सूचनाको शक्ति - The Power Of Information

        

जेलभित्र पल शाह : ‘भेटघाट’ र ‘क्यारम बोर्ड’मा ब्यस्त

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन् । त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन् । तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना मात्रै छन् । कारागारको यो नयाँ भवन हो । दुई तले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी ।

शाह कारागारको बन्दी बनेको तीन दिनमात्रै भयो । तर उनका ‘रुम पार्टनर’हरूले कारागार प्रशासनसँग भनेका छन्, ‘उहाँ त कस्तो फ्र्यांक हुनुहुँदोरहेछ । कति छिटो घुलमिल हुनु भो !’ यो तीन दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दीसँग घुलमिल भइसकेका हुन् । करिब ५०० पुस्तकसहितको लाइब्रेरी छ । बेलाबेला पुस्तक पढ्छन् । तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ हुन्छ ।

भेटघाटबाट बचेको समय क्यारम बोर्ड खेल्छन् । ब्लकभित्र चेस खेल्ने सुविधा पनि छ । कारागार प्रशासनले उनलाई सकेसम्म भेटघाट कम गर्न र आफ्ना निकटलाई मात्रै बोलाउन भनेको छ । ‘तपाईंलाई भेट्न खोज्नेजति सबैलाई भेट्नुपर्दैन, जसलाई तपाईंले पनि चिन्नहुन्छ उनीहरूलाई मात्रै भेट्नु भनेका छौं,’ प्रशासनका एक कर्मचारीले भने, ‘हामी सबै उस्तै हो भनेका रहेछन् । उहाँको नर्मल बानी देखेर ब्लकका सबै खुसी छन् । उहाँ सेलेब्रिटी त हो, तर कानुनका हिसाबले एउटै नजरबाट हेर्नुपर्छ हामीले ।’

उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ । उनी बस्ने ब्लकमा थरीथरी मुद्दाका कैदीबन्दी छन् । जिल्ला कारागारले मुद्दाअनुसार छुट्टाछुट्टै कैदीबन्दी राख्ने गरेको छैन । कारागारमा १३ महिलासहित २५७ जना कैदीबन्दी छन् । बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

यही मुद्दामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशी भने अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाएर त्यसै दिन रिहा भएका छन् । पलविरुद्ध जिल्ला अदालत नवलपुर परासी पूर्वमा पनि बलात्कारकै मुद्दा दर्ता भइसकेको छ । त्यहाँ थुनछेक बहस हुन बाँकी छ । त्यसका लागि उनलाई केही दिनमा नवलपुर लगिनेछ । जिल्ला अदालत नवलपुरले थुनछेक बहसका लागि पल शाहलाई पठाइदिन पत्र पठाइसकेको छ ।

तर तनहुँ जिल्ला अदालतले अहिलेसम्म कारागारलाई केही भनेको छैन । अदालतबाट आदेश आएपछि उनलाई नवलपुर पठाइदिने जेलर नारायण अधिकारीले बताए । तर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन् । उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत (पोखरा)मा पुनरावेदन दिने बताएका छन् । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार १६:५३