सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

घर खर्च चलाउन म्यादीमा भर्ना

बाँकेमा म्यादी प्रहरी हुनेको भीड लागेको छ । बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामो लाइन लागेको हो । नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेको भीड लागेको छ ।

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै देशभर म्यादी प्रहरीमा फर्म भर्नेको भीड लागेको हो । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी हुनेका लागि फाराम भर्नेको लाइन बाहिरसम्म देख्न सकिन्छ ।

बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ । पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम लगेका छन् । त्यसमा ७०० जनाको फाराम दर्ता भएको छ ।

भीडभाड बढी भएकाले सबैको दर्ता गर्न मुस्किल हुने गरेको बाँके प्रहरीले जनाएको छ । बेरोजगारीको समस्याले गर्दा म्यादी प्रहरी हुनेको भीड लागेको छ । जिप्रकामा फाराम लिने र दर्ता गर्नेको तँछाडमछाड नै देखिन्छ ।

म्यादी प्रहरीका लागि चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीमा भर्ना हुन पाउने व्यवस्था छ । म्यादी प्रहरीमा भर्ना हुन आएकाहरूका लागि बाँकेका सबै स्थानीय तहबाट युवा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा १३६ वटा मतदान केन्द्र र करिब ६५ किलोमिटर खुला सीमामा सुरक्षा दिनुपर्ने भएकाले म्यादी प्रहरीमा भर्ना खुला गरिएको बताए ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । आइतबारबाट भर्ना खुला भएकाले आइतबार नै एक हजार जनाले फर्म भरेका छन् ।

फर्म भर्नेको धेरै भीड रहेकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले बताएको छ । फर्म भर्ने काम सकिएपछि १५ गतेबाट शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशन हुनेछ । म्यादी प्रहरीले ४० दिनको ४४ हजार ४४४ रुपैयाँ पाउनेछन् ।

उनीहरूको बिमा लगायत अन्य सुविधा पनि हुनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।

उनले बाँके जिल्लाका लागि १ हजार ६८६ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको बताए । नेपालगन्ज उपमहानगरपालिका–२० का नरेन्द्र सुनारले बेरोजगार भएर बसेकाले थोरै समय भए पनि जागिर खान आएको बताए । ४० दिन भए पनि घर खर्च चलाउनका लागि खर्च जुट्ने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १६:१९