सूचनाको शक्ति - The Power Of Information

        

म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा आवेदन दिनेको घुईंचो

म्यादी प्रहरी । फाइल तस्वीर ।

नेपाल प्रहरीले आइतवारदेखि म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्खास्त दिन पहिलो दिन नै भीड लागेको छ ।

बाँकेमा १ हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गरिने छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म आवेदन दिन सक्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने उनको भनाइ छ ।

११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नुपर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार १८:३७