सूचनाको शक्ति - The Power Of Information

        

निगमभित्रै विकृति

नेपाल एयरलाइन्सभित्रै कालोबजारी, नेपालगन्जमा चरम अनियमितता

फाइल तस्वीर

पर्यटनमन्त्री प्रेम आलेले पर्यटन क्षेत्रमा सुधारको प्रयास गरे पनि वर्षाैदेखि अवैध धन्दा चलाउँदै आएका कर्मचारीले उनलाई चुनौती दिएका छन् । पर्यटन मन्त्रालय अन्तरगतको नेपाल वायु सेवा निगमभित्र यत्रो विकृति अझै बढेको छ । निकम्मा व्यवस्थापनका कारण तीन दिनदेखि बैंककमा यात्रु अलपत्र परेका छन् ।

जहाजको एउटा टायर फेर्न तीन दिन लागेपछि यात्रुहरु बैंककमा अलपत्र परेका हुन् । गत शुक्रबार बैंककबाट उड्नुपर्ने आर ए ४०२ नम्बरको जहाज हिजो सोमबार मात्र उडेको थियो । यसबाट निगमलाई करोडौं नोक्सानी परेको छ । केन्द्रीय कार्यालयमात्र होइन क्षेत्रीय कार्यालयहरुमा पनि व्यापक अनियमितता रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

बिशेषगरी नेपालगन्जस्थित क्षेत्रीय कार्यालय अनियमितता चरम अवस्थामा पुगेको छ । नेपालगन्जबाट दुर्गम क्षेत्रको उडानको टिकट वायुसेवा निगमकै कर्मचारीले कालोबजारी गर्दै आएको आरोप स्थानीयले लगाएका छन् । यसमा कार्यालय प्रमुख किरणमान श्रेष्ठकै मिलेमतो रहेको स्रोत बताउँछ । उनले चलखेलका आधारमा कतिपय व्यक्तिहरुलाई बिना टिकटसमेत उडाउने गरेका छन् ।

त्यही विषयमा गत शुक्रबार विवाद हुँदा उनी नेपाल प्रहरीका असइ नवराज बमबाट कुटिएका थिए । बोर्डिङ पास बिना नै एक व्यक्तिलाई विमानमा जान दिइएकोमा असइले रोकेपछि विवाद भएको थियो । त्यही क्रममा श्रेष्ठ असइबाट कुटिएका हुन् । टिकटको विषयलाई लिएर सधैंजसो नेपाल वायुसेवा निगमको नेपालगन्ज कार्यालयमा विवाद हुने गरेको छ ।

लुकाएर टिकट बिक्री गर्ने, चर्काे मुल्य लिने गरेका कारण विवाद हुने गरेको हो । नेपाल एयरलाइन्सले नियमित उडान तालिका पनि प्रकाशन गर्ने गरेको छैन । जसबाट निजी एयरलाइन्सहरुलाई फाइदा पुगेको छ । निजी एयरलाइन्ससँगकै साँठगाँठमा नेपालगन्ज डोल्पा उडान पनि सञ्चालन नगरिएको स्रोत बताउँछ ।

नेपाल एयरलाइन्सभित्रको यस्तो विकृतीबारे एक स्थानीयले गुनासो गर्दा कार्यालय प्रमुख श्रेष्ठले उल्टो गाली गर्दै आफुलाई कसैले केही गर्न नसक्ने बताएका छन् । क्षेत्रीय कार्यालयमा अन्य आर्थिक अनियमितता समेत व्यापक छ । क्षेत्रीय कार्यालय सञ्चालनका लागि आएको बजेट समेत लेखापालसँग मिलेर हिनामिना गर्दै आएका छन् ।

श्रेष्ठले वायु सेवाको घरलाई समेत आफु निकट व्यक्तिहरुलाई सस्तोमा भाडामा लगाएका छन् । श्रेष्ठ २९ वर्षदेखि नेपालगन्ज कार्यालयमै कार्यरत छन् । उनकै कारण नेपालगन्जबाट दुर्गम जाने यात्रुहरुले सधैं समस्या भोग्दै आएका छन् । टिकट लुकाएर सधैं महंगोमा बिक्रि हुने गरेको स्थानीयको आरोप छ । उनीबाट आजित भएका स्थानीयले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०८:३९