सूचनाको शक्ति - The Power Of Information

        

व्यक्ति विशेष

जनताका सेवक ‘कमरुद्दिन’, सुखदुःखका ‘सारथी’

‘निर्वाचनलगत्तै अरु आराम गर्न थाले, आफ्नो ब्यापार ब्यवसायमा फर्किए । जितेकाहरु एसीसहित सुविधा सम्पन्न कार्यालयमा बस्न थाले, तर जनताको मतले मलाई आरामसँग बस्न दिएन र म जनताको घरदैलोमा गइरहेँ ।’

जनता समाजवादी पार्टी (जसपा) बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राई जनताको पिरमर्का बुझ्न दैनिकजसो नेपालगन्जका गल्ली–गल्ली पुग्छन् । गरीब र असहायको दुखमा मल्हम लगाउँछन् । सुखमा साथ दिएर खुसीयाली बाँड्छन् ।

आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय भर्ना गर्न सघाउँछन् । खान नपाएर भोकाएकाहरुलाई खाद्यन्न दिएर भान्सामा आगो बाल्ने वातावरण मिलाउँछन् । गरीब र असहायको दुखमा मल्हम लगाउन पाउँदा उनमा खुसीको सीमा रहन्न ।

आफूसँग भएको चिजबस्तु गरिव, दुखीलाई दिन पाउँदा आनन्द लाग्ने गरेको उनले बताए । ‘आफूसँग भएको चिजबस्तु मैले दिए पनि लिनेले लिएको महशुस नगर्ने गरि दिन्छु,’ उनले भने, ‘धर्मले दिएको र लिएको महशुस नहुने गरि लिनु–दिनुपर्छ भन्छ ।’

उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको मेयर पदमा प्रतिष्पर्धा गरे । निर्वाचनमा उनी चौथो भए । भर्खरै स्थापना भएको पार्टी भएकोले उनी र उनको पार्टीले संगठन विस्तार गर्न सकेको थिएन । तैपनि उनले पाँच हजार ४४२ मत ल्याए । मत परिणामलाई लिएर उनी निरास भएनन् ।

नेपालगन्जका मतदाताले दिएको मतले मलाई काम गर्ने हौसला र उर्जा थप्यो,’ उनले भने, ‘निर्वाचनलगत्तै अरु आराम गर्न थाले, आफ्नो ब्यापार ब्यवसायमा फर्किए । जितेकाहरु एसीसहित सुविधा सम्पन्न कार्यालयमा बस्न थाले, तर जनताको मतले मलाई आरामसँग बस्न दिएन र म जनताको घरदैलोमा गइरहेँ ।’

उनले आफूलाई नेताभन्दा जनताको सेवक भन्न रुचाउँछन् । राजनीतिलाई सेवाभावको रुपमा बुझेका उनले नेताभन्दा रिसाउँछन् । र, जनताको सेवकभन्दा खुसी हुन्छन् । ‘म जनताको नेता होइन सेवक हुँ, नेताभन्दा मलाई नमजा लाग्छ, तर जनताको सेवकभन्दा हर्षले मन विभोर हुन्छ,’ उनले भने ।

कोरोनाको पहिलो र दोस्रो लहरका बेला अधिकांश नेता, कार्यकर्ता ज्यान जोगाउन घरमै बसे । जनताको ज्यानभन्दा आफ्नो ज्यान ठूलो सम्झे । जनताले के खाइरहेका छन् र कसरी दैनिकी चलाइरहेका छन् भन्ने खोजेनन्, तर कमरुद्दिन राईको मनले घरमा बस्न मानेन । उनी हरेक दिन बाहिर निस्केर जनताको घरदैलोमा पुग्थे । जनतासँग तितामिठा कुरा गर्थे ।

समस्यामा परेका जनतालाई आवश्यकता अनुसारको सामान दिन्थे । ‘मैले नेपालगन्जका मात्र नभई लकडाउनले घर जान नपाएका झण्डै दुई हजार विद्यार्थीलाई खाद्यान्न दिएँ,’ उनले भने, ‘अध्ययनका लागि बाहिरबाट आएकाहरुको पीडा सहन सकेन ।’ उनी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा फेरि पनि नेपालगन्जको मेयरमा उम्मेदवार दिने पक्का छ ।

पार्टीले उनलाई नै मेयरको उम्मेदवार बनाउने घोषणा चार बर्षअघि नै गरिसकेको उनले बताए । मेयरमा प्रतिष्पर्धा गर्न उनले चार बर्ष अघिदेखि नै तयारी गरेका छन् । त्यसका लागि योजना पनि बनाएको उनले बताए । युद्धमा जानुभन्दा अघि नै आवश्यक बन्दोबस्तीका सामानको जोहो गरेझैँ उनले पनि निर्वाचनको मैदानमा जाने तयारी गरिसकेका छन् ।

‘निर्वाचनको मैदानमा उत्रिन मैले सबै तयारी गरिसकेको छु,’ उनले भने, ‘विपक्षीको शक्तिलाई आँकलन गरि सोहि अनुसारको तयारीमा छु । विपक्षीलाई कमजोर ठान्नुहुन्न, सोही अनुसारको बन्दोबस्त मिलाएको छु । निर्वाचन जित्नेमा म ढुक्क छु ।’ उनले मेयरमा जित्ने आधारसमेत तय गरिसकेका छन् ।

गत निर्वाचनमा संघीय समाजबादी फोरम र नयाँ शक्ति वीच एकीकरण नभएको अवस्था थियो । त्यसले पार्टीको संगठन नेपालगन्जमा कमजोर थियो । ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा संघीय समाजबादी फोरमलाई मधेसीको पार्टी भन्ने आरोप थियो, नयाँ शक्तिसँग एकीकरण भएपछि हाम्रो पार्टीमा मधेसी, मुस्लिम, पहाडी, हिन्दू सवैको साझा पार्टी भएको छ, सवैको साथ छ,’ उनले भने ।

गत निर्वाचनको तुलनामा पार्टी संगठन बलियो भएको उनको ठम्याई छ । उनले गत निर्वाचनमा थोरै मतले पराजित भएका राप्रपाका वडाध्यक्षका उम्मेदवारहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेकोले आफूलाई चुनाव जित्न सहज हुने बताए । ‘वडा अध्यक्षमा झिनो मतले पराजित भएका उम्मेदवार हाम्रो पार्टीमा प्रवेश गरेकोले हामीले जित्ने निश्चित छ,’ उनले भने ।

जनता समाजवादी पार्टीका संघीय सांसद इस्तियाक राईले नेपालगन्ज क्षेत्रमा धेरै राम्रो काम गरेकोले जनताले जनता समाजबादीको कामप्रति सन्तुष्ट भएको उनले बताए । ‘पूर्वमन्त्री राईजीको कामले पनि हाम्रो पार्टीलाई उचाइँमा पुर्याएको छ । यसको फाइदा मेयरको उम्मेदवारलाई पुग्ने छ,’ उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ०७:५८