एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको र त्यसलाई वैधानितकता दिएको विरुद्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेसी २७ गतेका लागि तोकिएको छ ।
नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन ।
न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ ।
‘प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ,’ आदेशमा भनिएको छ ।
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको निवेदनलाई इजलासले अस्वीकार गरेको थियो ।
सत्यपाटी । काठमाडौँ ।