सूचनाको शक्ति - The Power Of Information

        

अपराध

शिक्षकबाट फेरि नाबालिक बलात्कार, ५२ हजारमा गर्भपतन

सांकेतिक तस्वीर

शिक्षा दिने कतिपय शिक्षक नै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादा विपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ ।

उक्त बलात्कार सम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोग पत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ ।

समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग । भुसालले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।

ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले संवेदनशील अंग चलाउने लगायतका हर्कत गर्न थाले । अन्ततः इच्छाविपरीत दुईचोटी बलात्कार गरे । बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोग पत्रमा उल्लेख छ ।

शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक बलात्कार गरेको ती विद्यार्थीले आरोप लगाएकी छिन् । भुसालले बलात्कार गर्दा नै गर्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।

प्रतिवादी भुसालले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘सल्लाह अनुसार यौन सम्पर्क राखिएको हो ।’ कानुन अनुसार इच्छा विपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौनसम्पर्क राखे बलात्कार मानिन्छ ।

ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौन सम्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध बलात्कार सम्बन्धी मुद्दा अदालतमा अभियोजन गरेको हो ।

वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।

वकिल कार्यालयले भुसालविरुद्ध बलात्कार सम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतन सम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ । न्युज कारखाना

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १३:२३