सूचनाको शक्ति - The Power Of Information

        

१३६ सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा

राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले जिल्लाका दुई सरकारी कार्यालयसहित १३८ सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा शुक्रबार भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।

आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छन् । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्य लगायतले जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।

सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए ।

अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए । आयोगका जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलो पटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारण राखे ।

कार्यक्रममा उपप्रमुख आचार्यले भनिन्, ‘नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनुका साथै पुर्जासमेत उपलव्ध गराउन पहल गर्नेछौँ ।’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०९:३०