सूचनाको शक्ति - The Power Of Information

        

तालिबान महिलालाई पढ्न दिने निर्णयबाट पछि हट्यो

अफगानिस्तानमा सरकार हाँकिरहेको तालिबानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ ।

सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो ।

छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरूले केही बताएका छैनन् ।

तालिबानको यस्तो निर्णयबाट खुशी भएकाहरू अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् ।छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरूको प्रश्नमा

तालिबान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, ‘हो, त्यो सत्य हो ।’सरकारले विद्यालय जान नदिने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

‘निर्णय कार्यान्वयन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमति छैन,’ शिक्षा मन्त्रालयका प्रवक्ता अजीज अहमद रायनले भने ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका थिए । उनीहरूको दबाबका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्बहाली हुने आश्वासन पनि दिँदै आएका थिए । 

विश्वभरबाट आएको दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिबान पछाडि हटेको हो ।

तालिबानले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले तालिबान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुःखी बनाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १७:४५