प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदैछन् । उनलाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा.एस जयशंकरले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट आइतबार साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनेछन् ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवाले शुक्रबार साँझ नेपाली राजदूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवालाई भारतीय सेनाले गार्ड अफ अनर दिनेछ ।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले देउवाको स्वागत गर्ने कार्यक्रम रहेको भारतीय विदेशमन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा शनिबारै राज घाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसैदिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री डा एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतले भेटवार्ता गर्ने कार्यतालिका छ ।
शनिबार नै भारतीय प्रधानमन्त्री मोदी र देउवाबीच हैदराबाद हाउसमा औपचारिक वार्ता हुनेछ । वार्ताअघि दुबै मुलुकका प्रतिनिधिमण्डल स्तरीय छलफल हुनेछ ।
छलफलपछि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन हुनेछ । त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
शनिबार नै नेपालबाट गएको नीजि क्षेत्रका उद्योगी व्यवसायी र भारतीय व्यवसायीबीच नेपालमा लगानी र अवसरको बिषयमा प्रधानमन्त्रीले छलफल गर्नेछन् । छलफलपछि देउवा देउवा आइतबार बिहान उत्तरप्रदेशको वाराणसी पुग्ने कार्यक्रम छ ।
त्यहाँ देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार बिहान काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरेर दिल्ली फर्किने र दिल्लीबाट काठमाडौं आउने कार्यक्रम छ ।
सत्यपाटी । काठमाडौं ।