कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ ।
केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न निदेर्शन दिएको हो ।
पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न आग्रह गरेकोे थियो ।
चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले आज गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो ।
कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
विभिन्न जिल्लामा कांग्रेसको बैठक बसेर पाँच दलले गठबन्धन गर्ने निर्णय गरिरहेको अवस्थामा कतिपय ठाउँमा कांग्रेसले एक पक्षीय रूपमा उम्मेदवार घोषणा गर्न थालेको छ ।
जुन कार्यबाट गठबन्धनका अन्य दल शसंकित भएका थिए ।
सत्यपाटी । काठमाडौँ ।