सूचनाको शक्ति - The Power Of Information

        

नेपालले मलेसियालाई ६ विकेटले हरायाे

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे छ ।

मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र राेहत पाैडेलले १२ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए । यस्तै माेहम्मद अमिर र सइद अजिजले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायाे । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । यस्तै अविनाश बाेहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

नेपालले तेस्रो खेलमा भोलि पीएनजी र चाैथाे खेलमा आउँदाे शनिवार मलेसियासँग फेरि खेल्नेछ । दुईमा दुई जितसहित नेपाल अङ्क तालिकाकाे शीर्ष स्थानमा छ ।

शीर्ष दुई टाेली फाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदाे साेमवार हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १७:४५