सूचनाको शक्ति - The Power Of Information

        

रुस–युक्रेन युद्धका एक महिना, दुवैतिर रित्तिँदै हतियार र रसद

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको महिना दिन पुगेको छ । पहिलो चरणको सघन लडाइँका कारण दुवै पक्षको गोला–बारुद तथा अन्य सैन्य सामग्रीको भण्डारण रित्तिँदै गएको छ । रुसी सेनासँग तीन दिनलाई पुग्ने युद्ध सामग्री मात्र रहेको दाबी युक्रेनले गरिरहेको छ ।

अर्कोतिर, आफ्नै सेनासँग एन्टी–ट्यांक र एन्टी–एयरक्राफ्ट हतियार सकिन थालेको युक्रेनको भनाइ छ । वास्तविकता थाहा पाउन भने मुस्किल छ । ‘आपूर्तिको अवस्था के छ, बुझ्न कठिन छ । किनभने सुरक्षाका कारणले दुवै पक्षले यससम्बन्धी सूचना गोप्य राख्छन्,’ रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट नामक थिंक ट्यांकका युद्धकला विशेषज्ञ निक रेनोल्ड्स भन्छन् ।

पश्चिमा मुलुकले आपूर्ति गर्ने हतियार अभाव हुन थालेको चिन्ता युक्रेनलाई छ । तिनै हतियारले युक्रेनमा रुसी ट्यांक र विमानलाई ध्वस्त पार्ने गरेको छ । बिहीबार नेटो शिखर बैठक सुरु हुनुअघि युक्रेनी सेनाले ठूलो मात्रामा त्यस्तो हतियार माग गरेको छ । बेलायतले थप पाँच हजार क्षेप्यास्त्र पठाउने बाचा गरेको छ ।

रुसले पनि गम्भीर आपूर्ति समस्या झेलिरहेको स्पष्ट छ । जसका कारण एकै पटक राजधानी किभ र दोस्रो ठूलो सहर खार्कोव घेर्ने र दक्षिण तथा पूर्वबाट आक्रमण गर्ने महत्वाकांक्षी योजना त्याग्न रुस बाध्य भएको छ । आपूर्तिमा गडबडी र युद्धमा भएको क्षतिका कारण एकै पटक धेरै मोर्चामा लड्ने क्षमता रुसले गुमाएको पश्चिमा अधिकारीहरुको भनाइ छ ।

रुसले ७ हजारदेखि १० हजार सैनिक गुमाएको उनीहरुको अनुमान छ । र, यतिखेर रुस भयंकर बमबारी गरेर मारियोपोल कब्जा गर्नमा मात्र केन्द्रित भएको उनीहरु बताउँछन् । रुसको कठिनाइ कुन हदसम्मको छ भन्ने कुराको महत्वपूर्ण संकेत राजधानी किभको उत्तर पश्चिमी भेगमा अवस्थित इरपिनमा युक्रेनले प्रत्याक्रमण गर्न सक्छ कि सक्दैन भन्ने कुराले दिनेछ ।

युद्धको पहिलो दिनदेखि नै यो ठाउँमा भयानक लडाइँ चलिरहेको छ । ‘इरपिन क्षेत्रमा युक्रेनी प्रत्याक्रमणको सुरुवाती रिपोर्ट सही साबित भयो भने किभ मोर्चामा रुसको आपूर्तिमा समस्या रहेको प्रमाणित हुनेछ । यद्यपि, मानवीय क्षति, गिर्दो मनोबल र कारबाही संयोजनमा कमजोरीजस्ता कुराले पनि भूमिका खेलेको हुनसक्छ,’ रेनोल्ड्स भन्छन् । तथापि, लडाइँमा रुसको हात माथिबाट देखिन्छ ।

‘समग्रमा रुससँग सामग्री र सैनिकको संग्रह ज्यादा छ । जसलाई उसले प्रयोग गर्न सक्छ,’ नाम नबताउने सर्तमा एक पश्चिमा स्रोतले भन्यो । तर, आपूर्ति मार्गमा अनेक कठिनाइ भने रुसलाई छ । युक्रेनको समस्या बढी गम्भीर छ । युक्रेनको हतियार उद्योग रुसको भन्दा निकै सानो छ । त्यसमध्ये पनि पूर्वी भागमा रहेका उसका थुप्रै औद्योगिक क्षेत्र युद्धका कारण क्षतिग्रस्त भइसकेका छन् । यो क्षति दीर्घकालीन हो ।

जुन गैरसैनिक क्षतिप्रति रुसले देखाएको कम चासोलाई हेर्दा उसले जानीबुझी गरेको हो । युक्रेन आफ्ना प्रमुख सबैजसो हतियारका लागि अहिले पुरै पश्चिमको निर्बाध आपूर्तिमा निर्भर छ । त्यस्ता महंगा हतियार युद्धमा चाँडो खर्च हुन्छन् । तर, तिनको उत्पादनमा धेरै समय लाग्छ । त्यसैले, हतियार र गोलाबारुदको कुरा गर्दा ठूलो मानवीय क्षति बेहोर्न रुस तयार भए लामो युद्ध रुसका लागि फाइदाजनक हुन्छ । दुर्भाग्यवश, भ्लादिमिर पुटिन त्यो क्षति बेहोर्न इच्छुक देखिन्छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ०८:३२