सूचनाको शक्ति - The Power Of Information

        

‘कुकर बम’भित्र चार तोला सुन !

कैलालीको गोदावरी नगरपालिका–१ स्थित बनखेती बस्ने नविन साहुको घरबाट मंसिर दोस्रो साता सुन चोरी भयो । आफ्नो परिवार काठमाडौं गएको मौकामा सुन चोरिएको भन्दै नवीनले मंसिर १५ मा इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।

प्रहरीले अनुसन्धान गरिरहेको थियो । चैत ७ मा नवीनको घर अगाडी ‘कुकर बम’ भेटियो । सैनिकको बम डिस्पोजल टिम घटनास्थलमा पुग्यो । कुकरमा तार जोडेको नदेखेपछि सेनाले सामान्य तरिकाले कुकरको ढकन मात्रै खोल्ने गरी डिस्पोज गरेको थियो ।

डिस्पोज गर्दा कुकरमा विष्फोटक पदार्थ राखेको देखिएन । कुकरभित्र ४ तोला साढे ४ आना सुन भेटियो । सुनसँगै चोरले धम्कीपूर्ण भाषामा लेखेर छाडेको कागज पनि फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी नवराज पोखरेलले बताए ।

डिएसपी पोखरेलले भने, ‘नोटमा धम्कीपूर्ण भाषामा फलानोको जस्तो हालत होला भनेर लेखिएको छ ।’ चोरीमा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरीमा संलग्न आरोपीले प्रेसर कुकरको बाहिर ‘खतरा’ लेखेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १४:५३