सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै भवनबाट सेवा दिन थाले जयपृथ्वीका २ वडा

बझाङको जयपृथ्वी नगरपालिकाका २ वटा वडा आफ्नै नवनिर्मित भवनबाट सेवा दिन थालेका छन् । जयपृथ्वी नगरपालिकाका वडानम्बर १ कैलाश र वडानम्बर २ र्मोतोलीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्र बहादुर खड्काले भवनको उद्घाटन गर्नुभएको छ । यसअघि स्वास्थ्य चौकीका पुराना भवनबाट सेवा प्रवाह गर्दैँ आएका वडाले नवनिर्मित भवनको उद्घाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका हुन् ।

स्थानीय तहको सरकार बने लगतै स्वास्थ्य चौकीका जिर्ण भवनहरुलाई मर्मत गरेर सेवा प्रवाह थालिएको थियो । जयपृथ्वी नगरपालिका – १ का वडाध्यक्ष गगन बहादुर सिंहले आफ्नै भवनबाट सेवा दिन पाउनु एक अवसरका रुपमा रहेको बताउनुभयो ।

जयपृथ्वी नगरपालिका – १ कैलाशमा १ करोड ५० लाख र जयपृथ्वी नगरपालिका – २ र्मोतलीमा १ करोड ५० लाख गरी दुबै वडाका कार्यालय भवन ३ करोड ५० लाख लागतमा २ तले निर्माण गरिएका छन् ।

भवनमा हल सहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष, दर्ताचलानी, महिला, पुरुष शौचालयसहित आधुनिक भवन निर्माण गरिएको वडानम्बर २ का वडाअध्यक्ष शुक्रराज जोशीले बताउनुभयो ।

अध्यक्ष जोशीले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालनमा सहज हुनुका साथै वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुने समेत विश्वास व्यक्त गर्नुभएको छ ।

जोशीले विकासका पूर्वाधार निर्माण कार्यलाई तिव्रताकासाथ अगाडी बढाएको र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको भौतिक पूर्वाधार निर्माण लगाएतका विकासका कामहरु पनि तिव्ररुपमा भईरहेको उहाँको भनाई छ ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्काले नगरपालिकाका वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गदैँ नगरपालिकालाई समृद्ध बनाउन आफु र आफ्नो टिम लागि परेको बताउनुभयो ।

वडा भवन उद्धघाटन कार्यक्रममा जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्री, नेकपा एमालेका जिल्ला कमिटी सहसचिव सुरत बहादुर सिंह, सहितका अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:११