सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निार्वाचन–२०७९

यस्ता छन् नेपालगन्ज र कोहलपुरमा मेयरका आकांक्षी

उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्ति केन्द्र धाउन थालेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगन्ज उपमहानगरको मेयर पदका लागि दर्जनभन्दा बढी नेताले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । सो पदको लागि टिकट पाउन उनीहरुको दौडधुपमा बढेको छ ।

उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्ति केन्द्र धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उनीहरूले बाक्लो बनाएका छन् । सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगन्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् ।

जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपतिदयाल मिश्र र नेकपा एकीकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेद्वारी निश्चित प्रायः भैसकेकाले उनीहरु प्रचारप्रसारमा जुटिसकेका छन् । राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर सङ्गठन निर्माणसँगै जनतासँग सम्पर्क बढाउन थालेका छन् ।

जसपाका राईले गएको निर्वाचनमा राम्रो मत ल्याएर पराजित भएकाले उनले सो समयबाटै यो निर्वाचनको तयारी शुरु गरेर जनताको काम गर्दै आएका छन् । मिश्र मेयरमा टिकट पाउने शर्तका साथ एमालेमा केही महिना पहिलेमात्र प्रवेश गरेकाले पहिलेदेखि नै दावेदार रहेका नेता कार्यकर्ताहरु भित्रभित्रै असन्तुष्ट देखिएका छन् ।

उम्मेदवार छनोटमा नेकपा माओवादी र नेपाली काँग्रेसमा तीन जनाभन्दा बढी दावेदार देखिएपछि आन्तरिक गृहकार्यमा दुवै दल लागेका छन् । नेपाली काँग्रेसमा मेयर पदमा पराजित डा.सुरेशकुमार कनोडिया, वर्तमान उपमेयर उमा थापामगर, काँग्रेसका नगर सभापति प्रशान्त विष्ट र व्यवसायी नेता अच्युत प्रसाईं टिकटका प्रवल दावेदार हुन् ।

काँग्रेसबाट कनोडियाको सम्भावना सबैभन्दा बढी देखिएको छ । टिकटको टुङ्गो नलाग्दै उनले प्रचारप्रसार तीव्र पारिसकेका छन् । नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका नेताहरु आदेश अग्रवाल, नन्दलाल वैश्य र नवीन शर्माको दावी छ । तर अग्रवालले टिकट पाउने सम्भावना बढी देखिएको छ ।

राप्रपाबाट हाल वडा नं.४ का वडा अध्यक्ष मो.सफिक बेहना, गौरव चन्द लगायतले मेयरमा दाबी गरेका छन् भने राप्रपा नेपालबाट अभयकुमार बस्नेतको सम्भावना बढी छ । शिवसेना नेपालबाट होटल व्यवसायी दिवाकर शर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगन्जमा मेयरका लागि मुख्य प्रतिष्पर्धा जसपा र माओवादी उम्मेद्वारबीच हुने आँकलन छ ।

तर नेकपा माओवादी र एमालेले पनि आफू सबैभन्दा अगाडि रहेको दावी गरिरहेका छन् । एमालेबाट चर्चामा रहेका पशुपतिदयाल मिश्रलाई पार्टीभित्रै घात हुन सक्ने देखिएको छ । उनी मेयरमा टिकट पाउनकै शर्तमा एमाले प्रवेश गरेको भन्दै पार्टीका कार्यकर्ताहरुमा ब्यापक असन्तुष्टि बनेको छ ।

मिश्रले टिकट पाउनकै लागि केही महिना अघिमात्रै एमाले प्रवेश गरेकाले पहिलेदेखि नै दावेदार रहेका नेता कार्यकर्ताहरु भित्रभित्रै असन्तुष्ट देखिएपछि अन्तरघातको सम्भावना धेरै रहेको एमाले स्रोतको भनाई छ । स्रोतले भन्यो, ‘पार्टीमा लामो समय संघर्ष गरेकाहरुको सम्मान नगरेर पैसा र पहुँचका आधारमा भाडामा उम्मेद्वार बनाउनु गलत भयो ।’

जनता समाजवादी पार्टीले नेपालगन्ज लगायत चार पालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । यद्यपी सत्ता गठबन्धन र एमाले–राप्रपाको गठबन्धन भएमा नेपालगन्जमा मेयरका आकांक्षीहरुबीच थप तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनमा तालमेलका विषयमा छलफल भइरहे पनि टुङ्गो भने लागिसकेको छैन ।

यद्दपि मेयर कांग्रेसले पाउने पक्काजस्तै छ । कांग्रेसले मेयर पाएमा सुरेशकुमार कनोडियालाई कांग्रेस केन्द्रले फेरि उम्मेद्वार बनाउन सक्ने चर्चा नेता कार्यकर्ता पंक्तिमा छ । एमाले–राप्रपाको गठबन्धनबाट मेयरमा पशुपतिदयाल मिश्र पक्का जस्तै देखिन्छन् । तर एमाले कार्यकर्ताले भने उनलाई रुचाएका छैनन् ।

कोहलपुरमा पनि एक दर्जन आकांक्षी

स्थानीय निर्वाचन नजिकिएसँगै कोहलपुरमा पनि मेयर बन्नेको दौडधुप बढेको छ । दलभित्रका नेता मात्र होइनन् स्वतन्त्र व्यक्ति पनि कोहलपुरको मेयर बन्न आकांक्षीका रुपमा देखिएका छन् । कोहलपुरको नेतृत्व आफ्नो पोल्टामा पार्न दलहरु मतदातालाई रिझाउन टोलटोलमा पुग्न थालेका छन् ।

कोहलपुरको मेयरमा नेपाली कांग्रेसबाट बलराम शर्मा, भानुभक्त भट्टराई, सञ्जुकुमारी चौधरी, चिन्तामणि धिताल, पूर्ण आचार्य र चक्र अधिकारी आकांक्षी छन् । भट्टराई गत स्थानीय निर्वाचनमा अहिलेका मेयर लुटबहादुर रावतसँग ८३ मतले पराजित भएका थिए । चौधरी हाल कोहलपुर नगरपालिकाकी उपमेयर हुन् ।

शर्मा नेपाली कांग्रेसभित्र अवसर नपाएको पाको नेताको रुपमा चिनिन्छन् । आचार्यले सबैको सहमति भएमात्र आफू मेयरमा उठ्ने बताउने गरेका छन् । धिताल र अधिकारी कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका व्यवसायी हुन् । अन्यले दाबी गरे पनि भट्टराई र शर्मामध्ये एकजनाले टिकट पाउने कांग्रेस नेताहरु बताउँछन् ।

नेकपा एमालेबाट कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुषाल र पूर्व नगर अध्यक्ष वसन्ती अधिकारी मुख्य आकांक्षी हुन् । अधिकारीले गत स्थानीय तह चुनावमा एमालेले उपमेयर लड्न आग्रह गरे पनि मानेकी थिइनन् । पहिलेदेखि नै उनी कोहलपुरको मेयरमा मात्र उठ्ने बताउँदै आएकी थिइन् ।

एमालेबाट हालका नगर अध्यक्ष भुषालसमेत मेयरको बलियो दाबेदार हुन् । एमाले विभाजनको बेला पनि कोहलपुरमा एमालेलाई एकढिक्का बनाएर लैजानेमा उनको ठूलो भूमिका रहेको बताइन्छ । गोपाल गिरी, कर्णबहादुर थापा, नरेन्द्र शर्मा, बलराम भट्टराई लगायत पनि मेयरका आंकाक्षी छन् ।

नेकपा (माओवादी केन्द्र) बाट मेयरका उम्मेदवार युवा नेता नरेन्द्र न्यौपाने पक्कापक्की जस्तै छन् । औपचारिक निर्णय नभए पनि माओवादीले न्यौपानेलाई मेयरका रुपमा अगाडि सारिसकेको छ । २०७४ सालको चुनावमा न्यौपाने तेस्रो स्थानमा थिए । चुनावमा पराजित भएपछि न्यौपानेले फेरि पनि मेयरमा उठ्ने भन्दै जनताको घरदैलोमा गइरहेका थिए ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्षसमेत रहेका उनी मेयरका उम्मेदवार पक्कापक्की भएको माओवादीका नेताहरु बताउँछन् । नेकपा एकीकृत समाजवादीले भने कोहलपुरमा गतिलो दाबेदारी दिन सकेको छैन । कुनै दलसँग गठबन्धन हुन नसकी निर्वाचनमा जानुपरे एकीकृत समाजवादीबाट नारायणी ओली र मञ्जु कोइराला आकांक्षी हुन् ।

उनीहरु सकेसम्म गठबन्धन भए उपमेयरका आकांक्षी छन् । ओली हाल कोहलपुर नगरपालिका नगर कार्यपालिका सदस्य हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कोहलपुर नगर अध्यक्ष अर्जुनजङ शाहले आकांक्षा देखाएका छन् । राप्रपाले अन्य कुनै दलसँग गठबन्धन नगरेर उम्मेदवार उठाउनु परेमा शाहलाई नै मेयरमा रुपमा अगाडि सार्नेछ ।

अन्य तीन दलको तुलनामा कोहलपुरमा राप्रपाको संगठन कमजोर भएकोले अन्य कसैले मेयरमा आकांक्षा देखाएका छैनन् । कोहलपुरमा व्यवसायीसमेत रहेका आकांक्षी शाह राप्रपा कोहलपुर नगर कमिटी अध्यक्ष हुन् । कोहलपुर नगरपालिकाको मेयरका लागि देवानन्द अर्यालले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

केही वर्षअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील रहेका उनले सबैभन्दा पहिला कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका हुन् । यस क्षेत्रका चर्चित होटल व्यवसायी रहेका अर्यालले घरदैलो समेत सुरु गरिसकेका छन् । २०४९, २०५४ र २०७४ सालमा भएको निर्वाचनमा कोहलपुर नेतृत्व नेकपा एमालेले गर्दै आएको थियो ।

नेकपा एमाले पहिलेदेखिकै आफ्नो वर्चस्व कायम राख्न रणनीतिकरुपमा लागेको छ । अन्य दल भने एमालेको हातबाट यसपालि कोहलपुर नगरपालिकाको नेतृत्व फुत्क्याउने दाउमा छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा एमालेका लुटबहादुर रावत झिनो मतले विजयी भएका थिए ।

उपमेयरमा कांग्रेसकी सञ्जुकुमारी चौधरी विजयी हुँदा एमालेका रावत कांग्रेसलाई ८३ मतले मात्र पछि पारेर मेयरमा बाजी मारे । त्यतिबेला मेयरमा कांग्रेसभित्रको अन्तरघातको फाइदा एमालेले उठायो । अहिले दल तथा कोहलपुरको परिस्थिति परिवर्तन भएको छ । कोहलपुरमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा विभाजन आएको छ । नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)बीच एकता भइसकेको छ । २०७४ सालको निर्वाचनमा एमालेका रावतले ९००७, कांग्रेसका भानुभक्त भट्टराईले ८९२४, माओवादीका नरेन्द्र न्यौपानेले ६२२१ मत र फोरमका फुलाराम थारुले २३०३ मत प्राप्त गरेका थिए ।

अघिल्लो चुनावको मत हेर्दा नेकपा एमालेलाई चुनाव जित्न निकै प्रयास गर्नुपर्ने देखिन्छ । गत निर्वाचनमा ८३ मत अन्तरले मात्रै पराजित भएकोले नेपाली कांग्रेस ढुक्कजस्तै देखिन्छ । कोहलपुरमा कांग्रेसको आधार राम्रै रहेको कांग्रेसको दावी छ । कोहलपुरमा बलियो पकड रहेको काँग्रेसले फोरम लोकतान्त्रिकसँगको एकतापछि थप बलियो भएको दावी गरेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुसँग कोहलपुरमा अहिले नै गठबन्धन हुने या नहुने भन्नेबारे टुङ्गो लागिसकेको छैन । सत्ता गठबन्धनमा रहेका सबै दलले माथिल्लो तहबाट आउने निर्देशन कुरिरहेका छन् । पाँच वर्षमा जनाधार फेरबदल भइसकेको बताउँदै आफूहरुको जित पक्का रहेको गत निर्वाचनमा तेस्रो भएको नेकपा माओवादी केन्द्रको दावी छ ।

गठबन्धन भएमा आफूहरुले मेयर पाउनुपर्ने माओवादीले माग राखेको छ । यद्यपी नेकपा माओवादीले कोहलपुरमा एक्लै चुनावमा जान तयार रहेको बताएको छ । कोहलपुरमा हुने गठबन्धनप्रति सकारात्मक हुने बताउँदै सहमति हुन नसके एक्लै चुनावमा जाने माओवादी केन्द्रको तयारी रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १०:०१