रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ ।
टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी युक्रेन र उत्तरी शहर चर्नीभमा आक्रमण घटाउने बताएको हो । तर कुन मात्रामा र कसरी आक्रमण घटाउने हो भन्ने चाहीँ अझै अस्पष्ट नै छ ।
युक्रेनी राजधानी घेरा हालेर बसेको रुसी सेनाले पटक पटक युक्रेनी सेनाबाट धक्का पनि खाँदै आएको छ भने रुसी सेनाले किभबाट रुसी सिमा जोडिने दक्षिणी भू–भागमा कब्जा जमाउने उद्देश्य राखेको विश्लेषण गर्ने गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसी भनाइमा विश्वास गरिहाल्ने अवस्था नरहेको बताउनु भएको छ ।
उता, अमेरिकाले पनि रुसको घोषणा अनुसार रुसी सेना तत्काल किभको सिमाबाट हट्ने संकेत नदेखिएको भन्दै थप सतर्क रहन युक्रेनी सेनालाई सल्लाह दिएको छ ।
यता, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसले फरक रणनीति अपनाउन सक्ने भन्दै आक्रमण रोकिएको यथेष्ट प्रमाण नदेखिएसम्म विश्वास गर्न नहुने बताउनुभएको छ ।
यसैबीच, चार वटा युरोपेली देशहरुले रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने बताएका छन् । आयरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड र चेक रिपब्लिकले रुसी कूटनीतिज्ञहरु गुप्तचरीमा सक्रिय रहेको आरोप लगाउँदै उनीहरुलाई देश निकाला गर्ने बताएका हुन ।
सत्यपाटी । काठमाडौँ ।