सूचनाको शक्ति - The Power Of Information

        

म्यादी प्रहरीका लागि झन्डै चार लाखले दिए आवेदन

म्यादी प्रहरी । फाइल तस्वीर ।

म्यादी प्रहरी बन्नका लागि झन्डै चार लाखले आवेदन दिएका छन्।

०७९ वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले एक लाखको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो।

चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा तीन लाख ९३ हजार तीन सय १२ जनाबाट आवेदन आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए।

प्रहरीले ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन माग गर्दा मागभन्दा धेरै आवेदन आएका थिए। आवेदन आएकामध्येबाट अब म्यादी प्रहरी छनौट गरिने प्रहरीले जनाएको छ।

म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।

सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ०७:४९