सूचनाको शक्ति - The Power Of Information

        

आलेख

‘ज्यानमारा टिपर’

नेपालगन्जमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

मासिकरुपमा असुली हुन थालेपछि अहिले ट्राफिक प्रहरीले दोडिरहेको टिपरलाई रोक्ने त के, हेर्नेसम्मको आँट पनि गर्दैन ।

नेपालगन्ज उपमहानगरपालिका–२० को राँझाचोकमा टिपरको ठक्करबाट आज मंगलबार बिहान एक जनाको मृत्यु भयो । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले ठक्कर दिँदा हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहेका ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्ज भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । घटनापछि मृतक पक्षले विरोध प्रदर्शन गरिरहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समयमा बाँकेमा ‘ज्यानमारा टिपर’ आतंक मौलाइरहेको छ । टिपरको ठक्करबाट मृत्यु भएका घटना दुर्लभ वा एकमात्र छैनन् । कैयौं घटना छन्, जहाँ सर्वसाधारणले टिपरको ठक्करबाट ज्यान गुमाइरहेका छन् । टिपरको ठक्करपछि प्रायजसो सबैले ज्यान गुमाउँछन्, त्यो पनि घटनास्थलमै ।

टिपरको कारण किन सर्वसाधारणले ज्यान गुमाइरहेका छन् त ? त्यसमा एउटा मात्र कारण छैन । यसमा चालकको लापरबाही, कमजोर कानुन, प्राविधिक जटिलता जोडिएर आउँछ । अझ ट्राफिक प्रहरीको लापरबाहीको हद पनि यसैमा जोडिन्छ । बाँकेमा मासिक लाइन पाएपछि ट्राफिक प्रहरीले निर्वाध हुँइकिन दिएको छ ।

ट्राफिक प्रहरीका ‘हाकिम’को आदेशले ड्यूटीमा खटिएका ट्राफिक प्रहरी रमिते बन्नुको विकल्प छैन । ट्राफिक प्रहरी असुलीतिर केन्द्रीत भएपछि टिपर आतंकमा डरलाग्दो छ । ट्राफिक नियम पालना गराउने निकाय नै सेटिङ्ग मिलाएर ‘हाइसन्चो’ गरेर बसको छ । ट्राफिक प्रहरीका चेकपोष्ट हुँदै आउजाउ गर्ने टिपरको स्पीड एकदमै तीव्र हुन्छ ।

साँझ परेपछि मापसे चेकजाँचका नाममा ‘असुलीको पासो’ थापेर बस्ने ट्राफिक प्रहरी टिपरलाई निर्वाध दौड्न दिएको छ । कारणबस टिपरले सवारी र मान्छेलाई छोयो भने उनीहरु अचार बन्ने निश्चित छ । त्यसरी स्पीडमा कुदाउने टिपर चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले छड्के चेकजाँचसम्म नगर्नुले गज्जबको सेटिङ्ग छ भन्ने पुष्टि हुन्छ ।

अझ भन्नुपर्दा टिपरसँग गज्जवको सेटिङ्ग मिलाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय मस्त निदाइरहेको छ । ट्राफिक प्रहरीका हाकिम सा’ब नागरिकको जीउ ज्यानमाथि खेलबाड गर्दै दुर्घटना कम गराउन र जनताको बाँच्ने अधिकार सुरक्षाका लागि बनेको कानुन कार्यान्वयनको साटो टिपरसँग घाँटी जोडेर कमाउनमै ब्यस्त छन् ।

न उनीहरुको गति नियण्त्रणका लागि प्रयास भएको पाइन्छ न त क्षमताभन्दा बढि बोक्ने टिपरहरुलाई कार्वाही गरेको पाइन्छ । बाँकेमा टिपर साम्राज्य चलेकोजस्तै देखिन्छ । होइन भने बाँकेमा मुख्य शहरी क्षेत्रमा टिपरहरु सडकमा द्रुत गतिमा हुइँकिदा, क्षमताभन्दा बढी निर्माण सामाग्री बोकेर कुदाउँदा किन कार्वाही हुँदैन ? ज्यादती रोकिनुपर्दैन ?

ट्राफिक प्रहरीकै कारण टिपर चालकको आत्मबल उच्च छ । उनीहरुलाई कसले रोक्ने ? नियमन गर्ने निकाय नै कमिसनमा अल्झिएर मस्त निन्द्रामा पुगेपछि त टिपर चालकलाई ‘ढुङ्गा खोज्दा देउता’ भेटेजस्तै भएको छ । किनकी, बाँकेमा ट्राफिक प्रहरीका उपल्लो दर्जाका केही अधिकृतहरुलाई नागरिकको जीउ ज्यानको कुनै मतलब नै छैन ।

ट्राफिक प्रहरीकै सेटिङ्गमा बाँकेमा नदीजन्य पदार्थको दोहन उत्कर्षमा पुगेको छ । खोलाहरुमा ठेक्का लागिसकेको छैन । तर, प्रति १० मिनेटमा ३ देखि ५ वटा टिपर नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । मापसे चेकजाँचका नाममा साना सवारीलाई दुख दिने ट्राफिक प्रहरी टिपरलाई रोक्नेसम्म आँट गर्दैन ।

बाँकेमा सबैभन्दा धेरै राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । ट्राफिक प्रहरीले लाइन दिएपछि उनीहरु निर्धक्क अवैध नदीजन्य पदार्थ खुलेआम बेचिरहेका छन् । बाँकेको कम्दी, समशेरगन्ज, चिसापान र सम्झना क्षेत्रबाट ट्राफिक प्रहरीका पोष्टलाई मात दिँदै टिपरहरु अवैध नदीजन्य पदार्थ बोकेर हुइँकिरहेका हुन्छन् ।

टिपर आतंकलाई रोक्नुको साटो सम्शेरगन्ज, गनापुर, कम्दी, चिसापानी र सम्झना नाकाबाट नेतृत्व गरिरहेका ट्राफिक प्रहरीका अधिकृतहरुले टिपरलाई लाइन दिएर नदीजन्य पदार्थको अवैध दोहनलाई बैधानिकता दिइरहेका छन् । मासिकरुपमा असुली हुन थालेपछि अहिले ट्राफिक प्रहरीले दोडिरहेको टिपरलाई रोक्ने त के, हेर्नेसम्मको आँट पनि गर्दैन ।

लाइन पाएपछि ट्राफिक प्रहरीकै आडमा टिपरको ज्यादती बढ्दो छ । साघुरो सडकमा उनीहरुको गति र क्षमताभन्दा बढि अर्थात् डालाभन्दा माथिसम्म निर्माण सामाग्री बोक्दा पनि ड्युटीमा रहेका ट्राफिक प्रहरी रमिते बनेर हेरेको पाइन्छ । जसका कारण टिपरहरुको आतंक दिनप्रति दिन बढ्दो छ ।

न उनीहरुको गति नियण्त्रणका लागि प्रयास भएको पाइन्छ न त क्षमताभन्दा बढि बोक्ने टिपरहरहरुलाई कार्वाही गरेको पाइन्छ । यसले बाँकेमा टिपर साम्राज्य चलेकोजस्तै देखिन्छ । होइन भने बाँकेमा मुख्य शहरी क्षेत्रमा टिपरहरु सडकमा द्रुत गतिमा हुइँकिदा, क्षमताभन्दा बढी निर्माण सामाग्री बोकेर कुदाउँदा किन कार्वाही हुँदैन ? ज्यादती रोकिनुपर्दैन ?

यातायात व्यवस्था विभागले ६ चक्के टिपर (ठुलो)का लागि ७.५ र १० चक्के टिपरका लागि १२ घनमिटर आयतन भएको ढाला राख्न पाउने मापदण्ड कायम गरे पनि टिपर सञ्चालकले मापदण्डभन्दा बढी ६ चक्केमा ९ घनमिटर र १० चक्के टिपरमा १७ घनमिटरसम्म आयतनको ढाला थपेर टिपर सञ्चालन गर्दै आएका छन् । यसको अनुगमन खोइ ?

टिपरहरुका लागि टाइम कार्ड लागु गर्नुपर्ने, निश्चित गति कायम गरेर त्योभन्दा बढि कुदाएमा कार्वाही शुरु गर्ने, निर्माण सामाग्री क्षमताभन्दा बढि बोक्न नदिने र राम्ररी छोपेर मात्र ओसापसार गर्न दिने, ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरीकै सेटिङ्गमा लागेपछि नियमन, अनुगमन र कारबाही कसले गर्ने ?

टिपर आफैमा बलियो गाडी हो । यसमा खासगरी कन्ट्रक्सनको सामाग्री ढुवानी गरिन्छ । गिटी, बालुवा बोकाउने काममा टिपर प्रयोग हुन्छ । टिपर बलियो भएकै कारण दुर्घटनामा यसमाथि क्षति पुग्ने सम्भावना कम हुन्छ । यही सुक्ष्म मनोविज्ञान बोकेर चलाउने चालकले सडकमा दौडिरहेका बाइक, कार, स्कुटर, साइकल र पैदल यात्रीलाई ठक्कर दिने गरेको छ ।

यसरी ठक्कर दिनुमा चालकको असंवेदनशीलता र लापरवाही कम छैन । अधवैंशे उमेरका टिपर चालकहरु खुला बगरमा टिपर हाँकेको अनुभवको आधारमा चालक बनेका हुन्छन् । उनीहरुलाई अनुशासित ड्राइभिङ्गको ज्ञान नहुने मात्र होइन, अनुभव पनि हुँदैन । उरेन्ठेउला उमेर भएकाले उनीहरु तातो जोशका साथ गाडी हाँक्छन्, अनियन्त्रित गतिमा ।

टिपरको चालक सिटमा बसेपछि उनीहरुमा एक किसिमको दम्भ पनि पैदा हुन्छ । उनीहरु आफुलाई अरुभन्दा सुरक्षित र भयांकर ठान्छन् । यही मानसिकताले पनि अरुलाई पेलेर कुदाउन उद्दत रहन्छन् । चालक सिटमा बसेपछि उनीहरु बेपत्तासँग गाडी हाँक्छन् । अल्लारे वयका यी चालकहरुले गाडीभित्रै चर्को ध्वनिमा गीत पनि घन्काइरहेको हुन्छ ।

उनीहरुमा लेन अनुशासन, ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सामान्य विवेक पनि छैन । टिपर यमराज बन्नुमा चालकसँग जोडिने प्राविधिक समस्या पनि छ । गिटी, बालुवा तथा ढुंगा बोकेका ट्रिपरलाई प्लाष्टिकले ढाकिएको हुन्छ, यसले देखिने सडकको भाग साँघुरो बनाउँछ । ‘एरिया भिजिवल स्पेस’ कम हुँदा सडक दुर्घटना हुने गरेको छ ।

टिपरको बनावटका कारण नजिकै च्यापिएर आएका साना सवारीसाधन देखिँदैनन् । धेरैजसो टिपरले त फ्रन्ट ग्लासको तल र माथि विभिन्न किसिमका स्टिकर प्रयोग गरेका हुन्छन् । कानुनी कमजोरीले पनि टिपर चालकलाई मान्छे मार्न उक्साइदिएको छ । टिपरले कुल्चिएर कोही घाइते भएमा उनीहरुको उपचार गर्नुपर्ने हुन्छ ।

उपचार खर्च अनिश्चित हुन्छ । जबकी घाइतेको उपचार खर्च व्यहोर्नुभन्दा ज्यान हरण गरेर त्यसको जरिवाना र सजाय भुक्तान गर्न सजिलो छ । त्यसैले टिपर चालकले गाडी ब्याक गरेर भए पनि घाइतेको ज्यान लिने गरेका छन् । तर, ‘ज्यानमारा टिपर’लाई ट्राफिक प्रहरीको भरपुर संरक्षण रहेकाले पनि चालकहरुमा दम्भ पैदा भएको छ ।

किन डरलाग्दो हुन्छ टिपर ?

त्यसो त टिपर मुख्य सडकमा गुड्ने साधन होइन । निर्माणस्थलमा सामग्री ढुवानीका लागि मात्रै यसको प्रयोग हुनुपर्ने हो, तर उपत्यकासहित नेपालमा भने मुख्य राजमार्गकै टिपर गुडिरहेको हुन्छ । टिपरको सबैजसो भागमा फलाम हुन्छ । टिपरको उचाइ बढी हुन्छ । भिजन स्पेस निकै कम हुन्छ । लुकिङ ग्लासले सबैतिर देख्न सक्दैन ।

कतिपय मोटरसाइकल घुमेर टिपरको अगाडि आइपुग्छन् जो टिपर चालकले देख्ने सम्भावना कम हुन्छ र टिपरले किच्ने अवस्था रहन्छ । त्यसका लागि टिपरको वनावटमै केही सुधार गर्नुपर्छ । अन्य सवारीसाधनले ठक्कर दिँदा उछिट्टिएर जान्छन् भने टिपरले ठक्कर दिँदा टायरमुनि च्यापिने अवस्था बढी हुने हुन्छ ।

टिपरको तौल अन्य सवारीको तुलनामा बढी हुन्छ । टिपरको अगाडिको भाग र चक्का ठूलो भएका कारण दुर्घटनामा घाइतेभन्दा ज्यान जाने सम्भावना बढी रहन्छ । टिपर चालकले ओभरटेक गर्ने, जेब्राक्रस पार गर्ने पैदलयात्रुलाई प्राथमिकता नदिने, लेन मिच्ने, साइड नदिने, अधिक गतिमा हाँक्ने लगायतका कमजोरी गरिरहन्छन् ।

आतंक मच्चाउने ‘ज्यानमारा टिपर’लाई नियमित कारबाही गर्नुको सट्टा ट्राफिक प्रहरी असुलीमा मस्त हुँदा टिपर आतंक बढिरहेको छ । अधिकांश टिपर चालकको उमेर १८ देखि २५ वर्ष समूहको छ । प्रायजसो टिपर चालकको पारिवारिक पृष्ठभूमि पनि त्यति देखिँदैन । तर, ट्यापे, मुन्द्रे र कोही त आपराधिक पृष्ठभूमिका पनि रहेका छन् ।

उनीहरू चालक त बने । तर, भविष्यको चिन्ता त्यति गर्दैनन् । उमेरको अपरिपक्वता पनि देखिन्छ । मनलाग्दी चलाउँदा पनि टिपर डरलाग्दो बनिसकेको छ । टिपरले बचाउने होइन,टिपर देख्यो कि आफैं सतर्क हुनुपर्ने अवस्था पनि देखिन्छ । सबै ठाउँमा मापदण्ड अनुसारको सडक नहुँदा कतिपय अवस्थामा दुर्घटना हुने गरेका छन् ।

कसरी गुडाउने सही ट्रयाकमा ?

टिपरले ठक्कर दिएर मारेको एउटा घटना आलो छँदै अर्को दुर्घटना हुने प्रवृत्ति बढेको छ । यसबाट के हुन्छ भने, दालमा कुछ काला है । दुर्घटना हुन त्यती अनौठो होइन । यदाकदा अप्रत्यासित र अनपेक्षित ढंगले दुर्घटना हुन सक्छ । त्यसमा चालकको लापरवाही पनि हुनसक्छ । प्राविधिक गडबढी पनि हुनसक्छ ।

सडकको दुरावस्था पनि हुनसक्छ । तर, एकपछि अर्को लगातार यस्तै प्रकृतिको दुर्घटना बढ्नु भनेको सामान्य मान्न सकिँदैन । ट्राफिक प्रहरीले निश्चित समयभित्र मात्र टिपरलाई गुड्न दिइने व्यवस्था गर्न सक्नुपर्छ । तर, कमिसनको लाइन मिलेपछि ‘ज्यानमारा टिपर’लाई ट्राफिक प्रहरीले उन्मुक्ति दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १५:०८