आज अचानक हुरीसँगै झरीको बाछिटोले झ्यालको पर्दा उडाउँदै फेरि तिम्रो याद दिलायो । संयोगवस आज त्यहीँ दिन रहेछ, जुन दिन हाम्रो मिलनको अन्तिम दिन भएको थियो । जीवनका उकाली ओरालीमा आइपरेका हरेक सुखदुख मिलेर साटौंला, सँगै रमाउला, सँगै मरौंला अनि सँगै बाचौंला भनी कसम खाएको थियौं ।
सायद भाग्यमा नभएर नै होला तिम्रो यतिधेरै माया लागेको मलाई । त्यो दिनहरू सम्झिँदा अझ पनि मुटु भक्कानिएर आउँछ, आँखा रसाउँछन्, मुटु थरथर काप्न थाल्छ । पाउनु मात्र माया हैन गुमाउनु पनि माया हो रहेछ, मैले तिमीलाई गुमाएकै हो । भन्छन् चोखो मायामा त्याग हुन्छ । हामी साथमा नभए पनि एकाअर्कालाई नदेखे नभेटे पनि हाम्रो मायाको त्यो आभास अमर छ, अनन्त छ, अन्तर आत्ममा जिवित छ ।
स्कुलबाट १० क्लासको विद्यार्थीहरुलाई टेष्टको इक्जामपछि पोखरा टुर लैजाने प्रोग्राम बनेको थियो, रिजल्ट आउन एक दुई हप्ता लाग्थ्यो । सबै साथीहरू सल्लाह गरेर पोखरा घुम्न जाने प्लान बनायौं । म क्लासको मोनिटर थिए, सबै साथीहरू टेस्ट परीक्षा सकेर फ्रेस हुने अनि एसएलसीपछि सबै सबैको भेट पनि नहुन सक्छ भन्ने हेतुले प्रधानाध्यापकसँग अनुरोध गरि ३ दिनको टुर प्रोग्राम गरिएको थियो । लगभग सबै साथीहरू तयार भैसकेको थियौं । स्कुलबाट हामीलाई गाइड गर्न खेलकुदको बिनोद सर त नेपाली पढाउने निसा म्याम हुनुहुन्थ्यो ।
माया : ओइ ! भोलि त बिहानै ७ बजे सबै स्कुलमा जम्मा हुने रे अनि त्यहीँबाट बस चढेर जाने रे ! टुरमा जाँदा के के लाने हो । ब्याग प्याकिङ्ग गरिस्, खानेकुरा हाल्न नबिर्सिनु है फेरि…जुत्ता पनि हाल है पालो पालो लगाउनुपर्छ ।
म : ल ल सबै प्याकिङ्ग गरिसके मैले तेरो गरिस् ?
माया : गरिसके एउटा बाँकी छ ।
म : के नि ?
माया : तेरो ब्याईफ्रेनलाई प्याक गर्न !
म : बिस्तारै बोल्न अहिले दादाले सुन्नु भयो भने जान दिनुहुन्न अनि एक्लै जालिस् मुर्दार्नी
माया : ल ल ! इमिली किन्न जाँदैछु हिँड जाम तेरो ख्याल नि मैले राखिदिनु पर्ने त होला नि, बान्ता गर्दै पुग्ने होलिस् नत्र ।
म : अ साँची सुन्न त्यो प्रदिप काले जान्छ कि नाई ?
माया : हा हा हा (मजाक उडाउँदै हाँसी) अनि न्यास्रो मुख लगाउँदै भनी त्यो जान्न रे त्यसको र मेरो झगडा परेछ ।
म : त त एक्लै हुन्छेस् फेरि जाम भन्न जान्छ होला उसलाई छोड्नुहुँदैन है लानुपर्छ फकाउन जा ।
माया : ल ल !
भोलिपल्ट बिहानै सबैजना जम्मा भयौं । भने अनुसार ७ बजे बुटवलबाट हिँड्यौं । रिदम र प्रदीप एउटा सिटमा अनि माया र म अर्को सिटमा थियौं । गाडीमा गीत ‘अछ्छा लेकिन लण्डनको चिसोले समाउला अलि माया छेउमै बसन’ बजिरहेको थियो । कोइ साथीहरू बसको कोलियामा नाच्दै थिए त कोइ ताली सिटी बजाउँदै थिए । मलाई गाडी चढ्ने बित्तिकै चक्कर लाग्ने हुँदा निहुँरिएर मायाको काँधमा शीर राखेको थिए ।
नारायणघाट रामपुरमा खाना खुवाउन गाडी रोक्यो । खाना खाएर पुनः सबैजना गाडीमा चढ्यौं । मलाई बोमिट भएकोले एकदमै गाह्रो भएको थियो । त्यो देखेर रिदम मेरो सिटमा आएर बसे, आफ्नो ब्याग घुडामाथि राखेर मलाई त्यहाँ पल्टिन लगाए । टाउको सहन नसक्ने गरि दुखेको थियो, रिदमले सञ्चो किनेर लेराएको रहेछन् । मेरो निधारमा मसाज गर्दै थिए म निदाएछु । खै उनको काखमा के जादु थियो मलाई शितलता महसुस भएको थियो । करीब १ बजेतिर हामी पोखरा पुग्यौं ।
हामी दुबैको पोखरा भ्रमण पहिलो पटक थियो । पूर्व पश्चिम पनि उल्टो जस्तो लागेको थियो । सर म्यामले एउटा होटेलमा दुइटा हल कोठा बुक गर्नुभएको थियो । चैतको महिना जाडो नहुने हुँदा सबैजनालाई बस्न पनि सजिलो थियो । त्यो होटेल कुन ठाउँमा थियो, होटलको नाम के हो ? हामीलाई केही याद भएन । दिउँसो ३ बजेतिर सबैजना फ्रेस भएर फेवाताल घुम्म जाने भने बमोजिम सबै तयार भयौं र बस चढेर फेवाताल हेर्न भनेर गयौं ।
मनमा छुट्टै हर्ष उमङ्ग थियो । नेपालको सुन्दर नगरी पोखरा स्वर्गको अप्सराजस्तै राम्री सुन्दर छिन् रे । साँघुरो बाटो सेती नदि बग्छिन् गरे, डेबिट फलको पानी जमिनमै हराउँछ रे, अनि चमेरे गुफा महेन्द्र गुफामा भित्रभित्र नदि बगेको जस्तो आवाज सुनिन्छ रे, शहरको बीचमा फेवाताल तालको बीचमा बराही मन्दिर रहेको छ रे, त्यहाँ जान ढुङ्गा चडेर जानुपर्छ गरे ‘फेवातालको आगनमा लै लै माछापुच्छ्रे छाँया’ भन्ने गीत सानैदेखि सुन्दै आएको त्यो दृश्य कस्तो होला भनेर हेर्न आतुर थिए मेरा आँखा । यस्तै यस्तै धेरै कुराहरु सुनेको थिए, आज प्रत्यक्ष देख्न पाउने भए भन्दै मनमा भावहरु उछल्दै थिए ।
मनमा बेचैनी र कौतुहलता थियो, जो अब मेटिने थियो । सानैदेखि नदी खोला भनेपछि चार कोस पर काम्ने म त्यति ठुलो तालमा बराही मन्दिर जान ढुङ्गा चढ्न सकिन तलाउ किनारबाट मन्दीर दर्शन गरे । म नगएपछि रिदम पनि मसँगै बसे । साथीहरू मन्दिर दर्शन गरेर आउँदासम्म १–२ घन्टा लाग्छ । त्यतिबेलासम्म मलाई भोक लागेको छ, केहि खाउन भनेर त्यहीँ नजिकै खाजा खाने होटेल खोज्दै हामी धेरै पर पुगेछौं । एकाअर्काको साथमा हुँदा समय बितेको पत्तो भएन ७ बजेछ ।
छिटोछिटो गरेर फेवातालतिर जाँदै थियौं एक्कासी चारैतिर अन्धकार छायो, हावाहुरी असिना पानी बर्सियो । ओत लाग्न दुई वटा घरको बीचमा गयौं । करीब १–२ घन्टा हावाहुरी चलिरह्यो, झरी परिरह्यो । झरी फाटेपछि हतारहतार फेवाताल पुग्यौं । त्यहाँ कोहि थिएनन् न साथीहरू न बस नै थियो । रातीको ९ बजिसकेको थियो । साथीहरू कहाँ छन्, केहि थाहा थिएन । नौलो शहर नयाँ ठाउँ कहाँ जाने केही सोच्न सकेको थिएनौं । आखिरमा त्यहीँ नजिक एउटा होटेलमा रुम लियौं । मेरो नाम रन्जना भए पनि रिदमले मायाले रन्जु राखिदिएको थियो । उ जहिले रन्जु भनेर बोलाउने गर्दथ्यो । म भने डरले कालो निलो भएकी थिए ।
रिदम : रन्जु तिमीलाई डर लागेको छ हो ?
म : उम्
रिदम : नडराउ म छु नि तिम्रो साथमा, भन त रञ्जु किन डर लाग्यो ?
म : हामी यसरी यहाँ बसेको मेरो दादाले थाहा पाउनु भयो भने तिमीलाई र मलाई मार्दिनुहुन्छ ।
रिदम : जस्तोसुकै परिस्थिति आए पनि तिम्रो साथमा म छु, तनाव नलेउ तिम्रो लागि यो ज्यान दिन पनि तयार छु ।
म : भोलि बिहानै जानुपर्छ है साथीहरूलाई खोज्न ।
रिदम : हस्, यहाँ होटेलको साहुलाई सोधेर डेबिट फल गएर कुरौला त्यहाँ आउछन् होला घुम्न अनि भेट भैहाल्छ नि ! टेन्सन नलेउ ।
म : हुन्छ ।
ठुलो हावाहुरी अनि पानीले हाम्रो कपडा पुरै भिजेको थियो । त्यो देखेर रिदमले होटल साहुजीसँग लुगा सुकाउनलाई आइरन मागेर लेराएको रहेछन् ।
रिदम आफ्नो टिसर्टमा आइरन लगाउँदै भन्छन् : ल यो टिसर्ट सुक्यो तिमी यो लगाउ त्यो कुर्ता देउ आइरन लगाइदिन्छु । नत्र बिरामी हुन्छेउ फेरि ।
म वासरुम गए चेन्ज गरेर आए र कुर्ता रिदमलाई दिए ।
रिदम : तिमी पलङ्गमा सुत म सोफामा सुत्छु । भन्दै बेडमा भएको पातलो बल्यान्केट तानेर सोफामा बसे ।
करीब रातीको ११ बज्न लागेको थियो दिनभरीको बसको यात्रा वमिट भएकोले मलाई एकदम गाह्रो भएको थियो । रिदम पनि थकित देखिन्थियो । उसले मलाई सम्झाए पनि उसको आँखामा डर प्रष्टै झल्किन्थ्यो । दुई वर्षदेखि हाम्रो प्रेम चलेको भए पनि यसरी नजिक पहिलो पल्ट आएको थियौं । म उसको मायामा यति पागल थिए कि उसको हरेक प्रस्ताव स्वीकार गर्थे होला, तर उसले अहिलेसम्म कहिले छुनसम्म आँट गरेको थिएन । रिदमको नारीप्रति हेर्ने दृष्टिकोण उच्च थियो, हरेक महिला दिदीबहिनीलाई उ सम्मान गर्दथ्यो ।
‘नारी जननी हुन् सृष्टिकर्ता हुन् उनको अस्मिता जोगाउनु हामी पुरुषको कर्तव्य हो भन्थ्यो’ उ एक आदर्श पुरुष थियो । यत्तिकैमा ढोका ढकढकको आवाज आयो । रिदमले गएर ढोका खोले । हाम्रो सातोपुत्लो उड्यो । होटलमा प्रहरीको छापा परेको रहेछ । हामीले लाख कोशिश गर्यौ, हाम्रो समस्या सुनायौं, बिन्तीभाउ गर्यौ । तर पनि हाम्रो समस्या बुझिदिने कोही भएन । अन्ततः प्रहरीको भ्यानमा राखेर लगियो । कति रोयौं, करायौं, केहि लागेन । प्रहरीले हाम्रो कुरा सुन्न मानेन । हामीलाई छोड्न पनि मानेन परिवारको जिम्मा लगाउछौं भनेपछि अन्तमा आफ्नो आफ्नो परिवारको फोन नम्बर दिन बाध्य भयौं ।
रिदमको बुवा र मेरो दादा आएर हामीलाई त्यहाँबाट छुटाएर लानुभयो । दादाको कुटाइले शरीरको कुनै भाग खाली थिएन, मेरो जताततै निलो निलो थियो । स्कुलका टिचर अनि साथीहरूको अगाडि कुन मुख लिएर जानु, कसैलाई मुख देखाउन लायक थिएन म । गल्ती त केही गरेको थिएन, तर त्यो रातबाट समाजको नजरमा हामी अपराधी बनेका थियौं । म जतिसुकै पवित्र छु भनेर भने पनि यो समाजले मलाई स्वीकार्दैन थियो । रावणले सितालाई हरण गरेपछि सीता जतिनै पवित्र छु भने पनि अग्निपरीक्षा दिनुपरेको थियो ।
हाम्रो समाज अझ पनि उस्तै छ । परिवर्तन भएको छैन । अनेकौं लाल्छानाहरु सुन्नुपर्ने थियो । सहनुपर्ने थियो, रिदम कहाँ थियो, कस्तो अवस्थामा थियो अन्जान थिए म मेरो साथीहरूलाई मलाई भेट्न दिइएको थिएन । लाग्थ्यो, अब जीवनको अन्त्य गर्दियौं, पटक पटक आत्महत्याको प्रयास गर्दा पनि मर्न सकिएन । यहि तनावले गर्दा एसएलसी परीक्षा पनि दिन सकिन । त्यसपछि मलाई फुपुको घर झापा पठाइयो ।
सायद रिदमलाई पनि यस्तै पीडा सहनुपर्यो होला । तिमी त मेरो तनमनमा छौं । तिमी साथमा नभए पनि मेरो धड्कन बनेर बाँचेको छौं । तिम्रो र मेरो माया अमर छ । तिमी जहाँ छौं, खुशी मिलोस तिमीलाई । यो जुनीसँगै जिउन नपाए पनि अर्को जुनी तिम्रो हुन पाउ बस् तिम्रो हुन पाउ । तिम्रो र मेरो यो अधुरो प्रेम अर्को जुनीमा पूर्ण होस् यहि कामना गर्दछु ।
(उताबाट रञ्जुको श्रीमान् बोल्दै आउनुभयो)
सरोज : ओहो ! हुरी पनि कति ठूलो घर नै उडाउँला झै पो गर्यो । के गरेकी ? एक्लै झ्यालबाट बाहिर हेरेर के सोचेको हेर पुरै लुगा भिजायो तिम्रो आउ भित्र ! भन्दै झ्यालको पल्ला लगाउनु भयो ।
बादल मिलिक्क मिलिक्क मिल्किरहेको थियो, त्यस्को उज्यालोले छोरी डराउदै आएर अङ्गालो मारिन् ।
छोरी श्रुति : आमा आज मलाई एकदम डर लागेको छ मलाई नछोड्नु ल, आज त म हजुरसङ्गै सुत्ने ।
(यस कथाका पात्र, परिवेश, घटना सबै काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)
गोमा सापकोटा ‘स्मृति’ ।