लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे । सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो । २०७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कूटरले ठक्कर दियो । ६७ वर्षका लिलाधरको हातमा चोट लाग्यो । हात औँलामा चोट धेरै लाग्यो ।
नियमित सडक सफाइको काम गर्न नसक्ने भए । २०६१ सालमा ३ हजार ५०० रुपैयाँबाट जागिर सुरु गरेका लिलाधरको तलब बढेर २१ हजार २२५ रुपैयाँ पुगेको थियो । काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न उनको सुरक्षाको लागि कुनै सुविधा थियो । उपचार खर्च भने कार्यालयले व्यवस्था गरिदियो ।
दुर्घटनामा घाइते भएपछि लिलाधर खाली हात घर फर्किए । उनको ठाउँमा भदौ २७ गतेदेखि लागु हुनेगरि बुहारी बिमला ढकाल काममा लागिन् । तर, १७ वर्ष सडकमा धुलो खाँदै सडक सफाइ गरेका ढकाल भने बुढ्यौलीमा रित्तो हात घर फर्किएका छन् । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी शिव खनालका अनुसार सडकको नियमित सफाइको लागि लिलाधर जस्ता ९७ जना लेन्थ वर्कर छन ।
उनीहरूले तोकिएको रुटमा सडक सफाइको काम गर्छन् । उनीहरूको प्रतिव्यक्ति पहाडमा ३ र तराइमा पाँच किलोमिटरसम्म सडक सफाइ गर्ने जिम्मा हुन्छ । तर, उनीहरूको परिचयपत्र दिने व्यवस्था सडक डिभिजन कार्यालयले गरेको छैन । परिचयपत्र साथमा नहुँदा घरभन्दा पर सडक सफाइमा जाँदा सडककै कर्मचारी भएपछि गाडीभाडा तिर्नुपर्ने बध्यतामा उनीहरू छन् ।
जीवनाथ ढुंगाना ७६ वर्षका भए । उनी २५ वर्षदेखि लेन्थ वर्करको काममा छन् । भरतपुर महानगर ११ को नौरंगे घर भएका जीवनाथको काम गर्ने एरिया चितवन राष्ट्रिय निकुञ्जको राप्ती पुलदेखि माडीको कृतनपुरसम्म हो । यो रुटमा पाँच जना कार्यरत छन् । उनीहरू २५ किलोमिटर सफाइ गर्छन् । जीवनाथ हरेक दिन गाडी चढेर माडी आउजाउ गर्नुपर्छ ।
भरतपुरको चौबीसकोठीदेखि माडीको रेवा खोलासम्म पुग्दा सार्वजनिक बसले कम्तिमा १०० रुपैयाँदेखि १३० रुपैयाँसम्म लिने गर्छ । कृतनपुरसम्म पुग्दा त अझ थपिन्छ गाडीभाडा । ‘सडककै कर्मचारी हौँ, ड्रेस लगाएर काममा आउँछु’, जीवनाथ भन्छन्, ‘तर, बसले गाडीभाडा छुट गर्दैन ।’
जीवनाथको दुईतर्फ भाडा हिसाब गर्दा दिनको कम्तिमा २५० रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ । महिनाको २६ दिन काम गर्नुपर्छ । २६ दिनको गाडी भाडा ६ हजार ५०० तिनुपर्छ । यसअघि भरतपुरकै मुख्य सडकमा काम गर्थे । तर, अहिले साइट फेरियो । जीवनाथ थप्छन्, ‘७६ वर्षको उमेरमा दुःखले कमाएको पैसा पनि गाडीभाडामा सकियो ।’
सडक बोर्ड नेपालले स्थानीय जनताको रोगजारी र उनीहरूको घर पायक सडक सफाइको अवधारणा अनुसार लेन्थ वर्कर राख्ने व्यवस्था गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्की डिभिजन सडक कार्यालयले उनीहरूलाई दिने पोशाक नै परिचयपत्र सरह भएको दाबी गर्छन् । उनले भने, ‘सडकका कर्मचारीलाई कुनै पनि गाडीले भाडा लिँदैनन् । उनीहरूलाई पनि सडकको पोशाक देखेपछि नलिनुपर्ने हो ।’
तर, आफूहरूलाई परिचय पत्र नभइ गाडी भाडामा पनि छुट नदिएको अर्की लेन्थ वर्कर सविता विश्वकर्माले बताइन् । ‘सडक कर्मचारी भए परिचय पत्र देखाउनु भन्छन्, ड्रेसले हुँदैन रे । हामीसँग परिचय पत्र नै छैन कसरी भाडामा छुट पाउनु ।’ सविता पनि भरतपुर महानगरपालिका ६, बाट दैनिक माडी सडक सफाइको लागि आउजाउ गर्छिन् ।
उपदान समेत छैन
वर्षौँदेखि सडक सफाइमा काम गर्दै आएका सडक मजदुरहरूलाई सडक डिभिजन कार्यालयले केही करार र अधिकांश ज्यालादारीमा नियुक्त गरेको छ । श्रम ऐनले नै ६ महिना नियमित काम गरेपछि करार हुँदै, अस्थायी र स्थायीको प्रकृयामा लैजानुपर्ने व्यवस्था गरेको छ । तर, लेन्थवर्कको न त स्थायीको व्यवस्था नै छ न उनीहरूले उपदान नै पाउँछन् । रामसिंह चौधरी १७ वर्षदेखि सडक सफाइको काममा छन् ।
बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सडक छेउछाउ काम गरिरहेका भेटिन्छन् । भरतपुर २३ का रामसिंह ६० वर्षका भए । शरीरमा कमजोरी बढ्दै गएको छ । अब उनलाई ठेला बेल्चा चलाउन सक्दिन जस्तो लाग्न थालेको छ । तर, जागिर छोडेकै भोलिपल्टदेखि हात खाली हुन्छ । ‘यत्रो वर्ष काम गरियो, छोड्दा उपदान मात्रै आएपनि बुढेसकालमा केही सजिलो हुन्थ्यो, ‘रामसिंह भन्छन्, ‘पातमा जीवन राखेर हिँड्नुपर्छ । सरकारले केही हेर्दैन ।’
श्रोत : आइएनएस-स्वतन्त्र समाचार
प्रतिमा सिलवाल । चितवन ।