सूचनाको शक्ति - The Power Of Information

        

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकमा पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरूले आ–आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरू तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ ।

त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनुभयो । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।

विगतको कामको मूल्याङ्कन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ । त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

पार्टीमा प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि आवश्यक विभागहरू गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीहरूलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १७:२४