सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले भने, ‘सिंहदरबार गाउँ पुग्यो कि पुगेन पत्ता लगाउनुस्’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भएमात्र देश सफल हुने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंहदरबारको अधिकार गाउँमा पुग्यो कि पुगेन भन्ने प्रश्न महत्वपूर्ण भएको बताए ।
‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसपाली हामीले सरकारका अधिकारको बाँडफाँटको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।’
स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताए । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० बर्षभन्दा मुनिका, एक चौथाइ अध्यक्ष ४० बर्षभन्दा कम उमेर समुहका छन्,’ प्रधानमन्त्री ओलीले भने ‘४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त ?’
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिए । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस् ।’ प्रधानमन्त्री ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताए ।
सरकारले कर्मचरी समायोजनको काम अघि बढाइ सकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्यत, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ०९:२६