काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् ।
तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उहाँले बताउनुभयो । काठमाण्डौमा धुवाँ र धुलो थुप्रिएकाले प्रदूषण बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै पनि देखिएको छ । स्थानीय वायुको प्रभावका कारण देशको केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि त्यतिले मात्रै धुलो र धुवाँ नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच मौसम धुम्म हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएका छन् । कम भिजिविलिटी भएका कारण विमानस्थलको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फका दर्जनौँ उडान ढिला भएका छन् भने केही रद्द भएका छन् । भिजिविलिटी कम हुँदा हिजो साेमवार पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए ।
सत्यपाटी । काठमाडौँ ।