सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारसँग संवाद श्रृंखला

वडाध्यक्ष जनक भन्छन्, ‘आवश्यकता पहिचान गरेर विकास’

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ साविक फत्तेपुर गाउँ विकास समितिका वडा नम्बर ८ र ९ मिलेर बनेको हो । राप्तीसोनारी गाउँपालिका घरधुरी सर्भेक्षण, २०७५ अनुसार यस वडाको कुल जनसंख्या ९३२७ रहेको छ । वडा नम्बर ६ राप्तीसोनारीका ९ वटा वडामध्ये एक हो । यस वडामा चुनावपछि पूर्वाधार विकास, विद्युत विस्तार तथा अन्य पूर्वाधारका क्षेत्रमा धेरै विकास भएको छ ।

वडा नम्बर ६ को नेतृत्वले चुनाव भएपछि अहिलेसम्म वडाको मुहार नै फेरिएको दाबी गरेको छ । ७ किलोमिटर सडक निर्माण, कालोपत्रे, विद्युत विस्तारदेखि अन्य विषयगत क्षेत्रमा उल्लेखनीय काम भएको छ । निर्वाचनमा गरिएका प्रतिबद्धता, सोही अनुसार कत्तिको विकास भयो र अन्य के–के काम भए भन्ने विषयमा वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारुसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईँको दैनिकी कसरी बितिरहेको छ ?

मेरो दैनिकी जनताको सेवा मै बित्ने गरेको छ । दैनिक वडामा गएर जनतालाई सेवा दिनेदेखि वडाका विभिन्न कामका लागि गाउँपालिकामा जाने र विकास निर्माणका काममा सरिक हुने गरेको छु । यस्तै विभिन्न सामाजिक गतिविधिमा समेत सरिक हुने गरेको छु । जनताका गुनासा सुन्ने, समस्याको समाधान गर्ने गरेको छु । विगत झण्डै पाँच वर्षदेखि आफ्नो सम्पूर्ण जीवन समय जनताको लागि सुम्पिएको छु ।

वडाध्यक्षको उम्मेदवार बन्दा गरेका प्रतिबद्धता के–के थिए ?

मैलै वडाध्यक्षको लागि टिकट पाइसकेपछि चुनावमा होमिँदा जनता समक्षा केही प्रतिबद्धता गरेको थिए । मेरा चुनावी प्रतिबद्धताहरु पूर्वाधार विकास, वडामा विद्युत विस्तार, कृषिमा यान्त्रीकरण,निम्न वर्गका समुदायलाई शिक्षाको सहज पहुँच पु¥याउने लगायत थिए । यी एजेण्डा लिएर म चुनावमा होमिए । मेरा एजेण्डा मन पराएर जनताले मलाई जिताए । यो अवधिसम्म मै सोही अनुसार काम गर्ने प्रयास पनि गरे । मलाई लाग्छ मैले प्रतिबद्धता गरेका अधिकांश कुरा पुरा भएका छन् ।

अहिलेसम्म तपाईंका चुनावी प्रतिबद्धता कति पुरा भए ?

जसरी मैले चुनावमा जनताको पक्षमा काम गर्छु भनेर प्रतिबद्धता गरेको थिएँ । सोही अनुसार मैले काम गर्ने प्रयास पनि गरे । अहिलेसम्म ती प्रतिबद्धताहरुमध्ये धेरै काम सम्पन्न भएको छ । केही काम अझै गर्न बाँकी छ । अहिलेसम्म हामीले गरेका काम बारे शीर्षकगत रुपमा बताउन चाहन्छु ।

यातायात तथा पूर्वाधार

पहिलो पहिलो र मुख्य चुनावी एजेण्डा गाउँगाउँमा यातायातको विस्तार गर्ने थियो । यातायातको क्षेत्रमा धेरै नै विकास भएको छ । कुल पाँच किलोमिटर पीच गर्न गरेका छौँ । बाँकी ठाउँमा पीपीसी भएको छ भने अन्य धेरै ठाउँमा नयाँ ट्याक खोल्नेदेखि ग्राभेल गर्ने काम भएको छ । सम्पूर्ण सडक गरेर कुल साढे सात किलोमिटर सडक विस्तार भएको छ ।

सडक विस्तारसँगै एक गाउँ एक उत्पादन कार्यक्रम चालू छ । सबै ठाउँमा सडक विस्तार भएकोले काम गर्न सहज भएको छ । उत्पादन बजारीकरणमा समेत सहयोग पुगेको छ । यसबाट यहाँका जनता स्वरोजगार भएका छन् । सडक पुगेपछि धेरै कुरामा सहज भएको छ । विभिन्न स्थानमा पुल समेत निर्माण गरिएको छ । यस्तै सातवटा कल्भट निर्माण गरिएको छ ।

कृषि र पशुपालन

कृषि यहाँको प्रमुख पेशा हो । थारु बाहुल्य रहेको वडा नम्बर ६ कृषिमय छ । जिविकोपार्जनको स्रोत समेत कृषि हो । कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायिककरण गर्नको लागि कृषि क्षेत्र विकासमा जोड दिइएको छ । एक गाउँ एक उत्पादन पनि कृषि क्षेत्रसँग जोडिएको छ । वडा नम्बर ६ मा अहिले तरकारी, च्याउ उत्पादन बढेको छ ।

यहाँको सिधनवा गाउँलाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । त्यहाँ बाह्रै महिना तरकारी उत्पादन हुन्छ । खल्लाटपरीलाई बाख्रा उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । त्यहाँ बाख्रा विरतण गरिएको छ । बाख्राले पहिलो उत्पादन दिइसकेको छ । आउने वर्षदेखि किसानले आफ्नो उत्पादन बिक्री गर्ने सक्षम हुनेछन् । कमैयाडाँडामा लोकल कुखुरा र खसीको उत्पादन पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि लोकल कुखुरा र खसी वितरण गरिएको छ । अर्को वर्षबाट उत्पादन बिक्री सुरु हुनेछ ।

जनकबहादुर थारु, वडाध्यक्ष, वडा नं. ६, राप्तीसोनारी गाउँपालिका

स्वास्थ्य

स्वास्थ्य क्षेत्रको विकास मानव विकासको लागि अपरिहार्य हो । स्वास्थ्य क्षेत्रको विकासमा समेत वडाले ध्यान दिएको छ । स्वास्थ्य सुधारको लागि अनिवार्य स्वच्छ पानीको अवधारणा अनुसार काम भइरहेको छ । एक गैरसरकारी संस्था र वडा नम्बर ६ को संयुक्त लगानीमा फिल्टर जडान गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता विकास गरिएको छ । स्वास्थ्य संस्था निर्माण गर्ने काम सम्पन्न भएको छ ।

शिक्षा

सहज शिक्षा आर्जन गर्ने वातावरण, ड्रपआउटको समस्या समाधान गर्ने, विपन्नहरुलाई निःशुल्क शिक्षा र छात्रवृत्ति प्रदान गर्ने मेरो प्रतिबद्धता थियो । सोही अनुसार नै शिक्षा क्षेत्रको समेत विकासमा जोड दिइएको छ । शिक्षाको क्षेत्रको विकासमा भौतिक पूर्वाधार निर्माण पनि महत्वपूर्ण विकास हो ।

त्यसको लागि हामीले विभिन्न गाउँमा रहेका विद्यालयहरुको भौतिक संरचना निर्माण गरेका छौँ । हरेक वर्ष विपन्नहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गत वर्षमात्रै ३८ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । यो वर्ष पनि केहीदिनमा वितरणको तयारी भइरहेको छ । अनिवार्य, जाउ विद्यालय अभियान सञ्चालन गरेर ड्रप आउट रोक्ने र सचेतनामुलक कार्यक्रम भएका छन् ।

विद्युत

डाँडापुरुवा भन्ने गाउँमा विद्युत विस्तार भएको छ । कमैयाडाँडा लगायतका गाउँमा विद्युतको पहुँच पु¥याउन कालो तार जडान सम्पन्न भएको छ । भरैया गाउँमा समेत विद्युत विस्तार हुँदैछ । यो काम सम्पूर्णरुपमा वडाको बजेटबाट भएको हो । यो साढे चार वर्षको अवधिमा भएको महत्वपुर्ण विकास मध्ये विद्युत विस्तार पनि हो । हामी आउँदा केही पनि कुरा थिएन । हामी जाने बेलामा वडा नम्बर ६ झिलीमिली भएको छ ।

पर्यटन

पर्यटन क्षेत्रको विकासमा समेत हाम्रो त्यतिकै ध्यान गएको छ । वडा नम्बर ६ पर्यटकीय दृष्टिले सम्भावना बोकेको वडा हो । त्यसको विकासका लागि विस्तृत योजना निर्माण गरिएको छ । पर्यटन विकासको गुरुयोजना निर्माण भएको छ । यस्तै त्यसको विकासका लागि डिपीआरको चरणमा रहेको छ । डिपीआर सम्पन्न भयो भने पर्यटन विकासको प्याकेट सुरु हुनेछ ।

बाँके शहिद स्मृति भनेर हामीले दर्ताको प्रक्रियामा लिइसकेका छौँ । त्यसलाई पूर्णता दिदैछौँ । त्यसका लागि सात लाखको डिपिआर सम्पन्न भइसकेको छ । त्यसको लागि भवन समेत तयार भइसकेको अवस्था छ । यसैगरी पर्यटन सम्बन्धी गतिविधि सञ्चालन गर्न सभागृह समेत निर्माण गरिएको छ । यस्तै यो वडा थारु बाहुल्य क्षेत्र हो । यहाँको सांस्कृतिक पक्ष समेटिएको थारु संग्राहलय निर्माण गरी हल ढलानको चरणमा रहेको छ ।

साढे चार वर्षको अवधीमा स्थानीय तहमा काम गर्दा कस्तो अनुभव रह्यो ?

संघीयता शक्ति वीकेन्द्रीकरणको सिद्धान्त अनुसार लागू भएको हो । सोही अनुसार केन्द्रमा सीमित अधिकार गाउँमा आए । स्थानीय तह एक स्वायत्त सरकारका रुपमा रह्यो । गाउँको सिंहदरबार समेत भनिएको स्थानीय तह आउँदा प्रत्यक्ष रुपमा जनताले सेवा लिनेदेखि आफ्ना गुनासा राख्ने काम गरे । संघीयताको सबैभन्दा सबल पक्ष भनेको यही हो ।

हामी पहिलोपटक आएका कारण धेरै समस्या र चुनौती पनि भोग्यौँ । तर संघीयताको जग बसाउने काम हामीले ग¥यौं । यस अर्थमा हामी भाग्यमानी रहयौँ । अझै पनि स्थानीय सरकारबाट जनताको सोचे अनुसारको काम हुन सकेन । आगामी दिनमा जनमुखी रुपमा काम गर्ने खालका जनप्रतिनिधि आउनुपर्छ । समग्रमा मेरो अनुभव सुखद् नै रहयो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १६:२२