सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रि–मनसुनमा चट्याङ्गकाे जाेखिम धेरै, सावधानी अपनाउन आग्रह

२४ घण्टामा दुई जनाको मृत्यु

प्रि–मनसुनमा चट्याङ्गका घटना धेरै हुने गरेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा १ र झापाको गौरादह नगरपालिका वडा ५ मा गरी दुई जना महिलाको ज्यान गएको हो ।

त्यस्तै राक्सीराङमा दुई जना, तनहुँको म्याग्दे गाउँपालिका-१ मा दुई जना र शुक्लागण्डकी नगरपालिका-५ मा  एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएका छन् । ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्नुलाई चट्याङ्ग भनिन्छ । चट्याङ्गको पूर्वानुमान गर्न नसकिने भएकाले क्षति धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङ्गको जोखिम धेरै हुन्छ । यसबाट बच्न पूर्वतयारी नै महत्त्वपूर्ण रहेको र गड्याङगुडुङ भएका बेला घरभित्र सुरक्षित बस्न उहाँको आग्रह छ ।

मेघ गर्जनका बेला अग्लो ठाउँ, रुख वा टावरको नजिक नबस्न, विद्युतीय सामग्री प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन पनि उहाँको सुझाव छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ०८:३०