सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा–कोहलपुर सडकखण्डको अतिक्रमण हटाइने

नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा बनेका संरचना हटाउनेबारे मंगलवार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय छलफल गरिएको छ ।

सडक अतिक्रमण हटाउन साझा धारणा निर्माणका लागि भएको सर्वपक्षिय बैठकबाट अतिक्रमण हटाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

सडक अतिक्रमण हटाउन सबै राजनीतिक दल, सडक डिभिजन कार्यालय र सरोकारवालाका प्रतिनिधिहरुको एकमत रहेको उनको भनाइ छ । नेपालगञ्ज र कोहलपुरलाई सुन्दर बनाउनका लागि सडक अतिक्रमण हटाउन आवश्यक रहेको उनको प्रतिक्रिया थियो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले सडक जति मिटर चौडा भएपनि नेपाल सरकारको नियमानुसार खाली गर्न सुझाव दिए । उनले आफनै घर भत्काउनु परे भत्काउन पछि नहटने दाबी गरे ।

उनले सडक अतिक्रमण हटाउने निर्णय भएकोले जबरजस्ती भत्काएर भएपनि अतिक्रमण हटाउन आवश्यक रहेको बताए ।

सडक डिभिन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख होम बहादुर एसीले आज भएको सर्वपक्षिय निर्णयानुसार तत्काल अतिक्रमण हटाउने प्रक्रिया थाल्ने बताए ।

सडक डिभिजन कार्यालयले गएको पुष मसान्तभित्र सडक अतिक्रमण हटाउन सूचनामार्फत अल्टिमेटम दिएको थियो । तर चैत पहिलो साता सकिँदा पनि अतिक्रमण हटेको छैन् ।

सडकको बीच सेन्टरबाट दायाँबायाँँ २५÷२५ मिटरसम्मको अतिक्रमित संरचना हटाउने सडक डिभिजनको तयारी छ । जमुनाहदेखि कोहलपुरसम्मको करिव २२ किलोमिटर क्षेत्रमा एक दर्जन सरकारी कार्यालय, आधादर्जन धार्मिक संस्था र करिव साढे सात सय निजी व्यक्तिहरुले सडक अतिक्रमण गरेर संरचना बनाएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १७:४९