यी रेलमार्ग
यस्तै काँकडभिट्टा–जलपाइगुडी रेलमार्गको अध्ययनको काम नै अगाडि बढेको छैन । विभागले नेपाल र भारतका अधिकारीसँग समन्वय गरेर अध्ययन अगाडि बढाउने योजना तय गरेको छ । यसैगरी भैरहवा–नौतनवा १५ दशमलव ३० किमी लामो रेलमार्ग निर्माणको अध्ययन शुरु हुन सकेको छैन । विभागले सो रेलमार्गको समेत छिट्टै अध्ययन शुरु गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतवार ०९:२७