सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अध्यक्ष नेपालले भने, ‘ओलीका अपराधहरु जनताको माझमा लैजानुपर्छ’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको साहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।

बुधवार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपाले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । उनले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनुपर्ने बताए ।

‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ,’ उनले भने, ‘स्थिति कमजोर छ भने अनावश्यक दावा गर्ने काम गर्नुहुँदैन । फेस मूल्यांकन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे । उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्न बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए ।

उनले भने, ‘केपी ओलीका अपराधहरु के के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनबिरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका । एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘मतका लागि जनताको बहुदलीय जनवाद भन्ने काममा ठिक व्यक्तिवादी अहंकार र अधिनायकवाद लाँद्ने, यो चरित्र कम्युनिष्ट चरित्रसँग मेल खाँदैन । त्यसैले केपी ओलीको विचारमा क्रान्तिकारिता छैन । सिद्धान्तप्रति निष्ठा, सिद्धान्त छैन । त्यसैले उनको प्रवृति दक्षिणपन्थी अवसरवाद हो ।’ अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए ।

उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए । फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीप प्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘यो जम्मैमा परिवर्तन आवश्यक छ । शिक्षा प्रणालीमा परिवर्तन गर्नु जरुरी छ । स्वास्थ्यनीतिमा परिवर्तन गर्न जरुरी छ । जनतालाई रोजगारी प्रदान गर्ने कुरामा, सीप सिकाउने कुरामा, यावत नीतिहरु तर्जुमा गर्नुपर्ने आवश्यक्ता छ । समस्यामा परेका गरिबीले पिल्सिएका जनतालाई सेवा सुविधा पुर्याउनु पर्ने कुरामा ध्यान दिन आवश्यकता छ ।’ अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । उनले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली काँग्रेस पनि सहमत रहेको बताए । अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार २०:३४