कयौं दिदीबहिनीले जसरी नै वैदेशिक रोजगारमा पाएको पीडा भोजपुरकी २७ वर्षीय उमाले पनि लुकाउनु भएको छ । आफुले बैदेशिक रोजगारमा गएको वेला पटक–पटक पाएका दुःखका दिन सम्झिदै देशको राम्रो रोजगार नीति भएको भए आफू विदेशिन पर्थेन कि भन्ने लाग्छ उमालाई ।
विदेशमा कैयौं महिलाहरू त्यहाँको दुःख पीडा नभनी समाजिक आवश्यकता पुरा गर्न पैसाको लागि संघर्षरत जीवन जिउन बाध्य छन् । समाजमा वैदेशिक रोजगारका पीडाको सुनुवाई कहाँ नै हुन्छ र । त्यसै चुप बस्न बाध्यता छ भन्छिन्, उमा । नेपालको सामाजिक सोच महिलाहरूप्रति फरक छ ।
त्यसैले आफ्नो पीडा लुकाई हासेर विदेशबाट कमाएको पैसाले जेनतेन आफ्नो रोजीरोटी चलाउनु पर्नेछ । यतिबेला रोजीरोटीका लागि विदेश जानु गलत रहेको लाग्छ उमालाई, उमाको भनाई छ, त्यो नेपालमा बसुन्जेल थाहा पाइएन । कसरी विदेश गएर धेरै पैसा कमाउने र ऐश्वर्यशाली जिन्दगी विताउने सोचले पिरल्यो ।
विदेशमा गएर आएपछि मात्र गलत रहेछ भन्ने अनुभुति भयो । अब कहिल्लै विदेश नजाने र रोजगारीको लागि विदेश जाने महिला दिदी वहिनीहरूलाई नेपालमै संघर्ष गर्न सल्लाह र प्रेरणा दिने अभियानमा लाग्छु । उमा एक प्रतिनिधि पात्रमात्र हुन् । हजारौं महिला दिदी बहिनीहरूले विदेशमा रोजगारीका लागि यस्तै पीडा भोग्नुपरेको छ ।
यो विषय नेपालको महिलाको सामाजिक र आर्थिक विकासको पेचिलो काँडा बनिरहेको छ । प्रायः कम शिक्षा आर्जन गरेका, ग्रामीण क्षेत्रमा बसोवास गरिरहेका, गरिबीको मारमा परेका महिलाहरू नै दलालहरूको आश्वासनमा परेर विदेशिएका छन् । दलालले झुक्याएर भनिएको भन्दा भिन्नै देशहरूमा पुर्याई अलपत्रमा पारेका थुप्रै उदाहरणहरू छन् ।
नेपालमा दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि छिमेकी राष्ट्र भारत लगायतका संसारका धेरै देशहरूमा विदेशिने महिलाको सङ्ख्या बढिरहेको छ । अशिक्षा, गरिबी, वेरोजगारी लगायतका कारण यसरी वैदेशिक रोजगारीमा जाने महिलाको लागि विदेश थप चुनौती र सकसपूर्ण बनिरहेको छ ।
सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकिरहेको छैन । वैदेशिक रोजगारीका लागि श्रममा जाने महिलामहरू पुरुषको तुलनामा सीप र दक्षता कमी भई भरपर्दो र सुरक्षित रोजगारी प्राप्त गर्न सकिरहेका पाइदैनन्न् भन्ने विभिन्न समयमा भएका घटनाले देखाएको छ ।
विदेशमा जाने दक्षता भएका महिलाको सङ्ख्या न्युन रहेको छ । दक्षताको मुख्य आधार नै शिक्षा हो । हाम्रो शिक्षा गरिखानेभन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको कुरालाई नकार्न सकिन्न । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार पार्नु आजको अपरिहार्य आवश्यकता हो ।
रोजगारीका लागि भौँतारिदै विदेश पलायन हुने भन्दा पनि रोजगारी सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षित जनशक्ति उत्पादन गरी व्यवहारिक तथा प्राविधिक शिक्षा लागु गरिनुपर्ने वर्तमानको महत्वपुर्ण आवश्यकता हो । जसले रोजगारीका अवसर सहजै प्राप्त गर्न सकुन् ।
तोकिएको पाठ्यक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराई शिक्षामा नै भोलीको चुनौतिसँग जुध्न सक्ने शिक्षा प्रदान गर्नुपर्ने अझ टड्कारो आवश्यकता हो । विशेषगरी नेपालका महिलाहरूमा तोकिएको सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता रहदै आएको छ ।
खासगरी घरेलु कामदारका रुपमा गई घरेलु हिंसाबाट पीडित हुने गरेको अवस्था पछिल्लो दिनमा देखिदै आएको छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको सङ्ख्या ज्यादा रहेको छ । प्राय कुबेत र युएई नेपाली महिलाहरूको प्रमुख गन्तव्य रहेको छ ।
यी देशहरूमा महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन मुस्किल हुने गरेको छ । बिरानो देशमा भाषा, संस्कृति, परिवेश केही मिल्दैन; त्यस्ता देशहरूमा पनि भगवानको भरोसा झै संघर्ष गरिरहेको विद्यमान अवस्था छ ।
आफ्नो पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिकको माग गर्दा उल्टै यातना भोग्नुपर्ने अवस्था अर्कोतिर छ । नेपालमा पछिल्लो केही बर्षको तथ्यांक हेर्दा वैदेशिक रोजगारमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएका महिलाहरूको जीवन उल्टै यातना भोग्नुपर्ने अवस्थाबाट गुज्रिएको छ ।
वैदेशिक रोजगारमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएका महिलाहरूको विवरण :
महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो । आफ्नो अधिकारसँगै जोडिएका मौलिकता र मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोग गर्न पाउनु अर्को महत्वपूर्ण विषय हो । नेपाली महिलाहरूले पनि आफ्नो नामका अगाडि पुरुषझै वीर, वीरङ्गाना र विदुषी खालका विशेषण अङ्कित गराउन पछि पर्नु हुदैन भन्ने मान्यता आम महिलामा हुनुपर्दछ ।
त्यसैले यसको सवलीकरणको लागि स्थानीय तहमा महिलाहरूको नेतृत्व स्वीकार गरी कार्यकारी भुमिकामा प्रतिस्थापन गर्न सकियो भने वास्तविक रुपमा महिलाले हाम्रो समाजमा सामाजिक र आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र महिलाहरूको रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य हुन सक्छ भनि यो प्रष्ट्याउने कोशिस गरेको थिए ।
त्यसैसँग जोड्दै राज्यका हरेका अंगमा समानुपातिक र आरक्षण मात्र नभई सक्षम महिलाले नेतृत्वमा प्रतिस्पर्धा गर्न दिने वातावरण तयार गर्न सक्यो भने स्वदेशमै सक्षम नै सवल बनाई रोजगारी सिर्जना गरी समाजलाई महिलाले चलायमान बनाउन सक्छन् । महिला घरमा सक्षम भयो भने घर उत्कृष्ट हुन्छ । त्यही महिला समाजमा सक्षम भयो भने त्यो समाज पनि उत्कृष्ट बन्छ ।
महिला देशमा सक्षम भयो भने देश नै उत्कृष्ट र नमुना वन्न सक्छ । यस किसिमका उदाहरणहरू विश्वभरी विभिन्न देशहरूमा देख्न पाइन्छ । त्यसैले समाजमा महिलाप्रति भएको भेदभाव, हिंसा हटाउन सक्षम महिलालाई प्रतिस्पर्धाबाट प्रत्यक्ष कार्यकारी पदमा नेतृत्व गर्ने अवसर सधै खुला राख्नुपर्छ । आजको विज्ञान र प्रविधिको युगमा पनि नेपाली महिलाको नेतृत्व क्षमता विकास गर्न र गराउन नसक्नु भनेको अत्यन्तै दुःखद कुरा हो ।
लाखौँ नेपाली महिलाहरूको मानसिकता घर वरिपरी मात्र सिमित राखिएको विद्यमान अवस्था छ । हाम्रो समाजमा महिलाहरूको विचारलाई समावेश गर्ने तथा उनीहरूलाई हौसला दिएर सहज रुपमा अगाडि बढ्ने वातावरण निर्माण हुन अझै हुन बाँकी छ । त्यसका लागि समय आइसकेको छ ।
सरकारले संस्थागत रूपमा घरेलु कामदार पठाउने नीति पनि पारित गर्नुले संस्थागत रूपमा घरेलु कामदार पठाउन सक्ने व्यवस्थाले महिला कामदार वैदेशिक रोजगारमा जाँदा देखा पर्ने जोखिम घट्ने र उद्धारमा समेत सहजता हुने देखिएता पनि उचित तालिम र स्थानको छनौट गर्न अपरिहार्य छ ।
व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर बिदेसिएका महिला कामदारको यकिन विवरण सरकारसँग छैन, जसका कारण उद्धारमा समेत कठिनाइ उत्पन्न भइरहेको अवस्था छ । विदेश जानुभन्दा पहिले धेरै कुरा सोचविचार गरेर मात्र जाँदा उपयुक्त हुन्छ । बर्सेनि हजारौंको संख्यामा नेपाली महिलाहरू आफ्नो देश, आफ्नो भेषभूषा, भाषा, संस्कृति, खानपान केही नमिल्ने विदेशी भूमिमा जानुपर्ने बाध्यता किन आइपर्यो भन्नेमा प्रस्ट हुन जरुरी छ ।
यस विषयमा सरकारको पनि ध्यान जान जरुरी छ । खाडी मुलुकहरूमा जाने घरेलु कामदारहरूका लागि दिइने श्रम स्वीकृतको विषयमा नीतिनिर्माण तहमा ब्यापक छलफल हुने जरुरी छ । विना तयारी कामदारहरूको लागि श्रम स्वीकृत खुल्ला गर्नु क्षणिक लोकप्रियताका लागि गरिएको निर्णय मात्र हुनेछ ।
महिला र रोजगार विषयको छुट्टै अध्ययन र अनुसन्धान गरी ऐन नियममा समय सान्दर्भिक परिवर्तन गरी महिलाको हक र हितलाई ध्यानमा राखेर प्रयोगमा ल्याई अवलम्बन गर्नु पर्दछ । महिलाको हितमा आवाज उठाउने सबै संघसंस्था र समूह तथा निकायहरूले एकै स्वरमा नेपाली महिलाको सशक्तिकरणको आवाज बुलन्द पार्न सकेमा साँचो रुपमा महिला प्रतिको हिंसा र भेदभावको अन्त्य हुनेछ ।
आइएनएस–स्वतन्त्र समाचार
रोशनी अधिकारी ।