सूचनाको शक्ति - The Power Of Information

        

बिदाका दिन सरकारी गाडी प्रयोग नगर्ने प्रस्ताव

अर्थमन्त्री जनार्दन शर्माले सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेकाे बताउनुभएकाे छ ।

अर्थ मन्त्रालयमा आज साेमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गर्नुभयो ।

महँगा एवम् विलासी गाडीकाे आयात रोक्न पनि प्रस्ताव गरिएको उहाँको भनाइ छ । उहाँले उपभाेक्तालाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पार्नुभयो ।

मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पार्नुभयो । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उहाँको भनाइ छ ।

अर्थमन्त्री शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको पनि बताउनुभयाे ।

कोरोना कहर तथा रुस र युक्रेनको सङ्घर्षका बाबजुद पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उहाँले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १९:२२