सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

कमरुद्दिन राई : ‘मेयरका चर्चित र बलिया उम्मेद्वार’, यस्ता छन् प्रतिवद्धता

मेयरमा उनको उम्मेद्वारी घोषणासँगै नेपालगन्जमा अन्य राजनीतिक दलका आकांक्षीहरु झस्किएका छन् ।

आफूलाई नेताभन्दा जनताको सेवक भन्न रुचाउँछन्, कमरुद्दीन राई । उनलाई नेताभन्दा मन अमिलो बनाउँछन् । उनलाई नेताभन्दा राम्रो लाग्दैन । ‘राजनीति सेवाभावले गर्ने हो, त्यसैले म नेता होइन जनताको सेवक हुँ,’ उनी भन्छन्, ‘नेताभन्दा मलाई नमज्जा लाग्छ, जनताको सेवक भन्दा खुशी हुन्छु ।’

जनता समाजवादी पार्टी बाँकेका अध्यक्षसमेत रहेका राई आफ्नो परिवारभन्दा जनताका दैनिकीमा ब्यस्त भइरहेका हुन्छन् । कोरोनाको पहिलो र दोस्रो लहरका बेला अधिकांश नेता, कार्यकर्ता ज्यान जोगाउन घरमै बसे । जनताले के खाइरहेका छन् र कसरी दैनिकी चलाइरहेका छन् भन्ने खोजेनन्, तर राईको मनले घरमा बस्न मानेन ।

उनी हरेक दिन बाहिर निस्केर नागरिकको घरदैलोमा पुगेर जनतासँग तितामिठा कुरा गर्थे । समस्यामा परेका नागरिकलाई आवश्यकता अनुसारको सामान वितरण गर्थे । ‘नेपालगन्जका मात्र नभई लकडाउनले घर जान नपाएका झण्डै दुई हजार विद्यार्थीलाई खाद्यान्न दिएँ,’ उनले भने, ‘अध्ययनका लागि बाहिरबाट आएकाहरुको पीडा सहन सकेन ।’

पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको नेपालगन्जका आशालाग्दा समाजसेवी हुन् राई । राईले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफूलाई मेयरको उम्मेद्वारका रुपमा अघि सारेका छन् । मेयरमा उनको उम्मेद्वारी घोषणासँगै नेपालगन्जमा अन्य राजनीतिक दलका आकांक्षीहरु झस्किएका छन् ।

त्यसो त पार्टीले उनलाई नै मेयरको उम्मेद्वार बनाउने घोषणा चार बर्षअघि नै गरिसकेको थियो । मेयरमा प्रतिष्पर्धा गर्न उनले चार बर्ष अघिदेखि नै तयारी गरेका छन् । त्यसका लागि योजना पनि बनाएको उनले बताए । युद्धमा जानुभन्दा अघि नै आवश्यक बन्दोबस्तीका सामानको जोहो गरेझैँ उनले पनि निर्वाचनको मैदानमा जाने तयारी गरिसकेका छन् ।

‘निर्वाचनको मैदानमा उत्रिन मैले सबै तयारी गरिसकेको छु,’ उनले भने, ‘विपक्षीको शक्तिलाई आँकलन गरेर निर्वाचन जित्ने रणनीतिका साथ तयारी अवस्थामा छु । विपक्षीलाई कमजोर ठान्नुहुन्न, सोही अनुसारको बन्दोबस्त मिलाएको छु । निर्वाचन जित्नेमा म ढुक्क छु ।’ उनले मेयरमा जित्ने आधारसमेत तय गरिसकेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुनुअघि पार्टीको संगठन नेपालगन्जमा कमजोर थियो । ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमलाई मधेसीको पार्टी भन्ने आरोप थियो, नयाँ शक्तिसँग एकीकरणपछि हाम्रो पार्टी मधेसी, मुस्लिम, पहाडी, हिन्दू सबैको साझा पार्टी भएको छ, सबैको साथ छ,’ उनले भने ।

गत निर्वाचनको तुलनामा पार्टी संगठन बलियो भएको उनको ठम्याई छ । गत निर्वाचनमा थोरै मतले पराजित भएका राईले पछिल्लो समयमा नेपालगन्जबासीको बलियो साथ रहेकाले आफूले निर्वाचन सहज रुपमा जित्ने दावी गरे । ‘वडाध्यक्षमा झिनो मतले पराजित अरु पार्टीका उम्मेद्वार अहिले हामीसँग हुनुहुन्छ । त्यसैले हाम्रो जित निश्चित छ,’ उनले भने ।

जनता समाजवादी पार्टीका संघीय सांसद इस्तियाक राईले नेपालगन्ज क्षेत्रमा धेरै राम्रो काम गरेकोले जनताले जनता समाजबादीको कामप्रति सन्तुष्ट भएको उनले बताए । ‘पूर्वमन्त्री राईजीको कामले पनि हाम्रो पार्टीलाई उचाइँमा पुर्याएको छ । यसको फाइदा मेयरको उम्मेदवारलाई पुग्ने छ,’ उनले भने ।

यस्ता छन् कमरुद्दिन राईका प्रतिवद्धता

मेयरका उम्मेद्वार कमरुद्दिन राईले आर्थिक अभावमा उपचार गर्न नसक्ने नेपालगन्जका नागरिकलाई उपमहानगरपालिकाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै भेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउने बताए । उनले भेरी अस्पतालले निशुल्क दिन नसक्ने स्वास्थ्य सेवाका लागि उपमहानगरले रकम उपलब्ध गराउने बताए ।

‘भेरी अस्पतालबाट निशुल्क पाइने सेवाबाहेक अन्य सेवा तथा विरामीका लागि आवश्यक पर्ने रकम उपमहानगरले उपलब्ध गराउने छ,’ मेयरका उम्मेद्वार राईले भने । उनले नेपालगन्ज उपमहानगरभित्र सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा प्रदान गर्ने ब्यवस्था मिलाउने बताए ।

एमविविएस चिकित्सकको ब्यवस्था गरी सम्बन्धित वडाका विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाई छ । ‘एक जना एमविविएस चिकित्सकलाई दिनमा दुई–तीन वटा आधारभूत स्वास्थ्य केन्द्रमा उपचार गर्ने ब्यवस्था मिलाइनेछ,’ उनले भने । उनले जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने प्रतिवद्धता जनाए ।

त्यस्तै उपमहानगरभित्रका सामुदायिक विद्यालयमा निजी तथा आवासिय विद्यालयसरह पठनपाठनको ब्यवस्था गरिने बताउँदै गरिब, विपन्न तथा सिमान्तकृत परिवारका बालबालिकाका लागि सहज तथा निशुल्करुपमा उच्च शिक्षा आर्जन गर्ने वातावरण मिलाउने मेयरका उम्मेद्वार राईको भनाई छ ।

‘छोरीलाई उच्च शिक्षा प्रदान गर्न कन्या छात्रवृत्ति दिएर गरिब, विपन्न तथा जेहन्दार बालिकाको शिक्षामा पहुँच पढाउने कार्यक्रम ल्याउनेछु,’ उनले भने, ‘आर्थिक अभावमा कोही पनि शिक्षाबाट बञ्चित हुने छैनन् ।’ राईले यहाँका बेरोजगारलाई रोजगार र रोजगारविहीनलाई बेरोजगार भत्ता उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएका छन् ।

नेपालगन्जको पार्किङ र पार्टी प्यालेसको समस्या समाधानका लागि एउटै ठाउँमा पार्किङ, पार्टी प्यालेस र सपिङ कम्प्लेक्स बनाउने उनको योजना छ । रिङरोड निर्माणका लागि तयार भएको डिपिआरलाई कार्यान्वयमा ल्याउने प्रतिवद्धता पनि उनले जनाएका छन् । यसअघि कार्यान्वयन नभएको रिङरोडलाई पहिलो प्राथमिकतामा राख्ने उनको प्रतिवद्धता छ ।

नेपालगन्जदेखि कोहलपुरसम्म विद्युतिय (ट्रली बस) सञ्चालन गरिने प्रतिवद्धता जनाएका राईले हरेक वडामा पार्टी प्यालेस निर्माण गर्ने जनाए । उनले किसानले रासायनिक मल र सिँचाइको ब्यवस्था मिलाउने योजनासँगै सहुलियत दिएर भारतबाट आउने तरकारीलाई विस्थापन गर्न किसान लक्षित योजना ल्याउने जनाए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १७:२३