सूचनाको शक्ति - The Power Of Information

        

जिम्मेवारी विपरितको कर्म

बाँकेमा सवारी दुर्घटनामा वृद्धि, ट्राफिक प्रहरी असुलीतिरै व्यस्त

टिप्परलाई टाइम कार्ड लागु गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले दिएको निर्देशन कार्यान्वयनमा ट्राफिक प्रहरीको अटेरी ।

केही समययता बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा सडक दुर्घटनामा दिनदिनै वृद्धि हुँदै गएको छ । सडक दुर्घटनामा परी घाइते हुने र अनाहकमा ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको छ ।

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, तीव्र गतिमा सवारी हाँक्ने तथा ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाउनाले जिल्लामा सवारी दुर्घटना बढ्दै गएका हुन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षको हालसम्म साना–ठूला गरी बाँकेमा १२० वटा सवारी दुर्घटना भएका छन् ।

करिब नौ महिनामा भएका यी सडक दुर्घटनामा परेर ५५ जनाको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको यो तथ्याङ्कलाई मध्यनजर गर्दा नेपालगन्ज–कोहलपुर अर्थात् रत्न राजमार्ग सडकखण्डमा सबैभन्दा बढी ४० वटा सवारी दुर्घटना भएका छन् ।

नेपालगन्जको जमुनाहदेखि सुर्खेतको सिमाना देउरालीसम्मको सडकखण्डमा कुल ४० वटा सवारी दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ भने ३८ जना गम्भीर घाइते भएका छन् । ती दुर्घटनामा ड्युटीमा रहेका तीन जना प्रहरीको समेत मृत्यु भएको छ ।

सो क्रममा पछिल्लो पटक गत दुई दिनमा भएका दुईवटा दुर्घटनाबाट दुई नाबालकसहित चार जनाको मृत्यु भएको छ । सडक छेउमा पैदल हिँडिरहेका सर्वसाधारण यात्रुले तीव्र गतिको सवारी अनियन्त्रित हुँदा जीवन गुमाएका छन् ।

आइतबार राति नेपालगन्जको सुर्खेत रोडको सडक छेउमा पैदल हिँडिरहेका दुई नाबालकसहित एक जना महिलालाई पछाडिबाट तीव्र गतिमा आएको कारले सोझै ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

राति मापसे गरेर तीव्र गतिमा गाडी चलाएकै कारण सो दुर्घटना भएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले बताए । सो घटनामा परेर नेपालगन्ज ११ का ६५ वर्षीया समिमा इद्रिसी, उनका पाँच वर्षीय नाति कसिम इद्रिसी र घरबेटी अस्लम अन्सारीका ६ वर्षीय छोरा अली अन्सारीको मृत्यु भयो ।

यसअघि एक दिन पहिले पनि स्कुटी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको थियो । डीएसपी न्यौपानेले ट्राफिक नियमको पालना नगरिदिँदा नै अधिकांश दुर्घटना भएको पाइएको बताए । ‘अधिकांशले ट्राफिक नियमको पालना गर्दैनन्, अनि दुर्घटना बढ्दै जान्छन्, यहाँ पनि यस्तै भएको छ,’ न्यौपानेले भने ।

बाँकेमा ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गराउनेतर्फ चासो नदेखाउँदा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको जानकारहरु बताउँछन् । ट्राफिक प्रहरी राजस्व संकलनको बहानामा ‘मापसे चेकिङ’का नाममा असुलीको पासो थाप्दै असुलीमै केन्द्रीत भएपछि बाँकेमा सवारी दुर्घटना बढिरहेको सम्बद्धहरु बताउँछन् ।

सम्बद्धहरुका अनुसार बाँकेमा चेकिङका नाममा ट्राफिक प्रहरीको असुली तीव्र बनेको छ । साँझ परेपछि जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ । अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५००–१००० रुपैयाँसम्म रकम असुली हुन्छ । धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ ।

ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो दिनप्रतिदिन बढ्न थालेको छ । सवारी चालकहरुका अनुसार ट्राफिक प्रहरीले फाइन काट्ने भन्दै १०० देखि ५०० रुपैयाँसम्म माग्ने गरेको छ । उनीहरु भन्छन्, ‘हामीले दिएको रकमको बिल र अरु कुनै प्रमाण हुँदैन ।’

यदी पैसा छैन भने बार्गेनिङ गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । प्राप्त जानकारी अनुसार फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्लाका ‘हाकिम’लाई पैसा बुझाउने गरेको स्रोत बताउँछ । ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नुपरेको चालकहरु बताउँछन् ।

सबै कागजात बोकेर चलेका सवारी साधनबाट रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि रोक्न खोज्दा गत महिना नेपालगन्जको सडक विभाग अगाडी ट्राफिक प्रहरी र टिपर चालकबीच झडपकै स्थिति निम्तिएको थियो । त्यस क्रममा ट्राफिक प्रहरीका जवान टेकराज अधिकारीले टिपर चालकमाथि हातपातसमेत गरेका थिए ।

ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि बाँकेमा ट्राफिक व्यवस्थापन भद्रगोल छ । सवारी दुर्घटना न्यूनीकरण हुनुको साटो दिनप्रतिदिन बढिरहेका छन् । स्थानीयहरुका अनुसार ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुलीमा असुलीका केन्द्रीत हुँदा बाँकेमा सवारी दुर्घटनाको बढेको सरोकारवालाहरुको भनाई छ ।

बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुलीमा सक्रिय छ । सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् ।

‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले बताए । दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटना बढ्नुका साथै पछिल्लो समयमा बाँकेका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ ।

बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।

प्रजिअको निर्देशन कार्यान्वयनमै अटेरी

पछिल्लो समय टिप्परहरू अत्यधिक मात्रामा राजमार्ग र अन्य साइड सडकहरूमा समेत चल्न थालेको र त्यसले दुर्घटना बढाएको गुनासो आएपछि ट्राफिक प्रहरीलाई व्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्देशन दिए । तर, उक्त निर्देशन कार्यान्वयनमा ट्राफिक प्रहरीले अटेरी गरेको छ ।

टिपरलाई लाइन दिएर राम्रै आम्दानी गरिरहेको ट्राफिक प्रहरीले नियमित आम्दानी गुम्ने भएपछि निर्देशन कार्यान्वयनमा अटेरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘हाम्रा हाकिम र उहाँका नजिकका व्यक्तिको मासिक आम्दानीका स्रोत नै टिपर हुन् । ‘टाइम कार्ड’ लागू गर्दा आम्दानी गुम्छ । अनि किन लागु गर्ने ?’

तीव्र गतिले अनियन्त्रितरूपमा टिप्पर गुडाउँदा बाँकेमा दुर्घटना बढेपछि केही दिनअघि बाँकेका प्रमूख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जिल्लाका राजमार्गमा टिप्परहरू गुडाउँदा गति नियन्त्रण गर्न ‘टाइम कार्ड’ लागू गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेलाई निर्देशन दिएका थिए । हालसम्म निर्देशन कार्यान्वयनमा आएको छैन ।

अधिकांश ढुङ्गा, गिट्टी र बालुवा बोक्नमा प्रयोग हुँदै आएका टिप्परलाई जथाभावी तीव्र गतिमा गुडाउँदा पटक पटक दुर्घटना हुन थालेपछि विभिन्न सडकखण्डका लागि छुट्टाछुट्टै गतिको टाइम कार्ड लागू गर्न र सडकखण्डअनुसार तोकिएको भन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न मातहतलाई निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०८:४८