सूचनाको शक्ति - The Power Of Information

        

अपराध

एकै विद्यालयका तीन शिक्षकविरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक पक्राउ

मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका तीन शिक्षकविरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ ।

मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका–८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षकविरुद्ध विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका चार जना पीडित बालिका विद्यार्थीका तीन जना अभिभावकले किटानी जाहेरी दिएका हुन् ।

बालिकाका अभिभावकहरूले विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन् । जाहेरीपछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई नियन्त्रणमा लिइएको र दुई जनाको खोजी भइरहेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् । निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षकविरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए पनि उनिहरू फरार रहेका छन् ।

यी तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदासमेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए । विद्यार्थीहरूले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन् ।

निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो । घटना स्थानीयस्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन् ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले छात्रामाथि भएको यस किमिसमको अमानवीय र जघन्य अपराधविरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरूको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशिलतालाई ध्यानमा राखेर दोषीलाई उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गरेकी छन् ।

विद्यालयमा उनीहरूले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरे पनि पीडित विद्यार्थीहरू शिक्षकलाई कारबाही माग गर्दै तोडफोडमा उत्रिएका थिए । सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधिहरू घटनाको जानकारी लिन घटनास्थलमा समेत पुगेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार १४:२६