सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीसँग बाँकेवासीको आग्रह

‘प्रधानमन्त्रीको भारत भ्रमणमा बाढी र डुबान समस्या समाधान होस्’

फाइल तस्वीर

भारतले सिमानामा निर्माण गरेको बाँध र अग्लो सीमा सडकका कारण बाँकेमा भइरहेको डुबान र कटानको समस्यालाई भारतीय सरकार समक्ष उठाउन प्रधानमन्त्रीसँग बाँकेवासीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यही चैत १८ गतेदेखि हुने भारत भ्रमणमा बाँकेको डुबान, कटान र बाढीको समस्यालाई समाधान गर्ने विषयलाई पनि भ्रमणको कार्यसूची बनाउन लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समिति र सो क्षेत्रका पीडितहरूले आग्रह गरेका हुन् ।

भारतले सिमानामा बनाएको लक्ष्मणपुर बाँध र अग्लो सडकका कारण राप्ती नदीमा बर्सेनि आउने बाढीले बाँकेको सयौँ बिघा जग्गा डुबानमा पर्ने तथा नदी कटान हुनुका साथै ठूलो परिमाणमा जनधनको क्षति हुँदै आएको छ ।

भारतले एकपक्षीय रूपमा लक्ष्मणपुर बाँध निर्माण गर्नुका साथै सिमानामा ५ देखि ७ मिटर अग्लो ५१ किलोमिटर सीमा सडक निर्माण गरेकाले पानीको निकास थुनिएर नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकाका धेरै गाउँ डुबान र कटानमा पर्दै आएका छन् ।

समस्या समाधानका लागि भारत सरकारलाई दबाब दिन लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले आग्रह गरे । उनले बाँके लगायत अन्य जिल्लाका सिमामा समेत रहेका डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने बताए ।

सीमा सडकको ठाउँठाउँमा पानीको निकासका लागि पुल निर्माण गराउने र राप्ती नदीमा दक्षिणतर्फ भारतले पक्की तटबन्ध निर्माण गर्नुपर्ने माग भारत भ्रमणमा प्रधानमन्त्रीले उठाउनुपर्ने अध्यक्ष सिंहले बताए ।

भारतीय बाँध र अग्लो सडकका कारण सिमाना वारिका पाँच हजार परिवारका करिब २० हजार नेपाली विस्थापित भएकाले उनीहरूलाई उचित क्षतिपूर्तिको समेत भारतले व्यवस्था गर्नुपर्ने लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिको अडान छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले यस्ता समस्याबारे प्रधानमन्त्रीले भारतीय समकक्षीसमक्ष समाधानको पहल खोज्न प्रस्ताव राख्नुपर्ने सुझाव पनि दिए ।

भारतले राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध निर्माणसँगै अग्लो सडकको ठाउँठाउँमा पानीको निकासको पर्याप्त व्यवस्था मिलाउनुपर्ने कुरालाई प्रधानमन्त्री देउवाले भारतीय सरकार समक्ष राख्नुपर्ने उनले बताए ।

कहिले पनि डुबान नभएको नरैनापुरका धेरै ठाउँ भारतीय बाँध र अग्लो सडककै कारण बाढी आउने र डुबान हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

उनका अनुसार, वर्षामा पानीको निकास रोक्ने गरी बनाइएको सीमा सडकका कारण वर्षायाममा धेरै नेपाली भूमि डुबानमा पर्दै आएकाले समस्याको स्थायी समाधानका लागि भारत सरकारलाई दबाब दिनु आवश्यक छ ।

यसअघि पनि पूर्वप्रधानमन्त्रीहरू सुशील कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली लगायतले भारत भ्रमण गरेका बेलासमेत सो समस्या समाधानका लागि आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिको छ ।

राप्ती नदीमा दुवैतर्फ पक्की तटबन्ध र सीमा सडकमा ठाउँठाउँमा पानी निकासका लागि ठूला नाला बनाई पुल निर्माण गर्नुपर्ने पीडितहरूको माग छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १२:०३