सूचनाको शक्ति - The Power Of Information

        

अस्थायी शिक्षक परीक्षा स्थगित, आन्तरिक र खुला विज्ञापन सँगसँगै


काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनसंगै अस्थायी शिक्षक ब्यवस्थापनका लागि तोकिएको परीक्षा स्थगित भएको छ । पटकपटक मिति तोकिएर पनि स्थगित हुँदै आएको परीक्षा यसपटक ८ दिन बाँकी रहँदा स्थगित भएको छ । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको एक समूह र विद्यार्थी सँगठनहरुको समर्थनमा एक समूह अनसनमा थियो ।
परीक्षाको विरोधमा आफ्नै भातृ संगठन उत्रिएपछि प्रधानमन्त्रीललाई परीक्षा स्थगित गर्न दवाव परेको थियो । ओलीले बुधबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र अर्थ मन्त्री युवराज खतिवडा सहित आयोगका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा ऐनको आठौं संशोधन, पुरै खुल्ला विज्ञापन कि नवौं अनुसार अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
आफ्ना पालामा खुला विज्ञापन गर्न सके रोजगारी सृजना हुने र सकारात्मक शन्देश प्रवाह हुने निष्कर्षसंगै ओलीले खुला विज्ञापन गरेर अघि बढ्न शिक्षामन्त्रीलाई निर्देशन दिएको श्रोतले जनाएको छ । उक्त निर्देशनपछि मन्त्री पोखरेलले परीक्षा स्थगित गर्ने निर्णय गरेका श्रोतले जनाएको छ । परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयले बिहीबारै गरेको मन्त्री स्तरीय निर्णयको पत्र प्राप्त भएसँगै परीक्षा हुन ८ दिन बाँकी रहँदा आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आन्तरिक प्रतियोगिताबाट मात्रै शिक्षकको सबै रिक्त पदहरु पूर्ति हुन नसक्ने भएकोले आन्तरिक र खुल्ला विज्ञापन सँगसँगै गर्न भन्दै शिक्षा मन्त्रालयले पत्र पठाएको थियो । ‘आन्तरिक र खुल्ला विज्ञनपन सँगसँगै गरी शिक्षक पदपूर्तिलाई ब्यवस्थापन गर्दा उपयुक्त हुने’ शिक्षा मन्त्रालयको पत्रपछि आयोगले सूचना निकालेर परीक्षा स्थगित भएको सार्वजनिक गरेको छ ।
यस अघि आयोगले परीक्षाको सबै तयारी भएको जनाएको थियो । परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको पत्र प्राप्त भएसँगै स्थगित गर्ने निर्णय गरेको आयोगका अध्यक्ष ताना गौतमले बताए । ‘हामी त परीक्षा गर्ने निकाय हौं, गर भने गर्ने हो नगर भने नगर्ने हो,’ गौतमले भने, ‘तर यसपटक खुला पनि सँगै गर्ने भनिएकोले सकारात्मक अपेक्षा गरेका छौं ।’

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १०:०५